
काठमाडौं। दुई महिनाअघि आइपीओ निष्कासन गरेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो सेयर मूल्य बढाउन एकपछि अर्को फण्डा ल्याएको छ।
चैत ११ गते दोस्रो साधारण सभाबाट मर्जर प्रस्ताव पारित गरेको इन्स्योरेन्सले अहिले हकप्रद सेयर निष्कासन गर्न विशेष साधारण सभा बोलाएको छ। कम्पनीले हकप्रद सेयर निष्कासनका लागि आगामी वैशाख ५ गते विशेष साधारण सभा गर्न लागेको हो।
नेपाल बीमा प्राधिकरणले माइक्रो इन्स्योरेन्सको चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकेको छ। गार्डियनले फागुनमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरेर २२ करोड ५० लाख रुपैयाँ रकम उठाइ पुँजी ७५ करोड रुपैयाँ पुर्याएको थियो।
माइक्रो इन्स्योरेन्सलाई अहिले थप पुँजीको बाध्यता छैन। अर्कातिर उनीहरुले ठूला कम्पनीहरुको वर्चस्वले बिजनेस पाएका छैनन्।
यो आर्थिक वर्ष फागुनसम्म गार्डियनले २८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ। कम्पनीले २०७९ मंसिरमा लाइसेन्स पाएर २०८० असारदेखि व्यवसाय सुरु गरेको थियो।
आर्थिक वर्ष | प्रिमियम संकलन (रु लाखमा) | पोलिसी बिक्री संख्या |
२०७९/८० | १.४१ | १२७ |
२०८०/८१ | ४२२.३६ | ३०७१२ |
२०८१/८२* फागुनसम्म | २८०५.३६ | ५४४६३६ |
प्राधिकरणबाट लाइसेन्स पाएर व्यवसाय सुरु गरेको दुई वर्ष भएपनि इन्स्योरेन्स लगानीकर्तालाई लाभांश दिन सक्ने अवस्थामा छैन।
कम्पनीको अहिलेकै बिजनेसले सञ्चालन खर्च धान्नै सकस छ। त्यही कारण बीमकहरुले माइक्रो इन्स्योरेन्सले तत्काल प्रतिफल बाँड्ने सम्भावना देखेका छैनन्।
तर, बिजनेस नहुँदा नभएकै अवस्थामा इन्स्योरेन्सले किन सतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव ल्यायो त?
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले जोखिम र दीर्घकालीन व्यवसाय हेरेर पुँजी बढाउनका लागि हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाउने तयारी गरेको बताए।
‘इन्स्योरेन्समा विभिन्न प्रकारका जोखिम बढ्दै गएकाले प्राधिकरणले जोखिममा आधारित पुँजी लागू गरिरहेको छ। त्यसैले न्यूनतम पुँजी कायम भए पनि थप व्यवसाय विस्तारका लागि अहिले नै प्रक्रियामा जानुपर्छ भन्ने हिसाबले काम गरिएको हो,’ उनले भने, ‘प्राधिकरणले पुँजी बढाउने वा मर्जरको नीति जुन व्यवस्था लागू गरे पनि सबै ढोका अहिले नै खुला राख्ने उद्देश्य हो।’
मर्जर र हकप्रद सेयर ‘ट्रिगर’
कम्पनीको सेयर मूल्य उचाल्न अहिले मर्जर र हकप्रद सेयर ‘ट्रिगर’ बनेका छन्। पुसमा आइपीओ निष्कासन गरेर माघ अन्तिम साता दोस्रो बजारमा कारोबार सुरु भएदेखि नै कम्पनीको मूल्य लगातार उकालो लागिरहेको छ।
कहिले मर्जर त कहिले हकप्रद सेयर निष्कासनको प्रस्ताव अगाडि सारेर बजारमा मूल्य उचाल्ने काम भइरहेको कम्पनीको वित्तीय अवस्था नजिकबाट हेरेकाहरु बताउँछन्।
‘बजारमा हकप्रद सेयर र मर्जरले ठूला कम्पनीकै सेयर मूल्य उचालिने गरेको छ। गार्डियन जस्तो लोक्याप कम्पनीमा यसको प्रभाव स्वाभाविक पर्ने देखिन्छ,’ एक मर्चेन्ट बैंकरले भने, ‘आइपीओ निष्कासनपछि दोस्रो बजारमा कारोबारको केही दिन मूल्य बढेर त्यसपछि सम्हालिन्थ्यो। तर, गार्डियनको हकमा यो कुरा फेल खाएको छ। मूल्य निरन्तर बढिरहेको छ।’
३०१ रुपैयाँमा दोस्रो बजारमा कारोबार सुरु भएको कम्पनीको सेयर मूल्य लगातार १९ दिन पोजेटिभ सर्किट लागेर फागुन २५ गते १८३९ रुपैयाँ पुगेको थियो।
हकप्रद सेयरको सूचनापछि कम्पनीको मूल्यमा उछाल आएको छ। मंगलबार नेप्से १६.९५ अंकले घट्दा गार्डियन माइक्रो लाइफको सेयरमा पोजेटिभ सर्किट लाग्यो।
कम्पनीको मूल्य अहिले प्रति कित्ता २ हजार ५७९.८० रुपैयाँ पुगेको छ। इन्स्योरेन्सको वित्तीय विवरण उकालो लागेको सेयर मूल्यलाई सपोर्ट गर्ने खालको छैन। चालु आर्थिक वर्ष दोस्रो त्रैमासम्म कम्पनीको प्रति सेयर आम्दानी ०.४२ रुपैयाँ छ।
आर्थिक वर्ष | संचित नाफा/नोक्सान (रु हजारमा) | प्रति सेयर आम्दानी (रुपैयाँ) | प्रति सेयर नेटवर्थ (रुपैयाँ) |
२०७९/८० | १,५८३.५५ | ०.३४ | १००.३४ |
२०८०/८१ | २,७५०.४७ | ०.२५ | १००.५९ |
२०८१/८२* | ८,४१४.४४ | ०.८५ | १०१.२६ |
२०८२/८३* | १७,११७.७५ | १.३ | १०२.५७ |
२०८३/८४* | २७,४२४.१९ | १.५४ | १०४.११ |
कम्पनीले पुससम्म २२ लाख २९ हजार रुपैयाँ नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।
माइक्रो इन्स्योरेन्सले अपेक्षितरुपमा व्यवसाय बढाउन नसकेपछि तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालले गत वर्ष मर्जरमा लैजाने बताएका थिए।
सिलवालले एउटै व्यापारिक समूहको एकाधिकार हुनेगरी माइक्रो इन्स्योरेन्सको लाइसेन्स वितरण गरेकामा उनको भनाइलाई बल पुर्याउने गरी कम्पनीले दोस्रो साधारण सभाबाट मर्जरको प्रस्ताव पारित गरेको हो।
गार्डियन माइक्रो लाइफका संस्थापक सेयरधनी
सेयरधनी | सेयर कित्ता संख्या |
दीपक भट्ट | ११२५००० |
एस जी फिनकोर्स | ११२५००० |
नेब्बुल्स क्यापिटल | ६०२००० |
राजबहादुर शाह | ३००००० |
हुलास अटोक्राफ्ट | ३००००० |
शुभम दुगड | ३००००० |
मेटा इन्भेष्टमेन्ट कम्पनी | १२५००० |
प्रिन्टसेल इमेजिङ | ११०००० |
लिला अग्रवाल | १००००० |
सुलोचना अग्रवाल | १००००० |
लियोन मोटर्स | ८५००० |
साक्षी वंशल | ७५००० |
आकाश गुप्ता | ७५००० |
ललिता गोल्याण | ७५००० |
हकप्रद सेयर निष्कासनको कम्पनीको निर्णय प्राधिकरणमा पुगेको छैन। प्राधिकरणका अधिकारी न्यूनतम पुँजी बाध्यकारी भए पनि त्यसपछि वृद्धिको अधिकार कम्पनीलाई नै भएको तर त्यो निर्णय जस्टिफाइ हुनुपर्ने बताउँछन्।
‘प्राधिकरणले रिस्कबेस क्यापिटल (आरबीसी) लागू गरिरहेको छ। त्यही कारणले वृद्धि गर्न खोजेको हो कि। तर, हामीकहाँ आइपुगेको छैन। स्वीकृति दिने/नदिने विषयमा बोर्डले निर्णय गर्छ,’ प्राधिकरणका एक अधिकृतले भने, ‘पुँजी बढाउने अधिकार कम्पनीलाई नै ऐनले दिएको छ भन्दैमा जथाभावी गर्न पाइँदैन। त्यसका लागि केही जस्टिफाइ त हुनैपर्छ।’