
विराटनगर। सुपरस्टोर खोल्न आक्रामक भाटभटेनी समूहले विराटनगरको होटल सेन्चुरियन डेढ अर्ब रुपैयाँमा किनेको छ। यो होटल पूर्वराज्यमन्त्री एवं उद्योगी मोतीलाल दुगडको हो।
दुगडले आर्थिक संकटमा परेसँगै होटल बिक्रीमा राखेका थिए। होटल १० वर्षदेखि निर्माणधीन थियो।
भाटभटेनी समूह सुपरस्टोरसँगै होटलमा पनि आक्रामक रुपमा अगाडि बढ्न खोजेको देखिएको छ। भाटभटेनी सुपरमार्केटका नाममा पूर्वको झापादेखि पश्चिमको धनगढीसम्म २७ वटा ठूला खुद्रा बिक्री केन्द्र सञ्चालन गरिरहेका यसका अध्यक्ष मीनबहादुर गुरूङले १ अर्ब ५५ करोड रुपैयाँमा होटल सेन्चुरियन खरिद गरेका हुन्।
गुरुङले पाँचतारे होटलसहित, मल र इन्टरटेनमेन्ट पार्कसमेत सञ्चालन गर्ने उद्देश्यले होटल सेन्चुरियन खरिद गरेको जानकारी दिए।
उनले उद्योगपति दुगडसँग होटलको अचल सम्पत्ति १ अर्ब ५५ करोडमा खरिद गरेको र सम्झौता गरी बैनासमेत दिइसकेको बताए। मालपोत कार्यालयमा यसको लिखत पास हुन भने बाँकी नै छ।
कुनै पनि व्यावसायिक योजना सुरु भएर लामो समय सञ्चालनमा आउन नसके अन्ततः त्यसबाट राष्ट्रिय क्षति हुने निष्कर्षसहित गुरुङ सेन्चुरियनमा प्रवेश गरेका हुन्।
निर्माण सुरु भएको १० वर्षसम्म सेन्चुरियन होटल सञ्चालनमा आउन नसक्दा राज्यलाई पनि क्षति पुगेको गुरुङको धारणा छ।

‘मेरा मित्र मोतीजी लामो समयदेखि यस होटलको निर्माणमा सक्रिय हुनुहुन्थ्यो। यसबीच मलाई पनि विराटनगरमा होटल व्यवसाय विस्तार गर्ने विचार आइरहेको थियो। मैले मोतीजीसँग गफैगफमा मलाई बिक्री गर्ने हो भनेको थिएँ । यसपछि उहाँ हामीलाई दिन तयार हुनुभयो,’ गुरूङले भने।
गुरुङले व्यवसायी उमेश श्रेष्ठसँगको साझेदारीमा काठमाडौं अन्नपूर्ण स्क्वायर तयार गरिरहेका छन्। गुरुङले हस्पिटालिटी क्षेत्रमा दोस्रो शृंखलाका रूपमा विराटनगरमा पाँचतारे होटलमा लगानी गरेका हुन्।
गुरुङले सेन्चुरियन होटल दुगडको ड्रिम प्रोजेक्ट भएकाले उनले चाहेको अवस्थामा १० प्रतिशतसम्म सेयर दिने बताए। ‘यसमा उहाँको भावना जोडिएको छ। उहाँको सपनाको योजना हो। त्यसैले हामी उहाँलाई सेयर दिन तयार छौं,’ गुरुङले भने।

गुरुङका अनुसार होटल कम्पाउन्डमा ३ वटा छुट्टाछुट्टै भवन निर्माणाधीन छन्। सबैभन्दा ठूलो भवनमा बेसमेन्टसहित १० तला छन् । कुल १ बिघा ४ कट्ठाको कम्पाउन्डमा पार्किङ क्षेत्र पनि छ। यसमा पाँचतारे होटल, क्यासिनो, मल र इन्टरटेनमेन्ट जोन लगायतका व्यावसायिक योजना सञ्चालनमा आउने छन्।
यसका लागि थप १ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने गुरुङले जानकारी दिए। ‘नेपालका सन्दर्भमा काठमाडौं वासिङटन डिसी हो भने विराटनगर न्युयोर्क हो। तर, केही समययता विराटनगर सुस्त हुँदै गएको अनुभव भइरहेको छ। धरान–विराटनगर म हुर्के बढेको र पढेको क्षेत्र पनि हो। सानैदेखि यस क्षेत्रसँग मेरो भावना गाँसिएको छ। त्यसैले यहाँको व्यावसायिक रौनक बढोस् र यहाँका दाजुभाइ, दिदीबहिनीको जीवनस्तर अझ उच्च होस् भन्ने उद्देश्यले हामीले यहाँ होटल व्यवसाय गर्ने भएका हौं,’ उनले सुनाए।
गुरुङका अनुसार होटलको नाम भाटभटेनी हुनेछ। दुगडले यसको व्यवस्थापन होटल र्याडिसनलाई दिने सम्झौता यसअघि नै गरिसकेकामा गुरुङले सम्झौतालाई निरन्तरता दिने बताए।
विराटनगरमा सफल होला हस्पिटालिटी क्षेत्रको यति ठूलो योजना?
बिजमाण्डूको जिज्ञासा शान्त पार्दै गुरुङले भने, ‘हामीले विराटनगरमा भाटभटेनीको स्टोर खोल्न लाग्दा पनि साथीभाइले यही भनेका थिए। छेउमा भारतको जोगबनी बजार छ कसरी चल्छ भन्ने प्रश्न थियो। तर, विराटनगरको भाटभटेनी अहिले हाम्रा राम्रा चलिरहेका २७ वटा स्टोरमध्ये एक भएको छ।’
उनले भाटभटेनीका धेरै स्टोर भारतीय सीमानाका नजिकै रहेको र त्यहाँ भारतीय ग्राहक प्रशस्त आइरहेको भन्दै होटल पनि भारतीय नागरिकलाई लक्षित गरी विकास गर्ने बताए।
‘उपभोक्तालाई सुलभ मूल्य र गुणस्तर दिने हो भने जहाँ जे पनि चल्छ। यही आत्मविश्वासका साथ विराटनगरमा पाँचतारे होटलमा लगानी गरेका हौं,’ उनले भने।
वैवाहिक गन्तव्य (वेडिङ डेस्टिनेसन)को संस्कृति मौलाइरहेकाले होटलले व्यापार पाउने गुरुङको विश्वास छ। यसका लागि होटलमा १ हजार जना अटाउने दुई वटा ब्यांक्वेट र अन्य पूर्वाधार पनि छन्।

गुरुङका अनुसार होटल भाटभटेनी १८ महिनामा सञ्चालनमा आउनेछ। होटलमा पाँच सय जनाले रोजगारी पाउनेछन्।
देश संघीयतामा गएपछि उद्योगपति दुगडले विराटनगर प्रदेश राजधानी हुने र व्यावसायिक वातावरण बढ्ने आँकलन गर्दै सन् २०१५ मा होटल सेन्चुरियनको शिलान्यास गरेका थिए। तर, उनी राजनीतिमा बढी सक्रिय भएपछि यसको निर्माणले खासै गति लिन सकिरहेको थिएन।