
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले १ अर्ब ५६ करोड ३२ लाख ९ हजार ४ सय ५० रुपैयाँको वार्षिक बजेट साधारण सभामा लैजाने भएको छ।
एन्फाको चैत ११ र १२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले वार्षिक कार्यक्रमसँगै प्रतियोगिता र अनुमानित बजेट साधारण सभामा लैजाने निर्णय गरेको हो। बैठकले साधारण सभा बैशाख २६ गते गर्ने निर्णय समेत गरेको छ।
एन्फाले २०८१/८२ को लेखा परीक्षण गर्न एलएसपी एसोसिएट्सलाई नियुक्त गर्ने निर्णय लिएको छ। कार्यसमितिले आर्थिक नियमावली र कार्यविधिमा आवश्यक संशोधन गर्ने निर्णय लिएको छ।
संघको आगामी कार्यकालका लागि निर्वाचन प्रयोजनका लागि अधिवक्ता रामचन्द्र गौतमको संयोजकत्वमा निर्वाचन समिति र पुनरावेदन समिति बनाउने निर्णय बैठकले गरेको छ। संघले अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा पियुष न्यौपानेलाई तोकेको छ।
बैठकले संघका पूर्व अध्यक्ष गणेश थापाका गतिविधिहरूको छानबिन गरी न्यायिक निकायहरूमा कारबाहीका लागि आवश्यक पत्राचार गर्ने निर्णय गरेको छ।
संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको विषयमा परेको गम्भीर उजुरीलाई सम्बन्धित निकायमा छानबिनका लागि पठाउने निर्णय पनि गरेको छ। यद्यपि, लागुऔषध मुद्दामा परेका एन्फा संस्थापन पक्षका दावा लामाको बारेमा भने एन्फा मौन बसेको छ।