कर्पोरेटमा परिचित क्रेटाको इलेक्ट्रिक नेपालमा, नयाँ डिजाइन र व्यवहारिक फिचरले तताउला बजार ?

बिजमाण्डू
२०८१ चैत्र ११ गते १९:४९ | Mar 24, 2025
कर्पोरेटमा परिचित क्रेटाको इलेक्ट्रिक नेपालमा, नयाँ डिजाइन र व्यवहारिक फिचरले तताउला बजार ?


काठमाडौं। क्रेटाको इलेक्ट्रिक भर्सन गाडी नेपाली बजारमा भित्रिएको छ।

Tata
GBIME
NLIC

स्टाइलिस डिजाइन, मजबुत बनावट र आरामदायी यात्राका कारण खासगरी कर्पोरेट क्षेत्रमा लोकप्रिय क्रेटा गाडीको इलेक्ट्रिक भर्सन सोमबार नेपाली बजारमा सार्वजनिक गरिएको हो।

गाडीको मूल्य ५१ लाख ९६ हजारदेखि ५९ लाख ९६ रुपैयाँसम्म तोकिएको छ।

कर्पोरेट क्षेत्रमा प्रमोसन हुँदा होस् वा माथिल्लो पदमा भएका व्यक्तिको रोजाईमा क्रेटा पहिलो नम्बरमा आउने गाडी हो। कम्पनीले कर्पोरेट कल्चरलाई केन्द्रमा राखेर आफ्नो मार्केटिङ स्ट्राटेजी अपनाउँदै आएको छ। विशेष गरी बैंकिङ सेक्टरमा यसको क्रेज छुट्टै थियो। क्रेटालाई प्रतिष्ठा र सुविधाको प्रतीकका रुपमा लिने गरिएको छ।

अहिले विद्युतीय सवारीसाधन (इभी)को लहर चलेको छ। नेपाली अटो बजारमा पनि इभीकै माग बढ्दै छ। त्यही कारण हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटाको इलेक्ट्रिक भर्सन बजारमा भित्र्याएको हो।

वातावरणप्रति सचेत कर्पोरेट हाउसले आफ्नो फ्लिटलाई विद्युतीय बनाउन क्रेटा इभीलाई एक आकर्षक विकल्पको रूपमा हेरिरहेका छन्। यसको नयाँ डिजाइन, व्यवहारिक विशेषता र हुन्डाईको विश्वसनीय सेवाले कर्पोरेट क्षेत्रलाई आकर्षित गरेको हो।

इभीलाई प्रोत्साहन गर्ने सरकारी नीति छ। कर छुट र चार्जिङ पूर्वाधार विकासले इभी बजार फैलिंदो छ। सरकारी नीति र कर्पोरेट क्षेत्रको बढ्दो चासोले इभी बजारले छलाङ मारिरहँदा क्रेटा इलेक्ट्रिक प्रतिस्पर्धामा उत्रिएको हो।

क्रेटा इभीको प्रवेशले नेपाली अटो बजारमा थप प्रतिस्पर्धा हुने बिक्रेताहरुको अनुमान छ। व्यवसायीहरूका अनुसार, यसले बजारमा नयाँ तरंग ल्याउनेछ। अहिले बजारमा उपलब्ध विभिन्न ब्रान्डका गाडीले आफ्नो बजार हिस्सा सुरक्षित राख्न प्रतिस्पर्धी मूल्य र सेवा प्रदान गर्न थालेका छन्।

क्रेटा इभीलाई पनि अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ। एकातर्फ, चिनियाँ ब्रान्डसँग मूल्यमा प्रतिस्पर्धा गर्नुपर्नेछ भने अर्कातर्फ उत्कृष्ट सेवा दिएर ग्राहकको विश्वास जित्नुपर्नेछ। यसका लागि रणनीतिक कदम चाल्ने हुन्डाईको तयारी छ।

फिचर यस्ता

क्रेटा इभीमा व्यवहारिक फिचरको सुविधा छ। गाडीमा डिजिटल की फिचर छ जसले स्मार्टफोन र स्मार्टवाचबाट गाडी चलाउन सकिन्छ।

यस्तै भेहिकल टू लोड (भी २ एल) सुविधा उपलब्ध छ जसबाट गाडीमा भएको चार्जिङबाट अन्य उपकरण चार्ज गर्न सकिन्छ। यो फिचरले क्याम्पिङ वा पिकनिक जाँदा गाडीबाट पावर दिएर खाना बनाउन र लाइट बाल्न सकिन्छ। यस्तै ल्यापटप पनि चार्ज गर्न सकिन्छ। यसका लागि पछाडिको सिटमा ल्यापटप ट्रे र प्लगइन उपलब्ध छ।

इन्फोटेनमेन्ट स्क्रिन अन्य गाडीमा जस्तो भद्दा छैन। क्रेटा इभीमा १०.२५ इञ्चको इन्फोटेनमेन्ट स्क्रिन उपलब्ध छ।  

सेफ्टीका लागि ६ वटा एयरब्याग र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल सुविधा छ। लेभल २ ड्राइभर असिस्टेन्स सिस्टम(एडास), ३६० डिग्री क्यामेरा, टायर प्रेसर मनिटरिङ सिस्टम जस्ता सेफ्टी फिचर लोडेड छ। यी फिचरले क्रेटा इभीलाई दैनिक प्रयोगका लागि निकै व्यावहारिक बनाउँछ।

क्रेटा इभीमा दुई प्रकारका ब्याट्री प्याक अप्सन छन्। जसले ३९० किलोमिटरदेखि ४७० किलोमिटरसम्म रेन्ज दिन्छ। लङ रेन्ज र सर्ट रेन्ज कुन आवश्यक हुन्छ? आफ्नो ड्राइभिङ गर्ने दूरी अनुसार ब्याट्री विकल्प छानेर क्रेटा इभी खरिद गर्न सकिन्छ।

गाडीमा ४२ किलोवाट आवर र ५१.४ किलोवाट आवर क्षमताका ब्याट्री प्याक उपलब्ध छन्। ब्याट्री डीसी फास्ट चार्जिङबाट ५८ मिनेटमै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यसको चार्जिङ प्लग अगाडि राखिएको छ। जसले चार्ज गर्न सहज हुन्छ।

गाडीमा ग्राउन्ड क्लियरेन्स पनि गज्जब छ। यसमा २०० एमएमभन्दा धेरै ग्राउन्ड क्लियरेन्स उपलब्ध छ। जसले अफ रोडमा ड्राइभ गर्न सजिलो बनाउँछ।

क्रेटाको इन्धन भर्सन नेपालमा एसेम्बल

क्रेटाको इन्धन भर्सन गाडी नेपालमै एसेम्बल हुन थालेको छ। नेपालमा एसेम्बल गरिएको कम्पनीको यो दोस्रो गाडी हो। कम्पनीले गत वैशाख अन्तिमदेखि नेपालमा एसेम्बल प्लान्ट संचालनमा ल्याएको थियो। जहाँ सुरुमा हुन्डाइको भेन्यु एसेम्बल गरिएको थियो।

क्रेटाको इन्धन भर्सन गाडी पनि सोमबार नै सार्वजनिक गरिएको छ। यसको मूल्य आयात गरिएको गाडीको भन्दा सस्तो छ। मूल्य ५३ लाख ९६ हजारदेखि ७८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यो मूल्य ९ लाख रुपैयाँ कम हो।