एसयूभी सेग्मेन्टमा लिडर हुन्डाइ ‘क्रेटा’, इभी संस्करणमा अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्न कत्तिको तयार?

शुक्र गिरी
२०८१ माघ १२ गते १८:०० | Jan 25, 2025
एसयूभी सेग्मेन्टमा लिडर हुन्डाइ ‘क्रेटा’, इभी संस्करणमा अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्न कत्तिको तयार?


काठमाडौं। पेट्रोल/डिजल इन्जिन गाडीको बोलबाला रहेको भारतीय अटो बजार यतिबेला विद्युतीय गाडीका नयाँ-नयाँ मोडल आउँदा तरंगित छ। सवारी निर्माता विश्वप्रसिद्ध कम्पनीहरू अधिकांश विद्युतीय मोडल ल्याउन कस्सिएका बेला चलेका मोडलहरू नै इभी संस्करणमा आउने थालेका छन्। एसयूभीमा निकै बजार लिएको हुन्डाइको क्रेटा इभी संस्करणमा आउँदा बजारको ध्यानाकर्षण भएको छ।

Tata
GBIME
NLIC

भारतमा उत्पादन हुने हरेक ब्रान्डका गाडी नेपाली बजारमा आउँछन्। भारतमा सवारी कारखाना खोल्ने कम्पनीले नेपाललाई ‘डोमेस्टिक बजार’का रुपमा हेरिरहेको अवस्था छ। त्यसमा पनि हुन्डाईको क्रेटा इभी अहिले भारतमा उत्पादन भएको छ। जसको पेट्रोल भर्सनले नेपाली बजारमा १० हजार युनिटको माइलस्टोन पार गरिसकेको छ।

कम्पनीले २०१५ देखि २०२४ सम्ममा १० हजार युनिट बिक्री गरेको छ। हरेक वर्ष १ हजार युनिटभन्दा धेरै बिक्री हुने एसयूभीमा क्रेटा पर्छ। अब यसैको नयाँ रुप इभीमा माघको अन्तिमदेखि नेपाली बजारमा आउने पक्का छ।

हुन्डाई क्रेटा इभीको आगमनले नेपाली अटो बजारमा पनि निकै चर्चा पाइरहेको छ। एसयूभी सेग्मेन्टमा क्रेटाले जुन लोकप्रियता हासिल गरेको छ, त्यसलाई विद्युतीय स्वरूपमा निरन्तरता दिन सक्ने सम्भावना निकै छ। तर अन्य ब्रान्डसँगको प्रतिस्पर्धामा कति सफल हुन्छ भन्ने कुरा केही महत्त्वपूर्ण पक्षहरूमा निर्भर गर्दछ।

अहिले भारतमा हुन्डाईले हरेक दिन एउटा-एउटा फिचर तथा पावरट्रेन एक्साइटिङ रुपमा देखाउँदै गइरहेको छ। जसले गर्दा हुन्डाईको क्रेटा इभी खरिद गर्ने ग्राहकहरूका लागि यो एउटा रोचक क्षण बन्दै गइरहेको छ। क्रेटाको इभी खरिद गर्न पर्खिरहेका ग्राहकहरू यतिखेर नेपाली बजारमा कहिले आउछ भन्ने अपेक्षा गरेर बसेको अवस्था छ। हुन्डाईको नेपालमा बलियो ब्रान्ड इमेज छ, जसले क्रेटा इभीलाई पनि फाइदा पुर्‍याउन सक्छ।

अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्न कत्तिको तयार?

नेपाली बजारमा टाटा कर्भ इभी, एमजी जेडएस इभी, बीवाइडी एटो थ्री, ओमोडा ई-फाइभ, सुजुकीको ई-भिटारा र महिन्द्राको बिई-६ जस्ता प्रतिस्पर्धी ब्रान्डका इभीहरू पनि उपलब्ध छन्। यी इभीहरूले क्रेटा इभीलाई कडा टक्कर दिन सक्छन्। यसमा एटो थ्री र ओमोडा ई-फाइभ बजारमा प्रतिस्पर्धा गरिरहेका छन् भने क्रेटा इभी र टाटा कर्भ इभी सुरुमा नेपाली बजारमा माघको अन्तिममा आउने निश्चित छ।

यस्तै, महिन्द्राको बिई-६ र सुजुकीको ई-भिटारा केही समयपछि मात्रै नेपाली बजारमा आउने अनुमान गरिएको छ। यसका साथै नेक्सन इभीको फेसलिफ्ट कोडल पनि बजारमा आउने तयारी गरिरहेको छ। तर क्रेटा इभीको आकर्षक डिजाइन, ब्रान्ड इमेज र हुन्डाईको व्यापक सर्भिस नेटवर्कले यसलाई अरूभन्दा अगाडि राख्न सक्छ।

यसो भन्दै गर्दा अन्य ब्रान्ड पनि अहिले बजारमा खरो रुपमा उत्रिएका छन्। जस्तै बीवाइडी एटो थ्री क्रेटाको इन्धन भर्सन जस्तै नेपाली बजारमा पपुलर हुँदै गइरहेको छ भने महिन्द्राले ल्याएको बिई-६ मा भएका फिचरले अटो बजारमा तरंग पैदा गरेको छ।

यसले गर्दा बजारमा क्रेटा इभीलाई प्रतिस्पर्धा गर्न त्यति सजिलो भने छैन। क्रेटा इभीको डिजाइन अझै आकर्षक र आधुनिक बनाइएको छ। क्रेटा इभीमा अत्याधुनिक फिचरहरू जस्तै: टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, कनेक्टिभिटी फिचर जस्ता अन्य धेरै सुविधाहरू उपलब्ध हुनेछन्।

नेपाली बजारमा प्रोडक्ट राम्रो भएर मात्रै काम गर्दैन। प्रोडक्ट बिक्रीपछिको जिम्मेवारी पनि कम्पनीले लिनुपर्छ। जसमा आफ्टर सेल्स सर्भिस, स्पेयर पार्ट्सको उपलब्धता, चार्जिङ पोइ्न्ट, ग्राहकहरूलाई कम्पनीले गर्ने व्यवहार सबै महत्त्वपूर्ण भूमिका रहन्छ।

‘फरक मोडालिटी तयार पारेर हामी अगाडि बढाउछौं। ग्राहकहरूको गाडी चढ्दा हुने अनुभव राम्रो होस् भन्ने हाम्रो चाहना हो,’ लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले भने।

मूल्य कति हुन्छ भन्नेमा बजार निर्भर हुने

हुन्डाई क्रेटा इभी नेपाली बजारमा विद्युतीय सवारी साधनको विकल्पको रूपमा आएको छ। यसको आकर्षक डिजाइन, पर्याप्त रेन्ज र शक्तिशाली पर्फर्मेन्सले धेरै उपभोक्तालाई आकर्षित गरेको छ। तर यसको मूल्य कति हुन्छ भन्ने प्रश्न धेरैको मनमा उठ्छ।

नेपाली बजारमा मूल्य एक प्रमुख कारक हो। यदि क्रेटा इभीको मूल्य प्रतिस्पर्धी ब्रान्डका इभीहरूको तुलनामा धेरै बढी भयो भने ग्राहकहरूलाई आकर्षित गर्न गाह्रो हुन सक्छ।

थपलियाका अनुसार यसको मूल्य ५५ लाख हाराहारीमा हुनेछ। कम्पनीले सुरुवाती दिनमा ४२ किलोवाट आवर(युनिट) क्षमताको क्रेटा इभी ल्याउनेछ। यसमा ९९ किलोवाट क्षमताको मोटर हुनेछ।

कम्पनीले यो भन्दा कम मूख्यमा क्रेटा इभी नेपाली बजारमा ल्याउने अनुमान गरिएको छ। किनभने यो मूल्यमा अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्न कठिन हुने देखिन्छ। तर थपलियाका अनुसार यो मूल्य भनेको ग्राहकहरूले दीर्घकालिन रुपमा ओभरअल इकोसिस्टम तयार पार्ने गरेका हुन्।

‘हामी ५००/१००० गाडी बिक्री गरेर बजारबाट आउट हुने होइनौं,’ उनले भने, ‘त्यसैले अहिले सुरुवाटी दिनमा मूल्य अलि धेरै भएपनि सर्भिसदेखि स्पेयर पार्ट्समा हामीले ग्राहकहरूलाई सस्तो मूल्य प्रदान गर्ने योजनामा छौं। हामीले इकोसिस्टममा पनि लगानी बढाउने छौं।’

थपलियाका अनुसार क्रेटा इभीको रिसेल मूल्य अगाडि नै सेट गरेर बिक्री सुरु गर्ने योजना रहेको छ। जस्तै ब्याट्रीको मर्मत लागत पनि कम्पनी ५० प्रतिशतसम्म बेहोर्ने उनको भनाइ छ।

सर्भिस सेन्टर र चार्जिङ नेटवर्कमा नयाँ गर्दै

इभीमा एक पटकको चार्जमा कति दूरी तय गर्न सक्छ भन्ने कुरा ग्राहकहरूका लागि निकै महत्त्वपूर्ण हुन्छ। साथै, नेपालमा अझै पनि चार्जिङ स्टेशनको संख्या कम छ, जसले गर्दा ग्राहकहरूलाई चार्जिङको सुविधा पाउन गाह्रो हुन सक्छ। विद्युतीय सवारी साधनको मर्मतका लागि विशेषज्ञता चाहिने भएकाले स्पेयर पार्ट्ससँगै दक्ष मेकानिक पनि आवश्यकता पर्छ।

यसलाई मध्यनजर गर्दै कम्पनीले नेपालमा चार्जिङ सुविधासहितको सर्भिस सेन्टरहरू निर्माण गर्ने काम गरिरहेको छ। हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक थपलियाका अनुसार राष्ट्रिय राजमार्गका मुख्य २५ स्थानमा डीसी फास्ट चार्जर निर्माण प्रक्रिया अगाडि बढाइएको छ।

टाटाले पनि इभी ल्याउन अगाडि यसैगरी इकोसिस्टम तयार पारेको थियो। जसका कारण टाटाले अन्य ब्रान्डको भन्दा धेरै इभी बिक्री गर्न सफल भयो।

थपलियाका अनुसार चार्जिङ स्टेसन भएकै स्थानमा सानो सर्भिस सेन्टर पनि हुनेछन्। जसमा इभीका लागि सर्टिफाइड म्यानपावर, रेस्ट गर्न सानो स्पेस पनि राखिनेछन्।

एउटा सर्भिस सेन्टरमा दुई वटा गन भएका फाष्ट चार्जर पनि हुनेछन्। अहिले सुरुमा विपी राजमार्ग, सिद्धार्थ राजमार्ग, धार्के, डुम्रे र चुम्लिङटारमा उक्त सर्भिस सेन्टर सहितको चार्जिङ स्टेसन निर्माण भइरहेको थपलियाले बताए। कम्पनीसँग अहिले ४५ भन्दा धेरै स्थानमा एसी फाष्ट चार्जर सुविधा छन्।

स्पेयर पार्ट्स अभाव नहुने

हुन्डाई क्रेटा नेपाली बजारमा एक लोकप्रिय एसयूभी हो। यसको लोकप्रियताको कारण यसको डिजाइन, पर्फर्मेन्स र विशेषगरी स्पेयर पार्ट्सको सहज उपलब्धता पनि हो। त्यसैले इभी भर्सनमा पनि आवश्यक पर्ने स्पेयर पार्ट्स सहजै पाउन सकिने अनुमान गरिएको छ।

हुन्डाई जस्तो ठूलो ब्रान्डले आफ्ना ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै क्रेटा इभीका लागि स्पेयर पार्ट्सको पर्याप्त व्यवस्था गर्ने योजना बनाएको छ। यसको अहिले भइरहेको सर्भिस नेटवर्कहरूले पनि यसको बजारमा विस्तार र सर्भिस लगायत स्पेयर पार्ट्समा समस्या नहुने देखिन्छ।

यसका साथै क्रेटा इभीका लागि आवश्यक पर्ने स्पेयर पार्ट्समा पनि कुनै समस्या नहुने गरी काम गरिने थपलिया बताउँछन्।

‘अहिले प्राय प्रोडक्टहरूमा स्पेयर पार्ट्स पाउन मुस्किल हुने र पाइएमा पनि महँगो पर्ने गरेको देखिन्छ,’ उनले भने।

यस्तो समस्यालाई समाधान गर्ने योजना आफूहरूको रहेको थपलियाको भनाइ छ।

‘स्पेयर पार्ट्स र सर्भिसमा हामी ठूलो लगानी गरिरहेका छौं,’ उनले भने, ‘हामीलाई क्रेटा इभीको स्पेयर पार्ट्समा कुनै समस्या छैन। भारतमा पाइने ८० प्रतिशत स्पेयर पार्ट्सहरू क्रेटा इभीमा प्रयोग गरिएका छन्। जसले गर्दा ग्राहकहरूलाई स्पेयर पार्ट्स उपलब्ध गराउन हामी तयार छौं।’

नेपालमा चारपाङ्ग्रे इभी एसेम्बल हुने पहिलो मोडल बन्ने

यो क्रेटा इभी नेपालमा एसेम्बल हुने चारपाङ्ग्रे इभीको पहिलो मोडल हुनेछ। अहिले सुरुवाती दिनमा क्रेटा इभी भारतबाट तयारी प्रोडक्ट आयात हुन्छ।

सुरुमा क्रेटाको इन्धन भर्सन एसेम्बल गर्ने र इभी भर्सनका लागि अहिले कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन हुने थपलिया बताउँछन्। यसको अध्ययन चाँडै नै सुरु गरिने उनको भनाइ छ।

‘यो वर्ष क्रेटाको इन्धन भर्सन आउँछ भने अर्को वर्षतिर इभी भर्सन पनि नेपालमा नै एसेम्बल हुन्छ,’ उनले भने, ‘तर इभी एसेम्बल गर्न गाह्रो अवस्था छ। सरकारले यसमा केही नीतिगत व्यवस्था गर्नु पर्नेहुन्छ। त्यसपछि मात्रै दीर्घकालीन रुपमा इभी एसेम्बल नेपालमा गर्न सकिन्छ।’

थपलियाका अनुसार अहिलेको अवस्थामा नेपालमा इभी एसेम्बल गरेर सस्तो मूल्यमा बिक्री गर्न कठिन छ। लजिस्टिक कस्टदेखि ब्याट्रीहरूको लागत धेरै हुने देखिन्छ। त्यसैले आयात गर्दा अहिलेको अवस्थामा लागत कम लाग्छ र बजारमा अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्न सहज हुन्छ।

कम्पनीले अहिले भेन्यू एसेम्बल गरिरहेको छ। जसले गर्दा तयारी भेन्यू आयात गर्दाभन्दा यही एसेम्बल गर्दा साढे ४ लाखसम्म सस्तो पर्न गएको थियो।

यस्तै क्रेटा पनि एसेम्बल भएर परीक्षणको क्रममा रहेको छ। कम्पनीले सबै परीक्षण सकेपछि मात्रै बिक्रीका लागि मास प्रोडक्सन गर्नेछ।