
चेन्नई (भारत)। नेपाली सडकमा सबैभन्दा धेरै चलेको एसयूभी क्रेटाको विद्युतीय (इभी) अवतार कस्तो होला? कोरियाली ब्रान्ड हुन्डाईले क्रेटालाई इभीमा उतारेपछि नेपालमा वर्चश्व कायम राखिरहेका चिनियाँ ब्रान्डले कत्तिको चुनौती सामना गर्लान् त? यसखाले जिज्ञासाहरू अटो क्षेत्रमा संलग्न जो कसैलाई पनि हुनु स्वभाविक हो। अटोमै कलम चलाउनेका लागि त त्यो झन् ‘हट केक’ हुने नै भयो।
त्यसो त हुन्डाईले यसअघि नै कोना र आयोनिक इभी नेपालमा ल्याइसकेको हो। तर क्रेटाको क्रेज जस्तो थियो त्यही तहको क्रेज यी दुवै मोडलमा देखिएन। त्यसैले पनि धेरैको चासो क्रेटाको इभी अवतारप्रति कायम छ।

क्रेटा इभी सार्वजनिक हुन बाँकी रहँदा नै मार्केटिङलाई ध्यानमा राख्दै छिट्फुट डिजाइन लिक गर्ने र इन्फ्लुएन्सरलाई परिचालन गर्नेक्रम बढिसकेको छ। भारतीय बजारमा क्रेटाको चर्चा चुलिन थालेसँगै त्यसको असर नेपालमा पनि नपर्ने कुरै भएन। त्यसैले धेरैको प्रश्न हुने गर्छ – के क्रेटाले चिनियाँ दबदबालाई रोक्ला?
विद्युतीय भर्सनको क्रेटा कस्तो छ त? आजबाट सुरु भएको भारत मोबिलिटी एक्स्पोबाट यो गाडी सार्वजनिक भएको छ। त्यसैको पूर्व सन्ध्यामा हामीले यसको टेस्ट ड्राइभ गर्यौं। चेन्नईको व्यस्त सडकभन्दा केही पर रहेको ‘ताज फिसरम्यान्स कोभ’बाट टेस्ट ड्राइभ सुरु भयो। समुन्द्री किनारमा ड्राइभ गर्नु आफैँमा पृथक हुने नै भयो। हामीले चेन्नईबाट पोन्डीचेरीसम्म इस्ट कोस्ट रोडमा यात्रा गर्यौं।

समुद्र किनारैकिनार फैलिएको सडकमा बंगालको खाडीको लहर र हरियालीले हाम्रो यात्रालाई रोचक बनाइरहेको थियो। हाम्रो ड्राइभ रिफ्रेसिङ नेचरको थियो। त्यसैले समुद्र किनारमा रोकिएर रमाउँदै यात्रा जारी रह्यो।
हाम्रो टेस्ट ड्राइभले क्रेटा इभीको पर्फर्मेन्स अपेक्षा गरेअनुसारकै देखियो। हाइवेमा यसको रफ्तार बढाउँदा पनि भित्र स्थिर थियो। यसको कम्फर्टमा कुनै प्रश्न गर्ने ठाउँ रहेनछ। नेपालमा कल्पना गर्न समेत नसकिने अर्थात् १४५ किलोमिटर प्रतिघण्टाको स्पिडमा कुदाउँदा पनि यसको स्टेबिलिटी गज्जब पाइयो। यसको एक्सिलेरेसनमा हुन्डाईले राम्रै मेहनत गरेको देखियो किनकि ९९ किलोवाट मोटर पावर क्षमतामा यसखाले एक्सिलेरेसन कमै हुन्छ।
यसमा लेन असिस्ट लगायतका धेरैखाले सुरक्षा फिचर उपलब्ध छ। त्यसैले सहरी यात्राका लागि यो पर्फेक्ट देखियो। गाडीको डाइनामिक डिजाइन र फिचरले धेरैको ध्यान खिच्ने पनि देखियो। चिनियाँ इभीमा जसरी नयाँ-नयाँ फिचर अपग्रेट गर्ने होड छ, त्यसलाई हुन्डाईले पनि पछ्याएको पाइयो। त्यसकारण क्रेटा एडभान्स्ड इभी बन्न पुगेको रहेछ।
यसमा एडास लेभल-२ छ जसले लेन असिस्ट तथा जेब्रा क्रसिङमा गति नियन्त्रण गर्न सघाउँछ। अरु इभीमा जस्तै यसमा पनि रिजेनेरेटिभ ब्रेकिङ सिस्टम छ जसले इनर्जी खपत कम गराउँछ।
यसको इन्टेरियर निकै आरामदायी लाग्यो। फराकिलो क्याबिन, ठूलो टचस्क्रिन डिस्प्ले। अटोमेटिक क्लाइमेट कन्ट्रोलले यात्रालाई थप सहज बनाउने रहेछ। सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल लगायतका फिचर छन्।
हुन्डाईले ४२ र ५१.४ किलोवाट आवर क्षमताका ब्याट्री यसमा समावेश गरेको छ। जसअनुसार क्रमश: पूरा चार्जपछि ३९० र ४७३ किलोमिटरसम्मको दूरी तय गर्ने दाबी गरिएको छ। फास्ट चार्जरबाट ४५ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिने रहेछ।

हामीले ११७ किलोमिटर टेस्ट ड्राइभ गरेकाले चार्जको जरुरी नै परेन। हामीले ११७ किलोमिटर दूरी पार गर्दा २० प्रतिशतमात्र ब्याट्री खपत भएकाले कम्पनीको दाबीअनुसार पर्फर्मेन्स दिने देखियो।
हामीले पोन्डीचेरीका लोभलाग्दा गन्तव्यहरू क्रेटाकै यात्राबाट पार गर्यौं। सहरको ऐतिहासिक पृष्ठभूमि र सौन्दर्यलाई इभी ड्राइभिङसँगको फ्युजन आफैँमा रोमाञ्चक बन्यो। काठमाडौं र आसपास नयाँ गाडी टेस्ट ड्राइभ गरेको अनुभव भएका हामीलाई यसपटक गाडी र गन्तव्य दुवैले फरक महसुस गराउने नै भयो।

सजिलो सिट र पर्याप्त लेग स्पेसका कारण हुनुपर्छ लामो यात्रामा पनि थकान महसुस भएन। गाडीको इन्टेरियरमा राम्रो मेहनत गरिएको छ जसले यसलाई स्पेसियस बनाएको छ। ड्राइभ गरिरहँदा ड्यासबोर्डका बटन चलाउन झन्झट लाग्दैन।
हामी महाबलीपुरम पुग्दा चार लेनको नेसनल हाइवे विस्तार गरिँदै रहेछ। निर्माणको काम चलिरहेकाले खाल्डाखुल्डी पनि पार गर्नुपर्यो। यसको ग्राउन्ड क्लियरेन्स २ सय एमएम रहेकाले अफरोडमा कुनै समस्या आएन। त्यसैबीच मैले नेपालका सडक झलक्क सम्झिएँ, जहाँ केही किलोमिटर बाहेक अधिकांश हिस्सा कच्चीकै भर हुन्छ।
यसमा एआई लगायतका धेरै प्रविधिक फिचर समावेश रहेछ। ठूलो डिस्प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रियर क्यामेरा र क्रुज कन्ट्रोल तथा अटो होल्ड जस्ता सुविधाले यसलाई प्रिमियम बनाएको पाइयो।

समग्रमा क्रेटा इभीको टेस्ट ड्राइभले हामीलाई गजबको यात्रानुभव गरायो। हामीले अनुमान गरेअनुसार नै इभी बजारको प्रतिस्पर्धामा यसले बलियो उपस्थिति देखाउन सक्छ। तर त्यसका लागि एउटा प्रमुख भेरिएबल निर्णायक हुनेछ। त्यो हो यसको मूल्य। मूल्यलाई प्रतिस्पर्धी बनाउन सक्यो भने ब्रान्ड भ्यालु र फिचरका आधारमा नेपाली सडकमा क्रेटाको पुरानो क्रेज फेरि फर्किन सक्छ।




