संस्थागत लगानीकर्ता बाहिरिएपछि नेप्से बियरिस, म्युचुअल फण्ड इन्भेष्टर कि ट्रेडर?

सुनिल कुँवर
२०८१ चैत्र ११ गते ०६:११ | Mar 24, 2025
संस्थागत लगानीकर्ता बाहिरिएपछि नेप्से बियरिस, म्युचुअल फण्ड इन्भेष्टर कि ट्रेडर?


काठमाडौं। ब्याजदर घट्दा बैंक तथा वित्तीय संस्थाको निक्षेपबाट सेयर बजारमा ‘सिफ्ट’ गरेका संस्थागत लगानीकर्ता नाफा बुक गरेर बाहिरिंदा त्यसको असर नेप्सेमा परेको छ।

Tata
GBIME
NLIC

बजारको ‘मुभमेन्ट क्यास’ गरेर सर्टसेलमा कमाउने रणनीति लिएका संस्थागत लगानीकर्ताहरु नाफा बुक गरेर बाहिरिएपछि नेप्से निरन्तर ओरालो लागेको हो। नेप्से आइतबार ५४.६२ अंकले घटेको छ।

संस्थागत लगानीकर्ताका रुपमा म्युचुअल फण्डको हिस्सा दोस्रो बजारमा सर्वाधिक छ। बैंकहरूको ब्याजदर घट्दा फागुनमा म्यचुअल फण्डहरूले बजारमा लगानी बढाएका थिए।

संस्थागत लगानीकर्ताको इन्ट्रीले उकालो लागेको बजार फागुन तेस्रो सातापछि निरन्तर ओरालो लागिरहेको छ। फागुन १८ गते २८९० अंकमा पुगेको नेप्से त्यसपछि बियरिस भएर चैत १० गते २६१६.२६ विन्दुमा आइपुगेको छ।

सेयर कारोबार रकममा समेत निरन्तर गिरावट आएको छ। फागुन १८ गते १४ अर्ब २५ करोड रुपैयाँको सेयर किनबेच भएर २५.२४ अंकले बढेको बजार भोलिपल्ट घट्यो। फागुन १९ गते १३.६३ अंकले घटेको बजारमा १४ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको थियो।

नेप्से सूचकसँगै कारोबार रकम समेत घटेर अहिले दैनिक ५/६ अर्ब रुपैयाँमा सीमित छ। आइतबार नेप्से ५४.६२ अंकले घट्दा ६ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भयो।

बजारमा अहिले ट्रेडर हाबी भएका कारण नेप्से ओरालो लागिरहेको जानकारहरू बताउँछन्। म्युचुअल फण्डले नाफा बढाउन सर्टसेलका लागि लगानी गरिरहेको उनीहरूको भनाइ छ।

‘म्युचुअल फण्डले अल्टिमेटली युनिट होल्डरको हित हेर्ने हो। उनीहरूले आफ्नो सेयर होल्डरलाई अहित हुने काम गर्दैनन्। आफ्नो आम्दानीभन्दा बजारको अवस्थालाई हेर्न थाल्यो भने पफर्मेन्स घट्छ भन्ने हुन्छ,’ एक ब्रोकरले भने, ‘पफर्मेन्स बढाउने आफ्नै रणनीति हुन्छ। त्यसैअनुसार काम गर्दा उनीहरू कता-कता बजारमा ट्रेडर बनिरहेका छन्।’

सेयर बजारमा हुने तीव्र उतारचढावलाई संस्थागत लगानीकर्ताको लगानीले सन्तुलन कायम गर्ने विश्वास गरिन्छ। तर बजारमा ठूलो हिस्सा ओगटेका संस्थागत लगानीकर्ता ठूलो नाफा कमाउने दाउमा ट्रेडर बनेपछि बजारको अवस्था नै अनुमानयोग्य हुन नसकेको जानकारहरू बताउँछन्।

‘म्युचुअल फण्डले फण्डामेन्टल स्टक बुझेर लगानी गर्छन्। यसले बजारको अस्वाभाविक उतारचढावलाई कन्ट्रोल गरेर अनुमानयोग्य बनाउँछ भन्ने विश्वास गरिन्छ,’ एक विश्लेषकले भने, ‘तर उनीहरूको ध्यान बजारमा अरु लगानीकर्ता जस्तै देखियो। त्यसैले उनीहरूले बजार अधिक फ्लक्चुयसन हुँदा पनि कमाइरहेको देखिन्छ। संस्थागत लगानीकर्ताको धेरै विकास नभइसकेको हाम्रो जस्तो बजारमा यस्तो विषयलाई स्वाभाविक रुपमा लिनुपर्छ।’

खुला र बन्दमुखी गरेर अहिले नेप्सेमा सूचीकृत म्युचुअल फण्डको संख्या ३५ छ। म्युचुअल फण्डको संख्या वृद्धिका कारण उनीहरूले लगानीको नयाँ उपकरण खोजिरहेका छन्।

साढे तीन वर्षदेखि ओरालो लागेको बैंकको ब्याजदर न्यून विन्दुमा छ। कर्जाकै ब्याजदर एकल अंकमा आएपछि बैंकहरूले लागत वृद्धिको दबाबका कारण ठूलो आकारको निक्षेप लिन अस्वीकार गरिरहेका छन्।

माग सुस्त हुँदा बैंक तथा वित्तीय संस्थाहरूले नयाँ लगानी बढाउन सकेका छैनन्। ब्याज आम्दानी खुम्चिने देखेका म्युचुअल फण्डले पछिल्ला महिनाहरूमा दोस्रो बजारमा लगानी बढाएका थिए।

म्युचुअल फण्डको कोष प्रवर्धक ठूला वित्तीय संस्था भए पनि डिपोजिटरीको काम मर्चेन्ट बैंकरले गर्दै आएका छन्। सेयर बजारको उच्च उतारचढावमा पनि म्युचुअल फण्डले राम्रो प्रतिफल दिने गरी काम गरिरहेको मर्चेन्ट बैंकरहरू बताउँछन्।

‘बजारको फ्लक्चुयसनमा पनि म्युचुअल फण्डले राम्रो गरिरहेको देखिन्छ। सबैको हकमा लागू नहुन सक्छ। तर योजना अवधिभर हेर्दा लगानीकर्तालाई राम्रो प्रतिफल दिनेहरूको संख्या धेरै छ। म्युचुअल फण्ड लामो अवधिका लागि भएकाले बजारमा यसलाई इन्भेष्टरको रुपमा नै हेर्नुपर्छ,’ प्रभु क्यापिटलका सौगात पन्तले भने।

गत साउन मसान्तमा ३ वर्षयताकै उच्च विन्दुमा पुगेको बजार त्यसपछि माथि उक्लिन सकेको छैन। त्यतिखेर पनि संस्थागत लगानीकर्ता बजार बियरिस हुनुअघि नै बाहिरिएका थिए।

‘असारमा सेयर बजारमा भएको वृद्धि हामीले हेर्दा फण्डामेन्टल्ली स्टेबल थिएन। त्यसैले बजार ३००० विन्दुभन्दा माथि नजाने आकलन गरेर २८०० देखि २९०० विन्दुमै बाहिरिएका थियौं,’ एक अर्का मर्चेन्ट बैंकरले भने।

असार दोस्रो साता सत्ता समीकरण फेरिएकामा त्यसको डेढ महिनामा नेप्से ४६ प्रतिशतले उकालो लागेर ३००० विन्दुमा पुगेको थियो।