
काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज ३ खेल सकिएका छन्। आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई, एपीएफले गण्डकी प्रदेशलाई र सुदूरपश्चिमले कोशी प्रदेशलाई हराए।
शीर्षका लागि पुलिस पछ्याउँदै आर्मी
आइतबार सिद्धार्थनगरमा सम्पन्न खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई १३१ रनले हरायो। टस जितेर ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ५० ओभर पुग्न चार बल बाँकी छँदा २४३ रन बनायो।
आर्मीका लागि बसीर अहमदले सर्वाधिक ८६ रन बनाउँदा भीम सार्कीले ४४, तृतराज दासले ३१ तथा सोमपाल कामीले २८ रन बनाए।
बलिङतर्फ लुम्बिनीका अजय चौहानले सर्वाधिक ४ विकेट लिँदा कृष्ण कार्की, निर्मल गुरुङ, रमेश कुर्मी, नर सार्की र देव खनालले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी २७.१ ओभरमा १ सय १२ रनमा समेटियो। लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ३७ रन बनाउँदा मनिष थापा र विप्रसन केसीले समान १३ रन बनाए।
बलिङतर्फ आर्मीका शहाब आलमले ४ विकेट लिँदा नरेन साउदले २ तथा सोमपाल कामी, आकाश चन्द र बसीर अहमदले समान १ विकेट लिए।
जितसँगै ८ खेलबाट आर्मीले १४ अंक बनाएको छ। शीर्षको पुलिसले ७ खेलबाट समान अंक बनाएको छ।
गण्डकीमाथि एपीएफको जित
आजै भैरहवास्थित एक्स्ट्राटेक ओभलमा विभागीय टोली एपीएफले गण्डकी प्रदेशलाई हरायो।
टस हारेर ब्याटिङमा उत्रिएको एपीएफले ४९.२ ओभरमा अलआउट हुँदै २५८ रन बनायो। पहिलो विकेटका लागि १२५ रनको साझेदारी गरेका आशिफ शेख र लोकेश बमले क्रमश ८० र ४६ रन बनाए। त्यस्तै सुमित महर्जनले ३१, कमलसिंह ऐरीले २५ तथा अमर रौटेलाले २४ रन बनाए।
बलिङतर्फ गण्डकीका सन्दीप पराजुली र सुदीप अर्यालले समान ३ विकेट लिँदा कमल परियारले २ तथा चन्द्र पौडेलले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको गण्डकी निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२७ रनमा समेटियो।
गण्डकीका अर्जुन कुमालले सर्वाधिक ३९ रन बनाउँदा दिनेश बुढामगरले ३४ तथा मुस्कान थापा र अमृत गुरुङले समान २३ रन बनाए। सुदीप अर्याल २५ रनमा अविजित रहे।
बलिङतर्फ एपीएफका अभिषेक गौतमले ३ विकेट लिँदा अमर रौटेलाले २ तथा किशोर महतो, रोहित पौडेल र भुवन कार्कीले समान १ विकेट लिए।
जितसँगै ८ अंक बनाएको एपीएफ तालिकाको तेस्रो स्थानमा छ भने २ अंक बनाएको गण्डकी तालिकाको पुछारमा छ।
ठगुन्नाको फेरि शतक, कोशी पराजित
आजै सम्पन्न अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३१ रनले हरायो। देउखुरी क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ४३.४ ओभरमा २४२ रन बनायो।
सुदूरपश्चिमका लागि शतकीय इनिङ्स खेलेका किरण ठगुन्नाले सर्वाधिक ११५ रन बनाउँदा टेक रावतले १६ तथा अर्जुन विकले १५ रन बनाए।
बलिङतर्फ कोशीका ज्ञानेन्द्र श्रेष्ठले ४ विकेट लिँदा फिर्दोस अन्सारी र अंकित सुवेदीले समान २ तथा दीपेश कँडेल र प्रकाश कार्कीले समान १ विकेट लिए।
जवाफी ब्याटीङमा उत्रिएको कोशी ४५.१ ओभरमा अलआउट हुँदै २११ रनमा समेटियो। कोशीका लागि शकिब हकले सर्वाधिक ६२ रन बनाउँदा अंकित सुवेदी र समीर कार्कीले समान ३८ रन बनाए।
बलिङतर्फ सुदूरपश्चिमका सौर्य कार्कीले सर्वाधिक ३ विकेट लिँदा भोजराज भट्टले २ तथा शेर मल्ल, नारायण जोशी र राहुल भण्डारीले समान १ विकेट लिए। अंकतालिकामा सुदूरपश्चिम ६ अंकसहित सातौँ स्थानमा उक्लिएको छ भने २ अंक बनाएको कोशी तालिकाको नवौँ स्थानमा छ।