विपी राजमार्ग स्थायी रुपमा पुनर्निर्माण गरिँदै, काभ्रेपट्टिको दोस्रो खण्डका लागि पनि ठेक्का आह्वान

बिजमाण्डू
२०८१ चैत्र ७ गते १२:४८ | Mar 20, 2025
विपी राजमार्ग स्थायी रुपमा पुनर्निर्माण गरिँदै, काभ्रेपट्टिको दोस्रो खण्डका लागि पनि ठेक्का आह्वान


काठमाडौं। बाढीले क्षतिग्रस्त बनेको विपी राजमार्गको स्थायी रुपमा पुनर्निर्माण गर्ने काम अगाडि बढेको छ। बिहीबार सडक डिभिजन भक्तपुरले काभ्रेपट्टिको दोस्रो खण्ड पुनर्निर्माणका लागि पनि ठेक्का आह्वान गरेको हो।

Tata
GBIME
NLIC

डिभिजनले चरसयाबेसीदेखि भकुन्डेबेसीसम्मको ११ किलोमिटर सडक पुनर्निर्माण गर्न ठेक्का आह्वान गरेको हो। जसका लागि २ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याइएको छ। यो खण्ड पनि निर्माणको अविध २ वर्षको राखिएको छ।

हालसम्म यो सडक पुनर्निर्माण गर्न ६ अर्ब बराबरको लागत लाग्ने साढे २४ किलोमिटर सडकको ठेक्का आह्वान भइसकेको छ। अब लगभग साढे ३ किलोमिटर सडकको ठेक्का आह्वान हुन बाँकी छ। जसका लागि डिभिजनले अर्को हप्ता ठेक्का निकाल्ने तयारी गरेको छ।

विपी राजमार्गको डालाबेसी-चरसयाबेसी खण्डअन्तर्गत साढे ८ किलोमिटर सडकको स्थायी पुनर्निर्माणका लागि यसै हप्ता बोलपत्र आह्वान भएको थियो। यस्तै, अर्को नेपालथोकदेखि सिन्धुली खण्डका लागि भने अघिल्लो हप्ता नै ठेक्का आह्वान भइसकेको छ।

यो २८ किलोमिटर सडक पुनर्निर्माण गर्न सरकारले साढे ८ अर्ब रुपैयाँ बजेट छुट्याएको छ। जसमा साढे ८ किलोमिटर सडक खण्ड भने खोलाले पुरै बगाएको थियो।

नालासहित १० मिटर चौडा हुनेछ। ७ मिटर चौडाइ कालोपत्र गरिने योजना रहेको छ।

डीपीआरअनुसार उक्त सडकमा ३ सय एमएमको सब-बेस, २५० एमएमको बेस, ७५ एमएमको वाटर बाउन्ड म्याडम र ४० एमएमको आसफाल्ट कालोपत्र गरिनेछ। ३ लाख ९६ हजार ३०२.८३ घनमिटर माटो कटिङ गर्नुपर्ने र ७ लाख ६४ हजार १७५.८८ घनमिटर पुर्नु पर्ने पनि विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ।