कीर्तिपुर रंगशालामा बेलैमा बजेट नदिएर काममा हतारो, प्यारापिट बनाउन जम्मा ६६ दिन

बिजमाण्डू
२०८१ चैत्र ५ गते १४:०३ | Mar 18, 2025
कीर्तिपुर रंगशालामा बेलैमा बजेट नदिएर काममा हतारो, प्यारापिट बनाउन जम्मा ६६ दिन


काठमाडौं। कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने आफ्नो निर्णय कार्यान्वयनका लागि लामो समयसम्म स्रोत सुनिश्चित गर्न नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले ६६ दिनभित्र काम सक्ने गरी ठेक्का सम्झौता गर्न लगाएका छन्।

Tata
GBIME
NLIC

सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले प्यारापिट निर्माण गर्न ४३ करोड ७७ लाख र फ्लडलाइट निर्माण गर्न ४२ करोड १९ लाख रुपैयाँमा ठेक्का लगाएको हो। यो रकम भ्याटबाहेकको हो।

ठेक्का सम्झौता अनुसार १० हजार सिट क्षमताको प्यारापिट ६६ दिनमा बनाउनुपर्नेछ। यस्तै ६ वटा फ्लडलाइट हाल्न ६३ दिनको समयसीमा तोकिएको छ।

ओलीले असार ३१ गते मन्त्रिपरिषद्को पहिलो बैठकबाट कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउने निर्णय गर्दै त्यसका लागि ३०० दिनको समय तोकेका थिए। उनले तोकेको ३०० दिन सकिन अब ६० दिन मात्र बाँकी छ।

सहरी विकास मन्त्रालयका सहसचिव नारायण मैनालीले ठेक्का सम्झौता अनुसार वैशाख २४ गतेभित्र काम सम्पन्न हुनुपर्ने बताए। फागुन तेस्रो साता ठेक्का सम्झौता भएको थियो।

मन्त्रालयले गुरुयोजना बनाएर मैदान स्तरोन्नति गर्न चाहेकामा ओलीको दबाबमा गुरुयोजना निर्माणलाई रोकेर प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम अगाडि बढाइएको स्रोतले बतायो।

‘प्रधानमन्त्रीज्यूले लामो समय बजेट व्यवस्थापन गरिदिनु भएन। अहिले आफूले भने अनुसार भएको देखाउन काम चाँडो सक्न दबाब दिने काम भइरहेको छ,’ स्रोतले भन्यो।