वीरगंज सुक्खा बन्दरगाहमा ट्यांक कन्टेनरमार्फत ल्याइयो कच्चा तेल, ढुवानी भाडा सस्तो

बिजमाण्डू
२०८१ चैत्र ५ गते १३:०२ | Mar 18, 2025
वीरगंज सुक्खा बन्दरगाहमा ट्यांक कन्टेनरमार्फत ल्याइयो कच्चा तेल, ढुवानी भाडा सस्तो


काठमाडौं । वीरगंज सुक्खा बन्दरगाहमा ट्यांक कन्टेनर आउन थालेको छ। आइतबारदेखि कच्चा तेल बोकेको कन्टेनर रेल सुक्खा बन्दरगाहमा आएको हो।

Tata
GBIME
NLIC

बाराको जीतपुरस्थित खाने तेल उत्पादक उद्योग शिवशक्ति प्रा लिले खरिद गरेको सोयाबिन तेलको कच्चा पदार्थ (कच्चा तेल) बोकेको ट्यांक कन्टेनर सुक्खा बन्दरगाहमा आएको हो।

२० फुटे ९० वटा ट्यांक कन्टेनरमा २० हजार मेट्रिक टन कच्चा तेल अर्जेन्टिनाबाट हल्लिया हुँदै पहिलो पटक वीरगंज सुक्खा बन्दरगाह मार्फत नेपाल भित्रिएको जनाइएको छ।

सडक मार्गबाट मात्र ढुवानी हुँदै आएको कच्चा तेल रेलबाट ढुवानी गर्दा सडकमार्गको तुलनामा ढुवानी भाडामा औसत १५ प्रतिशत बचत हुने तेल आयात कम्पनीका पदाधिकारीले बताए।

सन् २००४ देखि संचालनमा आएको वीरगंज सुक्खा बन्दरगाहमा सुरुमा कन्टेनर, बल्क,  ब्रेकबल्क कार्गो मात्र आउने गरेको थियो।

सन् २०२३ जुलाईदेखि भने लुज कार्गो (कोइला) आउन थालेको थियो। अहिले सुक्खा बन्दरगाहमा कच्चा तेल समेत आउनु सुरु गरे पश्चात वीरगंज नाकाबाट रेलमार्फत हुने व्यापारिक कारोबारमा अझै वृद्धि हुने भएको छ।

ट्यांक कन्टेनर पूर्णरुपमा शिल भएर आउने भएकोले बाटोमा तेल चोरीका घटनाबाट नहुने दाबी छ। त्यसैले सुरक्षित रुपमा आयात हुनाको साथै सडक मार्गबाट ढुवानी गर्दा पर्याप्त ट्यांकर नपाइने समस्याबाट समेत आयातकर्ताहरुलाई छुटकारा मिल्ने बताइन्छ।

ट्यांक कन्टेनरको सेवा सुरु भएपछि नेपालको अन्तर्राष्ट्रिय व्पापार सहजीकरणमा थप टेवा पुग्नुको साथै वीरगंज सुक्खा बन्दरगाह पूर्ण क्षमतामा संचालनमा आउने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताउँछन्।

‘हामीले यसै वर्षबाट कोइलाको व्यवस्थापन गर्न सुरु गर्‍यौं र अब कच्चा तेलको व्यवस्थापन पनि सुरु गरेका छौं। हामीले हाम्रा बन्दरगाहहरुलाई क्षमता वृद्धि गरिरहेका छौं भने आधुनिकीकरण पनि गरिरहेका छौं। ट्यांक कन्टेनर वीरगंज सुक्खा बन्दरगाहमा आउनु व्पापार सहजीकरणमा सुखद पक्ष हो,’ उनले भने।