
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीइओ)का लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको छ।
सिफारिस समितिले खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न सोमबार सूचना प्रकाशित गरेर सीइओका लागि दरखास्त माग गरेको हो।
योग्यता पुगेका इच्छुक व्यक्तिले सात दिन भित्र अर्थात फागुन १८ गतेभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनुपर्नेछ। आवेदनसँगै व्यावसायिक कार्ययोजना समेत पेस गर्नुपर्नेछ।
अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि, वाणिज्य वा कानून विषयमा कम्तिमा स्नातकोत्तर, चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधी हासिल गरेर पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव सहित कम्तीमा पन्ध्र वर्षको कार्य अनुभव भएकको व्यक्तिले सीइओका लागि आवेदन दिन पाउनेछन्।
आवेदन दस्तुर ७ हजार ५०० रुपैयाँ तोकिएको छ। नेप्सेको सीइओ नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलले आइतबार तीन सदस्यीय समिति गठन गरेका थिए।
अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा सहसचिव अमृत लम्साल र डा.खोमराज खरेल सदस्य सिफारिस समिति गठन गरिएको छ।
समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले सीइओ नियुक्त गर्नेछ। नेप्सेमा सीइओको पद करिब तीन सातादेखि खाली छ। यसअघिका सीइओ कृष्णप्रसाद कार्कीको कार्यकाल माघ २४ गते सकिएको थियो।