
काठमाडौं। अमेरिकी अनुदान सहयोगको एमसीसी परियोजना रोकिएको छ। अर्थ मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गरी एमसीसी परियोजना रोकिएको बताएको छ।
अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)ले फागुन २ गते गरेको इ-मेल अनुसार एमसीसी परियोजना रोकिएको हो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जिम्मेवारी सम्हाल्नासाथ विभिन्न देशलाई गर्दै आएको अनुदान सहयोग ९० दिनका लागि स्थगन गर्ने निर्णय गरेका थिए। ट्रम्पको त्यही निर्णय अनुसार सरकारलाई अमेरिकाबाट इमेल आएको छ।
‘एमसीसी कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फण्डबाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगन सम्बन्धी कार्यकारी आदेश अनुसार रोकिएको व्यहोरा सरोकारवालाहरुलाई जानकारी गराइन्छ,’ अर्थ मन्त्रालयले मंगलबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।
नेपाल र अमेरिकाबीच २०७४ भदौ २९ गते नेपालमा एमसीसी परियोजना लागू गर्ने सम्झौता भएकामा डेढ वर्षअघि अर्थात २०८० भदौ १३ गते कार्यान्वयन सुरु भएको थियो।
परियोजना कार्यान्वयनको चरणमा गएको ८ महिनापछि गत वैशाखमा ४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माणको पहिलो ठेक्का लगाइएको थियो। एमसीए नेपालले सुस्ता पश्चिममा सबस्टेसन निर्माणको ठेक्का भारतीय कम्पनी लिङ्कसन इण्डिया प्रालिलाई दिएकामा कम्पनी अहिले फिल्डमा छ।
परियोजनाअन्तर्गत नुवाकोटको रातमाटे र तनहुँको दमौलीमा पनि एक/एकवटा सबस्टेसन निर्माण गर्नुपर्नेछ। त्यहाँ पनि निर्माण कम्पनीले काम अगाडि बढाएका थिए।
कार्यान्वयन सुरु भएको मितिबाट ५ वर्षमा ३१५ किलोमिटर ४०० केभी प्रसारण लाइन र तीन वटा सबस्टेसन निर्माणका साथै पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने ७१ किलोमिटर सडक आधुनिक प्रविधि प्रयोग गरेर मर्मत गर्ने भनिएको थियो।
५० करोड अमेरिकी डलर अनुदानको परियोजनामा नेपालले थप १९.७ करोड डलर लगानी गर्ने सहमति थियो।
तर ट्रम्पको निर्णयपछि नै एमसीसी परियोजनामा अमेरिकाले भुक्तानी रोकेको थियो। अनुदान सहायता रोक्ने ट्रम्पको निर्णयपछि एमसीसीका उपाध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले राजीनामा दिइसकेका छन्।
तर सरकार भने नयाँ उपाध्यक्ष र प्रमुख कार्यकारी नियुक्त भएपछि भुक्तानी हुने विश्वासमा थियो। त्यही कारण एमसीए नेपालले काम रोकेको थिएन। एमसीए नेपालले प्रसारण लाइन बनाउनका लागि सिन्धुपाल्चोकमा जग्गा प्राप्ति गर्न ४ दिन अगाडि सूचना निकालेको थियो।