महाकुम्भको अर्थतन्त्र : धार्मिक जमघट आर्थिक उन्नतिको मार्ग, जीडीपीमै देखिनेछ प्रभाव

सहयोग रञ्जित
२०८१ माघ २२ गते १५:११ | Feb 4, 2025
महाकुम्भको अर्थतन्त्र : धार्मिक जमघट आर्थिक उन्नतिको मार्ग, जीडीपीमै देखिनेछ प्रभाव
प्रयागराजको त्रिवेणी संगम। Photo : Niharika Kulkarni/AFP


गंगा, यमुना र अदृश्य सरस्वती नदीको त्रिवेणी संगममा यतिखेर लाखौं मानिस एकसाथ डुबुल्की लगाइरहेका छन्। दिन होस् या रात, जति बेला संगम पुगिन्छ त्यतिखेर नै स्नानमा लिप्त हुन्छ भक्तजन। भारतको उत्तरप्रदेशको प्रयागराजमा चलिरहेको यो महाकुम्भ विश्वकै सबैभन्दा ठूलो मानव जमघट हो।

Tata
GBIME
NLIC

पुस २९ गतेदेखि सुरु भएको महाकुम्भ फागुन १४ गतेसम्म चल्नेछ। यो अवधिभर १५ लाख विदेशी पर्यटकसहित ४५ करोड मानिस प्रयागराज पुग्ने अनुमान भारत सरकारले गरेको छ। विश्वकै धेरै जनसंख्या (एक अर्ब ४५ करोडभन्दा बढी) भएको मुलुकमा चलिरहेको यो महाकुम्भको मेलाले धर्म, सनातन, अध्यात्म र पाप मोक्षको मात्रै अर्थ बोकेको छैन। १४४ वर्षपछि भइरहेको भनिने यो महाकुम्भले भारतीय अर्थतन्त्रलाई प्रत्यक्ष फाइदा पुर्‍याइरहेको छ।

प्रयागराजमा चलिरहेको महाकुम्भको अर्थतन्त्र रोचक देखिन्छ।

महाकुम्भका लागि तयार त्रिवेणी संगमको एरियल भ्यू। Photo : X/myogiadityanath

महाकुम्भका लागि केन्द्र सरकारबाट २ हजार १०० करोड भारतीय रुपैयाँ र उत्तर प्रदेश सरकारबाट ५ हजार ४०० करोड भारतीय रुपैयाँ गरि कुल ७ हजार ५०० करोड भारतीय रुपैयाँ छुट्याइएको छ। करिब ४५ दिन चल्ने महाकुम्भमा गरिएको यो लगानी आफैंमा अद्भुत छ। यसबाट आउने ‘रिटर्न’बाट सरकार मात्रै होइन जनतासम्म फलिफाप हुने अपेक्षा छ।

अहिले ससाना व्यापारीदेखि ठूला कर्पोरेट हाउससम्म पुगेका छन् त्रिवेणी संगममा। उत्तर प्रदेश सरकारले महाकुम्भ प्रचारप्रसारमा ठूलो धनराशि खर्च गरेको छ। सोसल मिडिया इन्फ्लुएन्सरदेखि भारतका विभिन्न स्थानमा होर्डिङ बोर्डबाट प्रचार गरिएको छ।

भारतले महाकुम्भलाई आफ्नो ‘सफ्ट पावर’का रुपमा अर्थ्याउन प्रयास गरेको छ। विदेशी राजदूतहरुलाई प्रयागराजमा लगेर स्नान गर्न लगाउनुले पनि भारतले यस मेलाबाट धार्मिक कूटनीति गरिरहेको पनि प्रष्ट सन्देश दिएको छ। भुटानका राजा जिग्मे खेसर नाम्ग्यालले मंगलबार त्रिवेणी संगममै पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगै स्नानसमेत गरे।

त्रिवेणीमा स्नान गर्दै नागा बाबाहरु। Photo : Ritesh Shukla/Getty Images

बलिउड र हलिउडका कलाकारदेखि विभिन्न देशका नेता स्नानका लागि प्रयागराज पुगिरहँदा भारतको हस्पिटालिटी र ट्राभल क्षेत्रमा अहिले छुट्टै चमक देखिएको छ।

मेलामा आउने एक व्यक्तिले प्रयागराजमा मात्रै ५ हजार भारु खर्च गर्ने अनुमान छ। दैनिक करिब एक करोडको संख्यामा मानिस प्रयागराज आवतजावत गरिरहँदा त्यस आसपासको क्षेत्रसमेत यसबाट फाइदामा पुगेको छ। महाकुम्भ आउनेहरुको गन्तव्य प्रयागराजमात्रै छैन। यहाँ स्नानसँगै बनारस, अयोध्या लगायतका क्षेत्रमा पनि पुगिरहेका छन् उनीहरु। जसकारण ती क्षेत्रको होटल र ट्राभल व्यवसायमा पनि राम्रो उछाल आएको छ यतिखेर।

भारत सरकारले महाकुम्भका कारण भारतको अर्थतन्त्रमा दुई लाख करोड भारतीय रुपैयाँ योगदान पुग्ने विश्वास लिएको छ। उत्तर प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा मात्रै महाकुम्भका कारण १ प्रतिशत बढ्ने अनुमान छ।

भारत सरकारले साझा गरेको तथ्यांकअनुसार हरेक दिन अत्यावश्यक सामानको व्यापारमात्रै १७ हजार ३१० करोड भारुको हुने देखिन्छ। खाद्य र पेय पदार्थको बिक्रीमात्रै २० हजार करोड रुपैयाँको, होटल र ट्राभल क्षेत्रले मेला अवधिभर २ हजार ८०० करोड भारुको व्यापार गर्ने अनुमान छ। धार्मिक सामानहरुको बिक्रीले २ हजार करोड र फूलहरुको व्यापारबाट ८०० करोड रुपैयाँ उठ्ने अनुमान छ।

व्यापारमा सबैलाई अवसर र फाइदा

सामाजिक संजालमा अहिले महाकुम्भ पुगेर स्नान गर्नेहरुको तस्वीर भिडियो चल्तीमा छ। लाखौंको भिड बीच हिँड्दै स्नान गर्न जानेको दु:ख पनि देखिन्छ संजालहरुमा। भीभीआइपीका लागि खाली सडक र संगमको कुरा त भारतीय मिडियामा छ्यापछ्याप्ती नै छ। कुम्भमेलामा भएका आगलागी र भागदौडका घटना पनि चर्चामा रहे।

यी सबैसँगै चर्चामा छ त्यहाँ गएर व्यापार गर्नेहरुको। स्थानीय व्यापारीहरु आफ्नो आम्दानीमा बढोत्तरी पक्का गरेका बसेका छन्। बाहिर बाट प्रयागराज पुगेर सामान बिक्री गर्नेहरु पनि खुसी नै छ अत्यधिक नाफा बुक गरेकोमा। सामान बेच्न प्रयागराज पुगेकाहरु सेलिब्रेटी नै बनिसके केही।

महाकुम्भ स्थल क्षेत्रमा खाली प्लास्टिकका बोटलसँगै अन्य सामग्री बिक्रीमा राखिँदै। Photo : Ashwini Bhatia/AP Photo

चार दशकदेखि प्रयागराजमा स्टेसनरी व्यवसाय गर्दै आएका अर्बिन्द अग्रवाल कहाँ सामानको बिक्री यतिखेर ‘बुम’ भइरहेको छ। की रिङ, क्यालेन्डर, डायरी लगायतका सामानको सोधखोजका लागि उनको मोबाइलमा छिनछिनमै फोन आउँछ। सामान्य समयभन्दा बढी अवधि खुल्छ उनको पसल अहिले।

स्टेसनरी सामानको माग उच्च हुँदा उनको आफ्नो वार्षिक कमाइ ५ लाख ७० हजार डलरबाट बढेर ६ लाख ६० हजार अमेरिकी डलर पुग्ने अनुमान उनले गरेका छन्।

कागजका कप र प्लेट बेच्ने आशिष मित्तल पनि आफ्नो व्यवासायमा उछाल आएको बताउँछन्। भक्तजनहरुका लागि खाना खुवाउन विभिन्न ठाउँमा पंडाल र टेन्टहरु राखिएका छन्। त्यहाँबाट यी सामानको माग उच्च रहेको उनी बताउँछन्।

यतिमात्र हो र! विज्ञापन पनि पनि ठूलो धनराशि खर्च भइरहेको छ प्रयागराजमा। कर्पोरेट क्षेत्रबाट मात्रै ३ हजार करोड भारतीय रुपैयाँ मार्केटिङमा खर्च भएको छ। स्पोनसरसिप गर्ने कम्पनीहरुको ताँती नै देखिन्छ संगमतिर।

गाडीमा एलइडी स्क्रिन लगाएर विज्ञापन गर्दै आएको कम्पनी भ्रित्ती आइमिडियाको बिजनेस पनि महाकुम्भले ‘बुम’ भएको छ। सो कम्पनीका सहसंस्थापक राजेश राधाकृष्णले आफूहरुको आम्दानी पहिलाभन्दा ४ देखि ५ गुणासम्म बढ्ने अनुमान गरेको बताएका छन्।

कन्फिडिरेसन अफ अल इन्डिया ट्रेडर्स, उत्तर प्रदेश च्याप्टरका अध्यक्ष महेन्द्र गोयल महाकुम्भमा स्थानीय व्यापारीलेमात्रै अर्बौं रुपैयाँ कमाउने बताउँछन्।

अस्थायी पुलमा यात्रा गर्दै भक्तजन। Photo : Ritesh Shukla/Getty Images

यो त उदाहरणमात्रै हो। ‘इन्फर्मल इकोनोमी’ मा पनि यो महाकुम्भले धेरै सकारात्मक प्रभाव पारेको छ। लाखौं मानिसलाई हरेक दिन सिधै सामान बेच्ने थलोको रुपमा अहिले प्रयागराज विकासित भएको छ।

स्थानीय व्यापारीलाई महाकुम्भ फलिफाप भइरहँदा बाहिरबाट आएर ससाना व्यापार गर्नेको पनि कमी छैन। रुमालदेखि दतिवन, चप्पलदेखि माला, फूलदेखि पूजा समान, जे जे बिक्री हुन सक्छ सबै बिकिरहेको छ प्रयागराजमा अहिले। स्नान क्षेत्रमा ‘१०० रुपैयाँ दिनु’ भन्दै मालिस लगाउन खोज्ने अर्को व्यवसाय पनि चलेको छ।

प्रत्यक्ष अप्रत्यक्ष रुपमा यो महाकुम्भले भारतको अर्थतन्त्रलाई मात्रै बढाएको छैन रोजगारीसमेत सिर्जना गरिरहेको छ। निर्माण क्षेत्र, यातायात, सरसफाई जस्ता क्षेत्रमा मात्रै ६ लाख जागिर यही महाकुम्भका कारण सिर्जना भएको बताइन्छ।

महाकुम्भका कारण प्रयागराजमा भौतिक पूर्वाधार निर्माणको विकास उच्च छ। यहाँ १४ वटा नयाँ फ्लाइओभर, ७ वटा नयाँ बस स्टेसनहरु बनाइएका छन्।

कुम्भमेला व्यवस्थापनका लागि ३७ हजार प्रहरी, १४ हजार होम गार्ड परिचालित छन्। हजारौं प्रहरीलाई तैनाथी अवस्थामा राखिएको छ। १० हजार २०० जना सरसफाई कर्मचारी र १ हजार ८०० जन गंगा सेवादूत पनि मेलास्थलमा खटिएका छन्। महाकुम्भमा सुरक्षा व्यवस्थापनका लागि २ हजार ७५० वटा एआई सीसीटिभी राखिएका छन्।

महाकुम्भका लागि बनाइएका अस्थायी टेन्टहरु। Photo : Sanjay Kanojia/NurPhoto/Getty Images

४ हजार हेक्टरमा महाकुम्भका विभिन्न गतिविधि फैलिएको छ। आउने मानिसहरुलाई लक्षित गरेर रेल र बसको संख्या थपिएका छन्। भक्तजनका लागि ५ हजार रुपैयाँको टेन्ट देखि दुई लाख रुपैयाँसम्मका लग्जरी डोर रुम संचालनमा छन्।

यही महाकुम्भलाई भने साढे एक लाख टेन्ट, ९ वटा अस्थायी घाट, ३० वटा अस्थायी पुल, ४०० किलोमिटर सडक निर्माण गरिएका छन्। ७ हजार करोड रुपैयाँ लागतमा ६ लेन सहितको सडक, रेल नेटवर्क, सोलारबाट चल्ने सडक बत्ती जस्ता भौतिक पूर्वाधार निर्माण भएका छन् प्रयागराजमा।

यो महाकुम्भमा प्रविधिको नवीनतम उपयोग पनि भइरहेको छ।

भुटानका राजा जिग्मे खेसर नामग्याललाई डिजिटल महाकुम्भको अवलोकन गराउँदै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ। Photo : X/myogiadityanath

परम्परा र आधुनिकतालाई जोड्ने काम विभिन्न प्लेटफर्महरुले गरिरहेका छन्। अमेजन, फ्लिपकार्ट, पेटीएम जस्ता एपको प्रयोग पनि बढेको बताइन्छ। महाकुम्भमा सहजताका लागि भने कुन ठाउँमा के के हुन्छ भनेर जानकारी दिन जीआइएस म्याप संचालनमा ल्याइएको छ। एआई पावर्ड ड्रोनसँगै यूपीआई पेमेन्ट महाकुम्भ क्षेत्रमा संचालनमा ल्याइएका छन्।

सीसीटिभीबाट निगरानी गर्न बनाइएको कन्ट्रोल रुम। Photo : Atul Loke/The New York Times/Redux

महाकुम्भले देखाएको सम्भावना

नेपाल र भारतमा तीर्थाटन नयाँ कुरा होइन। वास्तवमा भन्नुपर्दा यी दुवै देशको अर्थतन्त्रमा तीर्थाटनले ठूलो भूमिका खेलेको छ। भारतमा हरेक वर्ष करोडौं मानिस चारधामसहित विभिन्न धार्मिक यात्रामा निस्कन्छन्। उनीहरु भारतसँगै नेपालका तीर्थस्थलसमेत आउँछन्। यस्तै, नेपालबाट पनि भारतमा तीर्थयात्रा जानेको कमी छैन।

यस्ता धार्मिक यात्राले भारतको अर्थतन्त्र राम्ररी चल्न सहयोग पुगिरहेको भारतीय विश्लेषक बताउँछन्। यो कुरा नेपालमा पनि लागू हुन्छ।

हुनत: हरेक १२ वर्षमा प्रयागराजमा कुम्भमेला लाग्ने गर्छ। तर, यसपटकको महाकुम्भले भने नयाँ आर्थिक सम्भावनाहरु उजागर गरेको छ। धार्मिक कार्यक्रमहरुलाई ‘सफ्ट पावर’को रुपमा प्रचार गर्ने र त्यसबाट कसरी अर्थतन्त्रलाई नै उकास्न सहयोग पुग्छ भन्ने उदाहरण अहिलेको महाकुम्भले दिएको छ।

रात्रिकालीन प्रयागराज । तस्वीर : X/@myogiadityanath

महाकुम्भले धेरै संख्यामा पर्यटकलाई आकर्षित गरेको छ। आन्तरिकसँगै बाह्य पर्यटकको ओइरो छ प्रयागराजमा। नाम चलेका इन्फ्लुएन्सरदेखि कलाकार, नेतासम्म संगम पुगेर स्नान गरिरहेका छन्। यसले भारतको पर्यटन क्षेत्र नै लाभान्वित हुनेछ।

यस्तै, महाकुम्भ रोजगारी अवसर सिर्जना हुने माध्यम पनि बनेको छ। हजारौं मानिसले रोजगारी पाउँदा स्थानीय व्यापारीहरु सबैभन्दा बढी लाभान्वित भएका छन्। उनीहरुले आफ्नो उत्पादन बेच्ने अवसर पाएका छन्। यसले महाकुम्भ जस्तो बृहत् धार्मिक कार्यक्रम व्यवस्थित रुपमा गर्न सके स्थानीय अर्थतन्त्र बलियो बन्ने आधार तय गरेको छ।

महाकुम्भ पूर्वाधार निर्माणको आधार तय गर्ने अर्को माध्यम बनेको छ। सडकदेखि होटल, बिजुली, अस्पताल लगायतका पूर्वाधारले दीर्घकालसम्म सकारात्मक प्रभाव पार्छ।

एजेन्सीहरुको सहयोगमा