बजेटमार्फत दिइएको सहुलियतले भारतमा इभी ब्याट्रीको लागत कम हुने, गाडी कतिसम्म सस्तिएला ?

बिजमाण्डू
२०८१ माघ २१ गते १७:०१ | Feb 3, 2025
बजेटमार्फत दिइएको सहुलियतले भारतमा इभी ब्याट्रीको लागत कम हुने, गाडी कतिसम्म सस्तिएला ?


काठमाडौं। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बजेटमार्फत लिथियम आयन ब्याट्री उत्पादनमा प्रयोग हुने सामान आयातमा लाग्ने भन्सार कटौतीको घोषणा गरेकी छन्।

Tata
GBIME
NLIC

उनले देशभित्र विद्युतीय सवारीसाधन (इभी) उत्पादनलाई बढावा दिन ब्याट्री उत्पादनमा प्रयोग हुने सामान आयातमा लाग्ने भन्सार कटौतीको घोषणा गरेकी हुन्।

यो घोषणाले इभी ब्याट्रीको लागत कम भइ गाडी नै सस्तो हुने अटोमेकरहरुले बताएका छन्।

उनीहरु मन्त्री सीतारमणले इभीको ब्याट्री निर्माणमा प्रयोग हुने ३५ वटा कच्चा पदार्थमा छुट दिने घोषणा गरेकाले यसले भारतीय इभी उद्योगमा ठूलो टेवा पुग्नेमा विश्वस्त छन्।

भारतको अटोमोबाइल उद्योग ग्रान्ट थ्रोन्टनका प्रमुख साकेत मेहराले भन्सार महसुल कटौतीले लिथियम आयन ब्याट्री निर्माणको लागत उल्लेखनीयरुपमा घट्ने बताए।

‘बजेटमार्फत गरिएको व्यवस्थाले भारतमा इभीले बढावा पाउनेछ। भारत इभी उत्पादनमा प्रमुख खेलाडीको रूपमा उभिन सक्छ,’ उनलाई उद्यृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन्। गाडीको मूल्य कतिसम्म सस्तिन्छ भनेर भारतीय अटोमेकरले भनेका छैनन्।

लागत कम हुँदा त्यसले नेपालमा भारतीय इभीको बजार बढाउन सहयोग पुग्न सक्छ। अहिले नेपाली बजारमा चिनियाँ इभीको दबदबा छ।

भारतमा इभी र मोबाइल फोनमा प्रयोग हुने लिथियम आयन ब्याट्री उत्पादनमा प्रयोग हुने वस्तुमा यसअघि धेरै भन्सार शुल्क थियो जसले गर्दा इभीको मूल्य तुलनात्मक रुपमा महँगो हुन गएको हो।

भन्सार शुल्क कटौतीले अब मूल्य सस्तिन गइ भारतमा इभीको प्रयोग बढ्ने र स्वच्छ ऊर्जालाई प्रवर्द्धन गर्ने लक्ष्यमा सहयोग पुग्ने सरकारको विश्वास छ।

मोबाइल फोनको ब्याट्रीका कच्चा वस्तुमा पनि छुट दिने घोषणा गरिएकाले मोबाइल फोनको उत्पादनमा पनि प्रोत्साहन पुग्ने विश्वास छ।

इभी र मोबाइल फोनमा आत्मनिर्भर बनाउनुका साथै विश्व बजारमा प्रतिस्पर्धा गर्नका लागि भन्सार छुटको घोषणा गरेको मन्त्री सीतारमणले बताएकी छन्।

बजेटमा ब्याट्री रिसाइक्लिङ र चार्जिङ पूर्वाधारका लागि सहुलियतसहित इभी इकोसिस्टम निर्माणमा ध्यान केन्द्रित गरिएको छ।