
विराटनगर। पन्ध्र महिनाअघि विराटनगर भन्सार कार्यालयले मोरङको एक लुब्रिकेन्ट्स उद्योगले आयात गरेको बेस आयलको नमुना परीक्षणका लागि भन्सार विभागमा पठायो।
कार्यालयमा लुब्रिकेन्ट्स उद्योगले बेस आयलका नाममा तयारी लुब्रिकेन्ट्स आयात गरिरहेको उजुरी परेको थियो। उजुरीका आधारमा कार्यालयले एक उद्योगले जाँचपासका लागि ल्याएको बेस आयलको नमुना प्रयोगशालामा परीक्षण नगरी छाड्न मानेन। र, नमुना विभागमा पठाइ छाड्यो।
नभन्दै उक्त पदार्थ घोषणा गरिएबमोजिमको बेस आयल थिएन। तयारी लुब्रिकेन्ट्स थियो। यस घटनामा कार्यालयले आयातकर्ता उद्योगलाई गलत घोषणा गरेको अभियोग लगाउँदै भन्सार ऐनको दफा ५७ अनुसारको कारबाही गर्यो।
उद्योगले तयारी वस्तु लुब्रिकेन्ट्सको महसुल ३० प्रतिशत र भ्याटसहित त्यसको २०० प्रतिशत जरिवाना पनि तिर्नुपर्यो।

यसरी औद्योगिक कच्चा पदार्थका रूपमा आयात गरिने बेस आयलका नाममा तयारी लुब्रिकेन्ट्स ल्याउनुको कारण महसुलमा अन्तर हो।
सामान्यतया अन्य वस्तुका कच्चा र तयारी पदार्थको भन्सार महसुलमा १ तहको फरक रहेकामा बेस आयल र लुब्रिकेन्ट्सको महसुलमा भने ३ तहको फरक छ।
यही कारण उद्योगले भन्सार कार्यालय लगायत विभिन्न ठाउँमा सेटिङ गरेर बेस आयलका नाममा तयारी लुब्रिकेन्ट्स नै आयात गर्ने गरेको पुष्टि विराटनगर भन्सारले गराएको परीक्षणबाट भएको थियो।
सरकारले देशभित्रका लुब्रिकेन्ट्स उद्योगको संरक्षण गर्न कच्चा र तयारी पदार्थको महसुलमा ३ तहको अन्तर बनाएको हो। तर उद्योगीले यही संरक्षण र अन्तरको दुरुपयोग गर्दै नाजायज फाइदा उठाइरहेको पाइएको छ।
ग्रिज र लुब्रिकेटिङ उद्योगले कच्चा पदार्थका रूपमा बेस आयल आयात गर्दा भन्सार विन्दुमा भन्सार महसुल १५ र हरित कर आधा प्रतिशतसहित भ्याट पनि बुझाउनु पर्छ। तर तयारी लुब्रिकेन्ट्सको आयातमा भने भन्सार महसुल ३० र हरित कर १ प्रतिशतसहित भ्याटसमेत छ।
उद्योगले बेस आयलका नाममा तयारी लुब्रिकेन्ट्स नै आयात गरेको तथ्य प्रयोगशाला परिक्षणबाट पुष्टि भएपछि विराटनगर भन्सारले बेस आयलका नाममा जाँचपासका लागि भित्रने वस्तुलाई विभागको प्रयोशालामा परीक्षण गराएर मात्र जाँचपास गर्न थाल्यो।
विभागले परीक्षण नगरी जाँचपास नगर्ने भनी तोकेका वस्तुमा बेस आयल पर्दैन। भन्सार अधिकृतलाई शंका लागे मात्र परीक्षण गर्नसक्ने वस्तुमा बेस आयल पर्छ। तर पनि विराटनगर भन्सारले विभागको प्रयोगशालामा परीक्षण नगरी जाँचपास नगर्ने अडान लियो।
यसपछि मोरङका लुब्रिकेन्ट्स उद्योगले बेस आयल नामको वस्तु नाका परिवर्तन गरेर ल्याउन थालेका छन्। यहाँका उद्योगले विराटनगरबाट पश्चिम ३०० किलोमिटरभन्दा टाढा पर्ने सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट बेस आयल जाँचपास गराइरहेका छन्।

त्यहीकारण विराटनगर भन्सार कार्यालयबाट बेस आयलको आयात नगण्य मात्रामा हुन थालेको छ। सुक्खा बन्दरगाहबाट बेस आयलको आयातमा गुणात्मक वृद्धि भएको छ।
चालु आर्थिक वर्ष पुुस मसान्तसम्म विराटनगर भन्सार कार्यालयबाट ३ लाख २१ हजार लिटर मात्र बेस आयल जाँचपास भएको छ।
जबकि यही वस्तु यस नाकाबाट आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा २८ लाख लिटर, २०७९/८० को सोही अवधिमा १४ लाख लिटर र २०७८/७९ को ६ महिनामा ३१ लाख लिटर भित्रिएको थियो।
सुख्खा बन्दरगाह भन्सार कार्यालयले भने बेस आयलका नाममा आयात हुने वस्तुको परीक्षण गराएको घटना छैन। कार्यालय प्रमुख धनबहादुर बरुवालले बिजमाण्डूलाई भने, ‘अहिलेसम्म हामीले परीक्षण गरेका छौं जस्तो लाग्दैन। शंका लागेमा परीक्षण गर्ने हो।’
उद्योगले नाका परिवर्तन गरेपछि बेस आयल आयातको शीर्षकमा विराटनगर भन्सारको वार्षिक तथ्यांक पनि हरेक वर्ष साँघुरिंदै गएको छ।
बेसस आयल विराटनगर नाका हुँदै आर्थिक वर्ष २०७८/७९ मा ४६ लाख ८३ हजार लिटर, ०७९/८० मा ३९ लाख ८४ हजार लिटर र गत आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख ३३ हजार लिटर भित्रिएको तथ्यांक छ।
चालु आर्थिक वर्षमा विराटनगर नाकाबाट कति परिमाणमा भित्रिएला त? पहिलो अर्धवार्षिक अवधिको तथ्यांकलाई आधार मान्दा चालु वर्ष ७ लाख लिटरभन्दा बढी नआउने कार्यालयको प्रक्षेपण छ।
उता नमुना परीक्षण नगराई जाँचपास गर्ने बन्दरगाह भन्सार कार्यालयबाट भएको आयातको तथ्यांक बढ्दो क्रममा छ। सुख्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष पुस मसान्तसम्म २८ लाख ५३ हजार लिटर बेस आयलको जाँचपास गरिसकेको छ। यो तथ्यांकका आधारमा चालु आवमा आफ्नो नाका हुँदै ६० लाख लिटर बेस आयल भित्रिने कार्यालयको प्रक्षेपण छ।
जबकि सुक्खा बन्दरगाह नाकाबाट बेस आयल आर्थिक वर्ष २०७९/८० मा एक थोपा पनि जाँचपास भएको थिएन भने गत आर्थिक वर्ष २०८०/८१ मा ४३ लाख ५६ हजार लिटर भित्रिएको थियो।
विराटनगर भन्सारले बेस आयलको जाँचपासमा कडाइ गरेपछि उद्योगीले नाका परिवर्तन गरेर ल्याउन थालेका हुन्।
लुब्रिकेन्ट्स उद्योगमा कार्यरत एक प्राविधिक कर्मचारीका अनुसार बेस आयल र तयारी लुब्रिकेन्ट्स हेर्दा उस्तै देखिन्छन्।
यी दुबै वस्तुलाई नांगो आँखाले यही हो भनेर छुट्याउन सकिँदैन। बेस आयलमा निर्धारित मात्रामा एडिटिभ्स नामको अर्को एक तरल पदार्थको मिश्रण गरेपछि मात्र लुब्रिकेन्ट्स तयार हुन्छ। तर यो एडिटिभ्सको मिश्रण थोरै मात्रामा गर्नुपर्ने ती प्राविधिकको भनाइ छ।
यही कारण तयारी लुब्रिकेन्ट्सलाई कसैले बेस आयल भनेर दाबी गरेमा प्रयोगशालामा परीक्षण नगरी छुट्याउन सकिँदैन। चालु आर्थिक वर्ष पुस मसान्तसम्म देशभरका नाकाबाट ७१ करोड ५५ लाख रुपैयाँ मूल्यको ५४ लाख ६० हजार लिटर बेस आयल आयात हुँदा ६५ लाख ८२ हजार मूल्यको १२ हजार ७६३ किलो मात्र एडिटिभ्स भित्रिएको भन्सार विभागले जनाएको छ।
उद्योगीको अविश्वासिलो तर्क
मोरङका उद्योगी भने बेस आयलका नाममा तयारी लुब्रिकेन्ट्स आयात नगरेको दाबी गर्छन्। उद्योग संगठन मोरङका उपाध्यक्ष एवम् पूर्वाञ्चल ल्युब आयल (पीएलओ)का सञ्चालक भोलेश्वर दुलालले विराटनगर नाकाबाट बेस आयल आयात गर्दा सीमापारि चोरी हुन थालेपछि नाका परिवर्तन गर्न बाध्य भएको बताए।
‘कन्टेनरमा फ्लेक्सी पेपर ब्यागभित्र राखेर बेस आयल आयात गर्नुपर्छ। तर सडक मार्गबाट यो वस्तु आयात गर्दा सीमापारि भारतमा चोरीको ठूलो समस्या भयो। धेरै कच्चा पदार्थ चोरी भयो। त्यसैले हामीले रेलमार्ग हुँदै सुक्खा बन्दरगाहबाट आयात गर्न थालेका हौं,’ उद्योगी दुलालले भने, ‘विराटनगर नाकाको साटो सुक्खा बन्दगाहबाट बेस आयल आयात गर्दा एक कन्टेनरमा एक लाख रुपैयाँसम्म घाटा छ। तर पनि चोरीका कारण हामीले उद्योगको लागत बढाएर सुक्खा बन्दरगाहबाटै आयात गरिरहेका छौं।’
दुलालले बेस आयलका नाममा तयारी लुब्रिकेन्ट्स आफूले कहिल्यै नल्याएको दाबी गर्दै हरेक कन्टेनरबाट नमुना निकालेर परीक्षण गर्न भन्सार विभागलाई चुनौती दिए।
उद्योग संगठन मोरङका कोषाध्यक्ष एवम् फुजिमा आयलका सञ्चालक सुवोध कोइरालाले पनि बेस आयलको आयातमा नाका परिवर्तन गर्नुको मुख्य कारण सीमापारि हुने चोरी नै रहेको जिकिर गरे।
के चोरी सम्भव छ ?

राजस्व अनुसन्धान विभागअन्तर्गत फिल्ड कार्यालयमा खटिएका अधिकारीहरू भने कन्टेनर फोडि फ्लेक्सी पेपर ब्यागलाई दुलो पारेर वा च्यातेर बेस आयल चोरी गर्न सम्भव नहुने बताउँछन्।
‘दुई वर्षअघि हामीले बेस आयलका नाममा कन्टेनरमा आएको वस्तु परीक्षणका लागि निकाल्न खोज्यौँ। तर निकाल्न सकेनौं। त्यो बेलुनजस्तो ब्यागमा आउँदो रहेछ र त्यसलाई दुलो पार्दा आफ्नै जिउतिर हुत्तिएर घोप्टिने डर हुँदो रहेछ। त्यसैले कन्टेनरलाई सम्बन्धित उद्योगमै लगेर उद्योगकै सिस्टम प्रयोग गरी नमुना झिक्नुपरेको थियो। त्यसैले यसको चोरी सम्भव छैन,’ राजस्व अनुसन्धान कार्यालय पथलैयाका एक अधिकृतले बिजमाण्डूसँग भने।
उनका अनुसार बेस आयल चोरी हुने कुरा पत्यारिलो होइन।
‘कुनै पनि उद्योग वा मोटर र सवारी साधन प्रयोगकर्ताले बेस आयल खरिद गर्दैन। तयारी, ब्रान्डेड र सिलप्याक लुब्रिकेन्ट्स नै खरिद गर्छ किनकि उसलाई आफ्नो मेसिनको माया हुन्छ। त्यसैले बेस आयल चोरी भएको पत्याउन सकिन्न,’ उनले भने।
यति हुँदाहुँदै पनि राजस्व अनुसन्धानका फिल्डमा खटिएका कर्मचारीलाई बेस आयलका कन्टेनर पक्राउ गरेर त्यसको अनुसन्धान गर्न विभागले अघोषितरूपमा रोक लगाएको छ।
‘हामीले एक पटक बेस आयल भनिने पदार्थ लोड गरिएका कन्टेनर पक्राउ गरेका थियौं। विभागबाट तुरुन्त छाडिदिनू भन्ने आदेश आयो। त्यति मात्र नभएर अबदेखि बेस आयलका गाडीलाई अवरोध नगर्नू भन्ने पनि आदेश भयो। त्यसपछि त्यस्ता गाडीको अनुसन्धान गर्ने हिम्मत कसैले गरेका छैनन्’, ती अधिकृतले भने।
उनका अनुसार राजस्व अनुसन्धानमा समेत बेस आयलको आयातलाई लिएर उजुरी चाङ छन्। तर विभागले उजुरीमाथि कारबाही अगाडि बढाउन ग्रिन सिग्नल दिएको छैन।
राजस्व अनुसन्धानको इटहरीस्थित कार्यालयले पनि बेस आयलका नाममा आयात भएको वस्तुमाथि अनुसन्धान गर्न सकिरहेको छैन।
‘गत वर्ष विराटनगर भन्सारले पामोलिनको कच्चा पदार्थ भनी आयात भएको वस्तु परीक्षण गराउँदा एक तह प्रशोधित भइसकेको प्रमाणित भएको थियो। यसपछि देशभरिका भन्सार कार्यालयले क्रुड पामोलिनका नाममा आयात हुने वस्तु परीक्षण गरेर मात्र जाँचपास गरिरहेका छन्। सुक्खा बन्दरगाहसहित देशभरका भन्सार कार्यालयले बेस आयलका नाममा आउने वस्तुमा पनि यही प्रक्रिया अपनाउने हो भने कसैले चलखेल गर्न सक्दैन,’ ती कर्मचारीले भने, ‘बेस आयलका नाममा भइरहेको गलत क्रियाकलापबारे हामीकहाँ परेका उजुरी नै पेन्डिङमा छन्। यसको मुख्य कारण विभागको ग्रिन सिग्नल नहुनु नै हो।’