
काठमाडौं। संगीता पौडेलले सानेपाको एउटा मार्टबाट एक प्याकेट कोदोको पिठो खरिद गरिन्। ‘अर्गानिक’ भनेर किनेको कोदोको स्वाद उनलाई पत्यारिलो भने लागेन।
उनका पतिले दोलखाको एउटा मिलमा पिसिएको कोदोको पिठो साथीमार्फत मगाए। त्यो पिठोको रोटी खाँदा भने साँच्चै अर्गानिक स्वादको अनुभूति भएको पौडेलले सुनाइन्।
पौडेलमात्र होइन हिजोआज बजारमा उपभोक्ताहरुमा खाद्यवस्तु ‘अर्गानिक’ भनेर खरिद गर्ने लहर नै चलेको छ। तर, बजारमा मिसावट र विषादीरहित भनेर किनबेच हुने खाद्यवस्तुको स्वादमा उपभोक्ता रनभुल्ल भेटिन्छन्।
विषादीरहित, पौष्टिक खाद्यवस्तुको खोजी सबैलाई छ। स्वस्थकर खान्की हुने भनेर ‘अर्गानिक’का नाममा खरिद गरिने खाद्यपदार्थमा स्वाद अपेक्षित नहुने मात्रै नभइ मिसावट पनि भेटिँदा उपभोक्तामा अन्योल देखिएको छ।
लोकल र अर्गानिकका नाममा मिसावटयुक्त खाद्यान्न बजारमा आइरहेको आशंकामा सवालजवाफ चलिरहेको साना ठूला पसल, मार्ट र सुपरस्टोरहरुमा भेटिएका छन्।
सहर बजार बसे पनि उपभोक्ता गाउँले खान्कीको अपेक्षामा स्वस्थकर खाद्यवस्तु रोज्छन्। बजारिया खाद्यान्न प्रयोग गरिरहेका उपभोक्ताहरु अहिले अर्गानिकतर्फ आकर्षित छन्। आयातितभन्दा स्वदेशमा उत्पादित अर्गानिक कृषि उपजको प्रयोग गर्न रुचाउनेको संख्या दिनहुँ बढेको छ।
हरियो तरकारी, सागपातदेखि खानेतेल, दाल, गेडागुडी, चामल, कोदो, फापरको पिठो, मकैको च्याँख्ला, जौको पिठो लगायत खाद्यान्न दैनिक उपभोग्य वस्तुभित्र पर्छन्। उपभोक्ताको खोजीलाई ध्यानमा राखेर बिक्रेताहरु पनि बजारमा ‘अर्गानिक’ बेच्न अघि सरेका छन्।
उपभोक्ताको रोजाइ बुझेका खुद्रा बजारदेखि ठूला सुपरमार्केटले समेत देशका विभिन्न जिल्लामा उत्पादन भएका भन्दै खाद्यवस्तु ‘अर्गानिक’ र ‘लोकल’ भनेर बिक्री गर्दै आएका छन्। धेरै व्यवसायीले विभिन्न ठाउँको अर्गानिक उत्पादन भन्दै खाद्यवस्तुहरु पसलसँगै अनलाइन प्लेटफार्ममार्फत बिक्री गर्दै आएका छन्।
मुस्ताङको भनेर बेचिने आलु के साँच्चै मुस्ताङकै हो? हो भने मुस्ताङका किसानले कति आलु फलाएर बेच्छन्? बेनी, बागलुङ, पर्वत, पोखरा र मुग्लिन हुँदै त्यहाँको कति आलु काठमाडौं आइपुग्छ? अनि दाल, गेडागुडी के साँच्चै हिमाली भेगका उत्पादनले प्रमुख सहरका माग धान्छ? निर्वाहमुखी खेती प्रणाली भएको मुलुकमा यसको उत्तर जटिल छ।
धेरै जिल्लामा रैथाने उत्पादन स्थानीय बजारलाई नै ठिक्क हुन्छ। बाहिर बिक्रीका लागि पठाउने परिमाण निकै न्यून हुन्छ। रैथाने कृषिउपज उत्पादन भएकै जिल्लाको बजारमा खपत भएर निकै कम मात्रै बाहिरिने यथार्थ छ। हामीलाई सानो क्षेत्रफलमा उन्नत फसल चाहिएको छ। त्यसका लागि बिउ आयातित छन्।
रैथाने मासिएर हाइब्रिडले ठाउँ लिएको छ। बिरुवा उम्रिएदेखि रोगकिरा लागिहाल्छ। रासायनिक मल र विषादी नहाली खाद्यवस्तु उत्पादन नै हुन छाडेका बेला हाल बजारमा उपभोक्ताले अर्गानिक भनेर खरिद गरेका खाद्यान्नहरु साँच्चै अर्गानिक छन् त?

रासायनिक मल र विषादी प्रयोग नगरी जैविक मल र रैथाने बीउबाट उत्पादन भएका कृषि उपजलाई अर्गानिक भनिन्छ। रासायनिक मल र विषादी प्रयोग गरिएका हरिया तरकारी दैनिक जस्तो भेटिने बजारमा ‘अर्गानिक’ भेट्न मुस्किल रहेको कृषि विज्ञ बताउँछन्।
प्राङगारिक रुपमा खेती गरी उत्पादन भएको कृषि उपजलाई मात्र अर्गानिक भनिने कृषि विज्ञ रामकृष्ण श्रेष्ठ बताउँछन्। ‘हालसम्म यति जिल्लामा अर्गानिक खेती हुन्छ भनेर यकिन छैन,’ उनी भन्छन्, ‘हाल केही हेक्टर जमिनमा मात्र अर्गानिक खेती हुने गरेको छ। तर, अर्गानिक भनिएका खेतीमा रासायनिक मल र विषादी प्रयोग भएको छ/छैन यसको कुनै अनुसन्धान भएको छैन।’
प्रमाणित नभएसम्म बजारमा अर्गानिकका नाममा बिक्री हुने सबै खाद्यवस्तु साँच्चै अर्गानिक भनेर ढुक्क हुन नसकिने उनको भनाइ छ।
‘सर्टिफिकेसन नभएको हुँदा पूर्णरुपमा अर्गानिक छ भनेर भन्न हुँदैन,’ उनी भन्छन्, ‘अहिले स्वदेशी बजारका लागि सर्टिफिकेसन चाहिंदैन। निर्यातका लागि यसको गुणस्तर, विषादीको मात्रा सबै चाहिने हुँदा अर्गानिक हो/होइन थाहा पाउन अर्गानिक सर्टिफिकेसन अर्थात जैविक प्रमाणीकरण चाहिन्छ।’
उनका अनुसार स्थानीय बजारमा अर्गानिक हो भन्नका लागि सरकारी निकायको पहलमा प्रांगारिक प्रयोग गरेर उत्पादन भएको हो भन्ने आधार हुनुपर्छ। त्यसले अर्गानिक भएको पुष्टि गर्ने उनको भनाइ छ।
खाद्यवस्तु कारोबार गर्ने वेलनेस हेल्थ फुडका संचालक विक्रम पाण्डे बजारमा पाइने सबैवस्तु अर्गानिक भनेर दाबी गर्न नसकिने बताउँछन्।
‘हामी अर्गानिक भनेर होइन लोकल भनेर बिक्री गर्छौ,’ उनी भन्छन्, ‘कतिपयको ल्याब परीक्षण नभइ प्याकिङ भएर आएको हुन्छ। कसरी अर्गानिक भन्ने?’ उपभोक्ताले अर्गानिकभन्दा पनि मिसावटरहित खाद्यवस्तु रोज्नु हितकर हुने उनी बताउँछन्।
उनका अनुसार मह, घ्यु, तेलमा मिसावट भए थाहा हुन्छ। ‘तिनीहरुको ल्याब परीक्षण भएको हुन्छ। अन्य खाद्यवस्तुहरुको लेभल सर्टिफाइड नभएको हुनाले लोकल भन्ने गरिएको छ,’ उनले भने। स्तरीय प्याकेजिङमा आउने कतिपय खाद्यवस्तु गुणस्तर परीक्षणपछि बजारमा आइपुग्ने उनले बताए।
‘कोदो, फापर, मकैको पिठोमा मिसावट भएको हुनसक्छ। फापरको पिठोमा गहुँको पिठो मिसाए थाहा हुँदैन,’ पाण्डेले भने, ‘हामीले जुम्लामा उत्पादित कोदोको पिठो बिक्री गर्दै आएका छौं। सरकारले अर्गानिक रुपमा फलाइएका भनेर हिमाली भेगका खाद्यान्नलाई भन्ने गरेको छ। तर, त्यहाँबाट आउने सबै खालका खाद्यान्न तथा फलफूलहरु पूर्णरुपमा अर्गानिक हुन्छ भन्ने चाहिँ होइन। हालसम्म उपभोक्ताले लोकल वस्तुको बारेमा गुनासो गरेको हामीले पाएका छैनौं।’
अर्गानिक खोजेर रनभुल्ल पर्नुभन्दा लोकल प्रोडक्ट रोज्नु उचित हुने उनी बताउँछन्।
सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि विभिन्न जिल्लाका खाद्यन्न बिक्री गर्दै आएको छ। कम्पनीले बेच्ने खाद्यवस्तुलाई अर्गानिक भन्ने गरेको छैन। बरु स्थानीय उत्पादन भनेर बेच्ने गरेको छ।

‘ल्याब परीक्षण गरेर अर्गानिक थाहा हुँदैन’
बजारमा पाइने तरकारी, फलफूलसँगै विभिन्न खाद्यवस्तु अर्गानिक भनेर ल्याब परीक्षणबाट थाहा नहुने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए।
‘अर्गानिक हो/होइन भन्ने थाहा पाउन अर्गानिक प्रमाणित सिस्टम लागू गर्नुपर्छ,’ उनले भने, ‘फार्म तथा सामूहिकरुपमा व्यावसायिक खेती गर्ने किसान र व्यवसायीले अर्गानिकका लागि सर्टिफाइड सिस्टममा दर्ता गरेपछि त्यसलाई आधार मान्नुपर्छ।’
हाम्रा ल्याबहरुले मुख्यतः खाद्यवस्तुमा विषादीको मात्रा र पौष्टिक तत्वको अवस्था जाँच गर्ने उनले बताए।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अर्गानिक खेतीका लागि प्रांगारिक मलको प्रयोगका लागि निर्देशिकासमेत बनाएको छ। यसकै आधारमा खेती गरियो भने मात्र अर्गानिक भएको पुष्टि हुने कृषि विभागले जनाएको छ।
मन्त्रालयले अर्गानिक उत्पादन, प्रशोधनको मापदण्ड ल्याएको एक दशकअघि नै हो। उक्त मापदण्ड अनुसार खेती गर्न स्वीकृति लिनुका साथै प्राविधिकको प्रत्यक्ष रेखदेख हुनुपर्छ। बीउमा हाइब्रिड होइन रैथाने जात प्रयोग गर्नुपर्छ।
खेती गर्ने जमिनको वरिपरि छिमेकीले पनि रासायनिक मल र औषधि प्रयोग गर्न हुँदैन। रोग किरा लाग्दा पनि घरेलु तथा जैविक उपचार विधि अख्तियार गर्नुपर्छ। नीम, बकाइना जस्ता वानस्पतिक किटनाशक तत्व मात्र प्रयोग गर्नुपर्छ। निर्देशिका पालना नभइ गरिएको खेतीबाट उत्पादित कृषिउपजलाई अर्गानिक भन्न मिल्दैन।