
काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)ले न्यारोबडी जहाज सि-चेकका लागि आफूले छानेको कम्पनीलाई नेपाल नागरिक उडडयन प्राधिकरण (क्यान)बाट स्वीकृति दिलाउने प्रक्रिया अगाडि बढाएको छ।
आफूले स्वीकृति नदिएको कम्पनी जहाज सि-चेकका लागि छनोट गरेको भन्दै क्यानले स्पष्टीकरण सोधेपछि एनएसीले आवश्यक प्रक्रिया अगाडि बढाएको हो।
क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले स्वीकृति दिने प्रक्रिया अगाडि बढेको बताए।
‘हामीले स्वीकृति नदिएको कम्पनी छानेका कारण एनएसीसँग स्पष्टीकरण सोधेका थियौं। त्यसपछि एनएसीले स्वीकृतिका लागि आवेदन दियो। हामीले अहिले स्वीकृति दिने प्रक्रिया अगाडि बढाएका छौं,’ भुलले भने, ‘राष्ट्रिय ध्वजावाहकको जहाज मर्मत गर्न रोक्ने कुरा भएन। एनएसीले आवेदन दिएकाले चाइना साउदर्नले केही दिनमै हाम्रो स्वीकृति पाउँछ।’
नेपाल नागरिक उड्डयन नियमावली, २०५८ को नियम २८ तथा नेप्लिज सिभिल एयरवर्दिनेस रिक्वायरमेन्टको च्याप्टर डी १ मा जहाज मर्मत सम्भार गर्ने कम्पनी क्यानबाट स्वीकृतिप्राप्त हुनुपर्ने व्यवस्था छ।
९ एन-एकेडब्लु कलसाइनको न्यारोबडी जहाज सि-चेकका लागि एनएसीले चाइना साउदर्न कम्पनी छनोट गरी क्यानसँग अनुमति मागेको थियो।
तर क्यानले चाइना साउदर्न आफूबाट स्वीकृतिप्राप्त कम्पनी नभएको भन्दै पुस २३ गते एनएसीका निमित्त अकाउन्टेबल म्यानेजर डोलेश्वर कोइरालासँग स्पष्टीकरण मागेको थियो।