एनएसीले जहाज सि-चेक गर्ने कम्पनी छनोटमा फेरि मानेन मापदण्ड, क्यानले माग्यो स्पष्टीकरण

वसन्तराज उप्रेती
२०८१ पुष २३ गते २०:१३ | Jan 7, 2025
एनएसीले जहाज सि-चेक गर्ने कम्पनी छनोटमा फेरि मानेन मापदण्ड, क्यानले माग्यो स्पष्टीकरण

काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)ले जहाज सि-चेक गर्ने कम्पनी छनोटमा फेरि पनि खेलाँची गरेको छ।

Tata
GBIME
NLIC

एनएसीले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले स्वीकृति नै नदिएको कम्पनीलाई ९ एन-एकेडब्लु कलसाइनको न्यारोबडी जहाज सि-चेकका लागि छनोट गरेको हो।

आफूले स्वीकृति नदिएको कम्पनी छनोट गरेको विषयमा क्यानले एनएसीसँग स्पष्टीकरण मागेको छ। क्यानले मंगलबार एनएसीका निमित्त अकाउन्टेबल म्यानेजर डोलेश्वर कोइरालासँग स्पष्टीकरण माग गरेको हो। कोइरालालाई स्पष्टीकरण बुझाउन तीन दिन दिइएको छ।

‘जहाज सि-चेक गर्ने कम्पनी हामीबाट स्वीकृति प्राप्त हुनुपर्छ। एनएसीले सि-चेकका लागि हाम्रो स्वीकृतिविनाको कम्पनी छानेको छ। त्यहीकारण हामीले स्पष्टीकरण सोधेका हौं,’ क्यानका एक कर्मचारीले भने।

नेपाल नागरिक उड्डयन नियमावली, २०५८ को नियम २८ तथा नेप्लिज सिभिल एयरवर्दिनेस रिक्वायरमेन्टको च्याप्टर डी १ मा जहाज मर्मत सम्भार गर्ने कम्पनी क्यानबाट स्वीकृतिप्राप्त हुनुपर्ने व्यवस्था छ।

एनएसीले न्यारोबडी जहाज मर्मतका लागि तेस्रोपटक गरेको टेण्डरमा एटीटेक एसपीए, रिवायर, इण्डिमार, मेटर र चाइना साउदर्नले आवेदन दिएका थिए। एनएसी व्यवस्थापनले चार कम्पनीलाई छोडेर चाइना साउदर्नलाई छानेको थियो। चाइना साउदर्न क्यानबाट स्वीकृतिप्राप्त कम्पनी होइन।

एनएसीले सि-चेक गर्न जहाज चीनको सेनयाङमा रहेको चाइना साउदर्नमा पुस २६ गते पठाउनका लागि सोमबार क्यानमा पत्र लेखेको थियो। त्यसको जवाफमा क्यानले ‘स्वीकृति प्राप्त नभएको संस्थालाई सि-चेकका लागि किन छनोट गरिएको हो?’ भनेर प्रश्न गरेको छ।

सि-चेकका लागि यात्रुरहित उडान अर्थात फेर्रि फ्लाइटका लागि पनि क्यानको अनुमति चाहिन्छ। एनएसीले यात्रुरहित उडानको पनि अनुमति मागेकामा क्यानले आफूबाट स्वीकृत नभएको मर्मत सम्भार संस्थामा जहाज पठाउनका लागि फेर्रि फ्लाइटका लागि किन अनुमति मागेको हो? भनी सोधेको छ।

तोकिएको समयभित्र सन्तोषजनक स्पष्टीकरण पेस नभएमा नागरिक उड्डयन नियमावली, २०५८ तथा यसअघि जारी मापदण्ड अनुसार कानूनी कारवाही गर्ने क्यानको चेतावनी छ।

एनएसीले यसअघि गत असारमा वाइडबडी जहाज पनि क्यानले स्वीकृति नदिएको कम्पनीमा सि-चेकका लागि पठाएको थियो।

आफूसँग स्वीकृति नलिएको एटीटेक एसपीए कम्पनीमा जहाज पठाएको भन्दै क्यानले त्यतिखेर एनएसीका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अकाउन्टेबल म्यानेजरबाट हटाएको थियो।