एनएसीले आफ्नो भाइब्रेन्ट बजार पकडमा राख्न सकेन, हङकङ-काठमाडौं उडानमा अकुपेन्सी आधा मात्रै

वसन्तराज उप्रेती
२०८१ पुष २६ गते १६:०६ | Jan 10, 2025
एनएसीले आफ्नो भाइब्रेन्ट बजार पकडमा राख्न सकेन, हङकङ-काठमाडौं उडानमा अकुपेन्सी आधा मात्रै

काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)ले काठमाडौं-हङकङ सातामा तीन वटा उडान गर्ने तालिका छ। तर एनएसीले डिसेम्बर महिनामा ७ वटा मात्र उडान गर्‍यो।

Tata
GBIME
NLIC

उडान त तालिका अनुसार गरेन नै, यात्रुको संख्या झनै टीठलाग्दो छ। उसले कुनै दिन पनि हङकङबाट जहाजको सिट क्षमता अनुसार यात्रु ल्याउन सकेन। एनएसीको १५८ सिटे जहाजले पुस ६ गते १२२ यात्रु ल्यायो। डिसेम्बरमा हङकङबाट काठमाडौंमा एनएसीले गरेका ७ उडानमा यात्रु संख्या त्यो नै सबैभन्दा धेरै हो।

डिसेम्बर ३ अर्थात मंसिर १८ गते एनएसीले हङकङबाट जम्मा ५३ यात्रु ल्याएको थियो। यो भनेको सिट क्षमताको ३४ प्रतिशत मात्र हो। एनएसीले हङकङबाट यात्रु ल्याउन नसकेको डिसेम्बरमा मात्र होइन, केही महिनायता उसको बजार नराम्ररी बिग्रिएको छ।

साउनयता भएको हङकङ-काठमाडौं उडानमा अकुपेन्सी ५२ प्रतिशतमा सीमित छ। जबकि खर्च धान्नका लागि अकुपेन्सी ६० प्रतिशत हुनुपर्छ। डिसेम्बर महिनामा भएका सात उडानमध्ये ५ दिन अकुपेन्सी ५० प्रतिशतभन्दा कम छ।

एनएसीका लागि कुनै समय हङकङ सबैभन्दा भाइब्रेन्ट बजार मानिन्थ्यो। त्यही बजार अहिले एनएसीले गुमाएको छ। कमजोर मार्केटिङ र जहाज मर्मत सम्भारमा बेवास्ताले उडान तालिका प्रभावित हुँदा एनएसीले आफ्नो बजार गुमाएको हो।

‘हङकङ हाम्रा लागि नाफा कमाउने मुख्य बजार थियो। तर जहाज मर्मतमा बेवास्ताले तालिका अनुसार उडान हुन नसकेपछि र हङकङमा खटिएका कर्मचारीले मार्केटिङ गर्न नसकेपछि बजार बिग्रिन पुगेको छ। अहिले हरेकजसो उडानमा घाटा खानुपरिरहेको छ,’ एनएसीका एक कर्मचारीले भने, ‘हामी कमजोर हुँदाको फाइदा प्रतिस्पर्धी कम्पनीले उठाइरहेको छ।’

एनएसीसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी जहाज रहेकामा अधिकांश समय चारवटै जहाज संचालन हुने गरेका छैनन्। गत असार दोस्रो सातादेखि करिब चार महिना वाइडबडी जहाज पालैपालो ग्राउण्डेड भए। चारवटै जहाज एकैपटक ग्राउण्डेड भएका उदाहरण समेत छन्।

हङकङबाट काठमाडौंमा क्याथे प्यासिफिकले पनि उडान गर्छ। उसको अकुपेन्सी ८५ प्रतिशत छ। साथै उसले काठमाडौंमा सातामा पाँच वटा उडान गर्दै आएको छ।

‘हामी कमजोर हुँदा क्याथे प्यासिफिक मालामाल भएको छ। आफ्नो बजार बिग्रिएकामा हाम्रो व्यवस्थापनलाई कुनै चासो छैन। व्यवस्थापन बजार सुधार गर्नेभन्दा पनि शक्तिकेन्द्रलाई रिझाउनतिर अल्मलिरहेको छ,’ एनएसीका अर्का कर्मचारीले भने।

एनएसीले साउनदेखि पुस १५ सम्म हङकङबाट काठमाडौंमा जम्मा ४० वटा उडान गरेको छ। ४० उडानमा फुल अकुपेन्सीमा ६ हजार ३०० यात्रु ल्याउन सकिनेमा एनएसीले जम्मा ३३०० यात्रु पाएको छ।

जहाज मर्मतमा ढिलासुस्तीले उसले तालिका अनुसार २२ उडान रद्द गर्‍यो। तालिका अनुसार उडानको टुंगो नहुँदा एनएसीको बजार क्याथे प्यासिफिकले खोसेको हो।

एनएसीले दुई वर्ष अगाडिसम्म यात्रुको चाप अनुसार हङकङमा २७४ सिटे वाइडबडी जहाज पनि फुल अकुपेन्सीमा उडाउने गरेको थियो। तर अहिले न्यारोबडी जहाज नै रित्तै उडाउनु परिरहेको छ। काठमाडौंबाट हङकङतर्फको उडानमा भने अकुपेन्सी करिब ७० प्रतिशत छ।

कुन गन्तव्यमा कति छ एनएसीको अकुपेन्सी?

गन्तव्यअकुपेन्सी दर
नारिता७८%
दुबई७८%
दिल्ली८३%
क्वालालाम्पुर९५%
दोहा८६%
बैंकक७६%
बैंगलोर८३%
मुम्बइ७४%
दमाम७०%
हङकङ५२%
स्रोत : नेपाल वायुसेवा निगम

न्यारोबडी ग्राउण्डेड

समयमा मर्मत संभार नहुँदा ९ एन-एकेडब्लु कलसाइनको न्यारोबडी जहाज एक सातादेखि ग्राउण्डेड छ। सि-चेक गर्नुपर्ने मिति नै गुज्रिसकेका कारण फ्लाइङ आवर कम भएका कारण जहाज ग्राउण्डेड गरिएको हो।

एनएसीले यो जहाज सि-चेकका लागि चीनको चाइना साउदर्न कम्पनीमा पठाउन लागेकामा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले आफूले स्वीकृति नदिएको कम्पनी छानेको भन्दै स्पष्टीकरण सोधेको छ। ९ एन-एकेडब्लु जहाज ग्राउण्डेड हुँदा विभिन्न गन्तव्यमा उडान प्रभावित हुन पुगेको छ।