
काठमाडौं। सरकारी कम्पनी नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय गन्तव्यहरुका उडान गर्ने ४ वटै जहाज ग्राउन्डेड भएको छ। दुई एयरबस-३३० र दुई एयरबस-३२० जहाज ग्राउन्डेड भएको शनिबार निगमका एक कर्मचारीले बताए।
सी-चेकका लागि इटाली पठाइएको ९एन-एएलजेड कलसाइनको जहाज आउने मिति टुंगो छैन। अर्को ९एन-एएलवाइ कलसाइनको वाइडबडी सी-चेक गरेर ल्याएको ४५ दिनपछि पुन: ग्राउन्डेड छ। निगमसँग भएका दुइटै न्यारोबडी जहाज यतिखेर प्राविधिक समस्या आएर दिल्ली र दुबईमा ग्राउन्डेड रहेको ती कर्मचारीले बताए।
‘९एन-एकेडब्लु कलसाइनको जहाजको फ्युल फिल्टर नै जाम भएका कारण उतै ग्राउन्डेड भएर बसेको छ। इन्डिगोले केही पाटपुर्जा दिएपछि उडान गर्ने तयारी छ,’ उनले भने, ‘यता दुबई गएको जहाजको फ्लाइट कन्ट्रोल प्रणालीमै प्राविधिक समस्या आएको छ। सारजहाँबाट प्राविधिक गएर बनाउँदै छन्।’
उनका अनुसार ग्राउन्डेड भएका दुइटै न्यारोबडी जहाज तत्काल रिलिज नभएको अवस्थामा शनिबार दमाम, हङकङ, दिल्ली, दुबई लगायत गन्तव्यतर्फका पूर्वनिर्धारित उडान-अवतरण नै प्रभावित हुनेछ। यता वाइडबडी जहाज नहुँदा तीन दिनयता नारिता उडान नै रद्द हुँदै आएको छ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार काठमाडौंमा ग्राउन्डेड भएको वाइडबडी जहाज पाटपुर्जा आएलगत्तै रिलिज गर्ने तयारी छ। सकभर शनिबार बेलुकीसम्म जहाज आउने सम्भावना बलियो रहेको उनको भनाइ छ। दुबई र दिल्लीमा ग्राउन्डेड जहाज मर्मत गरेर काठमाडौं ल्याउने तयारी रहेको उनले बताए।
‘दुबई र दिल्लीमा प्राविधिक समस्या आएका दुइटै न्यारोबडी जहाज छिट्टै रिलिज गर्नेगरी काम भइरहेको छ,’ प्रवक्ता पौडेलले भने, ‘वाइडबडी जहाजमा अचानक अनावश्यक इन्धन खपत भएपछि अहिले नयाँ पाटपुर्जा मगाइसकिएको छ। आएलगत्तै जहाज रिलिज हुनेछ।’