किमाथांका अरुणको सेयर किन्न ५ कम्पनीले दिए आवेदन, मुगु कर्णालीमा सीजी इनर्जी मात्रै

जनक वली
२०८१ पुष २३ गते १८:१० | Jan 7, 2025
किमाथांका अरुणको सेयर किन्न ५ कम्पनीले दिए आवेदन, मुगु कर्णालीमा सीजी इनर्जी मात्रै


काठमाडौं। किमाथांका अरुण र मुगु कर्णाली जलविद्युत आयोजनामा लगानी गर्न ६ कम्पनीले आवेदन दिएका छन्।

Tata
GBIME
NLIC

विद्युत उत्पादन कम्पनीले यी दुई कम्पनीको ५१ प्रतिशत सेयर किन्न सूचना निकालेकोमा ६ वटाले आवेदन दिएको हो।

४५४ मेगावाटको किमाथांका अरुण जलविद्युत आयोजनाको लागि ५ वटा र १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युतका लागि एउटा कम्पनीले आवेदन दिएका छन्।

किमाथांका अरुणको लागि नेपाल इन्ड्रष्ट्रिज प्रालि, भिजन इनर्जी एण्ड पावर प्रालि, एन जे हाइड्रो इनर्जी प्रालि, नोवल ग्रुप अफ हाइड्रो इनर्जी प्रालि र अनक हाइड्रोपावर कम्पनी प्रालिले आवेदन दिएका छन्।

मुगु कर्णाली जलविद्युत आयोजनाको लागि सीजी इनर्जी प्रालीले मात्र आवेदन दिएको छ। यो चौधरी समूहको कम्पनी हो।

मुगु कर्णाली जलाशययुक्त्त जलविद्युत आयोजना निर्माण गर्न ४ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान छ। यस्तै किमाथांका अरुण अर्धजलाशययुक्त आयोजनाको अनुमानित लागत ९३ अर्ब ८० करोड रुपैयाँ छ।

दुवै आयोजना सार्वजनिक-निजी साझेदारीमा मोडेलमा निर्माण गर्ने योजना रहेको र त्यही अनुसार स्वपुँजीको कम्तीमा ५१ प्रतिशत लगानी गर्न इच्छुकसँग आशयपत्र मागेको थियो। दुवै आयोजनामा स्वपुँजी र ऋण लगानीको अनुपात २५:७५ हुनेछ।

जस अनुसार इच्छुक लगानीकर्ताले मुगु कर्णालीमा कम्तिमा ५८ अर्ब ६५ करोड र किमाथांका अरुणमा ११ अर्ब ९५ करोड रुपैयाँ रुपैयाँ स्वपुँजी लगानी गर्नुपर्नेछ।

मुगु कर्णाली आयोजना

मुगु कर्णाली जलाशययुक्त्त जलविद्युत आयोजनामा सम्भाव्यता अध्ययन अहिले अन्तिम चरणमा छ। एनइए इन्जिनियरिङ कम्पनीले आयोजनाको विस्तृत अध्ययन गरिरहेको छ।

बाजुराको जगन्नाथ गाउँपालिका र स्वामिकार्त्तिक खापर गाउँपालिकाबीच भएर बहने कर्णाली नदीको पानीबाट विद्युत उत्पादन गर्ने योजना छ। बिजुचौर भन्ने २८३ अग्लो पहाडमा मुख्य संरचना रहने गरी आयोजना निर्माण गर्ने भनिएको छ। आयोजनाको जलाशय मुगु र हुम्लाको करिब ४५ किलोमिटर भूभागमा रहने छ।

मुगु कर्णाली जलविद्युत आयोजनाको लेआउट

आयोजनाबाट वार्षिक ६२९१.०८ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ।आयोजनाको ग्रस हेड २७६ मिटर र नेट हेड २७१ मिटर हुनेछ। आयोजनाबाट उत्पादन हुने बिजुली करिब ४० किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत फुकोट सब-स्टेसनमा जोडिनेछ। फुकोट सब-स्टेसन निर्माण गर्नै बाँकी छ। यो सब स्टेसन राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले निर्माण गर्न प्रस्ताव गरेको छ।

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा छ। आयोजना निर्माण गर्न १० वर्ष लाग्ने अनुमान गरिए पनि सम्भाव्यता अध्ययनको काम नसकिएकाले यकिन भइसकेको छैन।

किमाथांका अरुण कस्तो आयोजना ?

अर्धजलाशययुक्त प्रकृतिको यो आयोजना संखुवासभाको भोटखोला गाउँपालिका-२ मा निर्माण गरिने छ। आयोजनाबाट वार्षिक २५५२.१६ गिगावाट आवर बिजुली उत्पादन हुनेछ।

आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अन्तिम स्वीकृतिको चरणमा छ। आयोजनाका लागि आवश्यक जग्गा अधिग्रणका लागि सूचना निकालिएको छ भने आवास गृह बनाउन ठेक्का लगाइसकेको वरिष्ठ इन्जिनियर पौडेलले जानकारी दिए।

उनका अनुसार विद्युत खरिद बिक्री सम्झौता (पीपीए)का लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ। आयोजनाबाट वार्षिक पिक इनर्जी ४८५.९३ गिगावाट घण्टा र वार्षिक अफ पिक इनर्जी २७९.२८ गिगावाट आवर उत्पादन हुने अनुमान छ। आयोजनाको ग्रस हेड ३७९.५२ र नेट हेड ३६७.५५ मिटर हुनेछ।

आयोजनाको पावर हाउस भूमिगत हुनेछ। आयोजनाको हेडवर्क्स आरसीसी गरेर बनाइनेछ। नदीको फाउण्डेसनबाट १४० मिटर अग्लो बाँध बाधेर ५.९ किलोमिटर लामो सुरुङमार्ग हुँदै ३६० मिटर उचाईबाट पानी खसालेर विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ।

आयोजनामा चारवटा टर्बाइन युनिटबाट विद्युत उत्पादन हुनेछ। आयोजनाको प्रति किलोवाट लागत २ लाख ६ हजार ६०८ रुपैयाँ रहेको छ। इन्टर्न रेट अफ रिटर्न १३.५८ प्रतिशत छ। रिटर्न अन इक्विटी (आरओइ) १६.८२ प्रतिशत छ। यो आयोजना निर्माण थालेको ५ वर्षमा सक्ने योजना छ।

किमाथांका अरुण आयोजनाको लेआउट

आयोजनाबाट उत्पादन हुने विद्युत १८.५ किलोमिटर लामो ४०० केभी प्रसारण लाइन निर्माण गरेर हैटार सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ। तिङ्ला-सुनकोशी-ढल्केबर ४ सय केभीको प्रसारण लाइन निर्माण हुँदैछ। इनरुवादेखि शितलपाटीसम्म २२० केभीको प्रसारण लाइन निर्माण भइसकेको छ।

यो आयोजनाभन्दा तल नेपाल विद्युत प्राधिकरणले १०६१ मेगावाटको माथिल्लो अरुण बनाउँदैछ। त्यसभन्दा तल भारतीय कम्पनी सतलज जलविद्युत निगमले अरुण तेस्रो बनाइरहेको छ। प्राधिकरणले माथिल्लो अरुण बनाउने भएकाले बाटोका लागि समस्या हुनेछैन।

काठमाडौंदेखि किमाथांका अरुण हेडवर्क्स साइटको दूरी ६६५ किलोमिटर छ। आयोजना क्षेत्र खाँदबारीबाट ७८ किलोमिटर टाढा पर्छ।