
काठमाडौं। फ्लाई दुबई वायुसेवाले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय पुनः उडान सञ्चालन गर्ने भएको छ। कम्पनीले एक महिनापछि पुनः उडान नियमित गर्ने भएको हो।
उक्त वायुसेवाले आगामी सोमबार पुस २९ गतेदेखि आफ्नो नियमित व्यावसयिक उडान गर्ने गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोद रावतले बताए।
‘मौसमी प्रतिकूलताका कारण अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले एक महिनाअघि भैरहवाबाट व्यावसायिक उडान स्थगित गरेका थिए। अब विस्तारै मौसममा सुधार हुँदै आएको छ,’ उनले भने, ‘यो हुँदा अहिलेसम्म फ्लाई दुबईले आउँदो पुस २९ गते देखि पुनः उडान सुरु गर्ने भएको छ।’
फ्लाई दुबईले साताको सातै दिन दुबई-भैरहवा-काठमाडौं-दुबई हप अन हप उडान गर्दै आएको छ।
उनका अनुसार सँगै उडान स्थगित गरेको जजिरा एयरवेजले माघभित्रै आफ्नो उडान पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ। यसअघि कम्पनीले साताको ३ वटा उडान गर्दै आएको थियो।
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हाल थाइ एयर एसियाले सिधा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। कम्पनीले यात्रुको मागअनुसार आफ्नो उडान सञ्चालन गर्दै आएको जनाइएको छ।
मौसमी प्रतिकूलताका कारण हवाई सेवामा पर्ने समस्या न्यूनीकरण गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी-एआर प्रणाली जडान कार्य सुरु गरिसकेको छ। उक्त भूउपग्रह प्रणाली लागू भएलगत्तै यो विमानस्थलमा मौसमी प्रतिकूलताको असर कम हुने र अन्तर्राष्ट्रिय वायुसेवालाई थप सहज हुने प्राधिकरणले जनाएको छ।