
काठमाडौं। गत असार मध्यपछि सेयर बजार उकालो लाग्दा नेपाल फाइनान्सको मूल्य अस्वाभाविकरुपमा बढ्यो। फण्डामेन्टल सूचक नै कमजोर भएको कम्पनीको भाउ ६०० रुपैयाँबाट केही दिनमै प्रति कित्ता २६१४ रुपैयाँसम्म पुग्यो।
त्यतिखेर नेपाल फाइनान्सको सेयर मूल्य उचाल्ने व्यक्ति थिए दीपेन्द्र अग्रवाल। अग्रवालले सामाजिक सञ्जाल क्लबहाउसमा लगानीकर्ताको समूह बनाएर मूल्य बढ्ने भन्दै लोक्याप भएका कम्पनीमा लगानी गर्न उक्साए।
तर, सेयर बजारमा वृद्धि धेरै टिकेन। भदौ लागेपछि बियरिस ट्रेन्ड सुरु भयो। नेपाल फाइनान्सको सेयर मूल्यमा व्यापक गिरावट आयो। प्रति कित्ता ५ हजार रुपैयाँ पुग्छ भन्ने अग्रवालको कुरा सुनेर उक्साहटमा सेयर किनेकाहरुले नराम्ररी गुमाए।
अहिले नेपाल फाइनान्सको सेयर प्रति कित्ता १००२ रुपैयाँमा झरेको छ। आइतबार मात्रै यो कम्पनीको सेयर ४.११ प्रतिशतले ओरालो लाग्यो।
नाजुक अवस्थाको नेपाल फाइनान्सको सेयर मूल्य आफूले चाहे अनुसार उचाल्न नसकेपछि अग्रवाल वित्तीय अवस्था नाजुक रहेका तर पब्लिक सेयर हिस्सा न्यून भएका अरु कम्पनीको भाउ माथि लानतिर लागे।
नेपाल राष्ट्र बैंकले निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको र न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको पाएपछि मंसिर ११ गते कर्णाली डेभलपमेन्ट बैंकलाई शीध्र सुधारात्मक कारबाही गर्यो। तर, सेयर बजारमा त्यसविपरीत नतिजा देखियो।
वित्तीय अवस्था नाजुक भएका कारण कर्जा प्रवाह र निक्षेप संकलनमा रोक लगाइएको कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लगाएर बढाइयो।
लगानीकर्ताले प्रतिफलका लागि लगानी गर्छन्, जानाजान कसैले लगानी डुबाउन चाहँदैन। तर, लगानीकर्ता फेरि तिनै अग्रवालको पछि लागे। स्रोतका अनुसार राष्ट्र बैंकको कारबाहीमा परेको कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य अग्रवालको संलग्नता बढाइएको हो।
‘अग्रवालले यसअघिकै रणनीति अनुसार बैंकको सेयर आफन्तको नामबाट कारोबार गर्दै आएका थिए। पछिल्लोपटक कर्णालीको सेयर मूल्य उचाल्न पनि उनै लागेका हुन,’ स्रोतले भन्यो।
राष्ट्र बैंकले पुस १० गते संकटग्रस्त घोषणा गरेर व्यवस्थापन नियन्त्रणमा लिएपछि कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार ११ गतेदेखि रोक्का गरिएको छ।
कारोबार रोक्का हुँदा बैंकको पब्लिक सेयरमा लगानीकर्ताको २ अर्ब रुपैयाँ होल्ड हुन पुगेको छ। बैंकको ५० लाख २८ हजार ३०० कित्ता सेयर नेप्सेमा सूचीकृत रहेकामा त्यसमध्ये २४ लाख ६३ हजार ८६७ कित्ता पब्लिक सेयर हो।
बैंकको अन्तिम कारोबार प्रति कित्ता सेयर ८१० रुपैयाँमा भएको थियो। यही कारोबार रकमलाई आधार मान्ने हो भने बैंकमा सेयर लगानीकर्ताको १ अर्ब ९९ करोड ५७ लाख ३२ हजार २७० रुपैयाँ होल्ड भएको हो।
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्नु एक दिनअघि पनि बैंकको सेयर मूल्य ४.२७ प्रतिशतले वृद्धि भएको थियो। जबकि वित्तीय अवस्था संकटग्रस्त भएको एक महिनाअघिबाटै थाहा थियो।
खराब अवस्थाको कम्पनीको सेयर मूल्य उचाल्न खनेको खाल्डोमा यतिखेर अग्रवाल आफैं पनि परेका छन्। स्रोतका अनुसार अग्रवालका पिता जयप्रकाश र पत्नी मीताका नाममा मात्र १ लाख ४३ हजार कित्ता सेयर छ। यसबाहेक उनले अरु आफन्तका नाममा किनेको सेयर पनि बेच्न नपाएपछि लगानी होल्ड हुन पुगेको छ।
अग्रवालले कर्णाली विकास बैंकको सेयर मूल्य माथि जानुमा आफ्नो संलग्नता अस्वीकार गरे। ‘कर्णालीमा मेरो नाममा जम्मा ५० कित्ता सेयर छ। अनि मैले कसरी मूल्य तलमाथि गर्ने कुरा हुन्छ?,’ उनले भने, ‘मेरो आफन्तहरुको नाममा कर्णालीको सेयर छ। तर कति छ भनेर मैले अरुको सम्पत्तिबारे सोधखोज गर्ने कुरा भएन। पितासँग अंशबण्डा गरेको १० वर्ष भइसकेको छ। पत्नीसँग छोडपत्र गरेको पनि ८ वर्ष भयो।’
अग्रवालको उक्साहटमा लागेर महँगो मूल्यमा सेयर किन्नेहरु फस्न पुगेका छन्।संकटग्रस्त अवस्थाको कम्पनीको सेयर मूल्य जथाभावी उचालिएको विषय नियामक निकायले नहेर्दा सर्वसाधारण लगानीकर्ता भिक्टिम भएको जानकारहरु बताउँछन्।
‘बजारमा कारोबार भएपछि सामान्य लगानीकर्ताले सेयर खरिद गरिहाल्छन्। त्यसमा नियामक निकायहरुले सचेत गराउनुपर्छ। तर, राज्यका निकायले हेरेनन्। यो सेबोन, राष्ट्र बैंकको कमजोरी हो,’ सीडीएस एण्ड क्लियरिङ लिमिटेडका पूर्वसीइओ पूर्ण आचार्यले भने, ‘कर्नरिङ गर्ने र बजारमा खेल्ने मान्छेलाई थाहा हुन्छ। उनीहरुले मूल्य उचालेर कमाए। तर, त्यसको झड्का लगानीकर्तालाई लाग्यो। किनेको सेयर बेच्न पाएनन्।’
कर्णाली डेभलपमेन्ट बैंकको पब्लिक सेयर धेरै हुने सेयरधनी
सेयरधनीको नाम | सेयर कित्ता संख्या |
सबिता अग्रवाल | १,३९,६७१ |
जयप्रकाश अग्रवाल | १,२०,२१७ |
उषाकिरण चुके | ७८,०४० |
ज्योति अग्रवाल | ५७,८५२ |
महेशलाल बतास | ५५,८६६ |
सिर्जना शर्मा | ३१,१४७ |
सिद्धान्त सेढाइँ | २७,४०० |
विनयकुमार तोदी | २३,०७४ |
मीता मुरारका अग्रवाल | २३,०१४ |
ज्ञानराज खत्री | २१,४९५ |
डिल्लीराम पंगेनी | १५,५०९ |
विकास पोखरेल | १४,१८५ |
धिरज भण्डारी | १३,५४० |
मनदीप सुवेदी | १२,८७२ |
दिनेश डंगोल | १२,६०८ |
स्वाती पन्सारी | १२,४८० |
महेश महर्जन | ११,१०० |
अम्बिका घिमिरे पौडेल | ११,००० |
सुरेश कठायत | ११,००० |
जयप्रकाश अग्रवाल | १०,७५० |
विशालकुमार अग्रवाल | १०,००० |
शिवरतन अग्रवाल | ९,९६१ |
दीपशिखा धितोपत्र करोबार कम्पनी प्रालि | ९,९२९ |
ललित अग्रवाल | ९,८८९ |
पार्वती पंगेनी पौडेल | ९,८५० |
सनलाइफ क्यापिटल लिमिटेड | ९,८१७ |
ईश्वरराज गिरी | ९,७०० |
ज्योति अग्रवाल | ९,४३५ |
सुमनकाजी डंगोल | ८,००० |
सरिता अग्रवाल | ७,७३४ |
तेजस्वी कार्की | ७,६४१ |
दिलबहादुर बस्नेत | ७,६०५ |
प्रदीप ढकाल | ७,४८० |
शुभकामना सेक्युरिटिज प्राइभेट लिमिटेड | ७,४१४ |
डिल्लीराम पंगेनी | ७,३८२ |
ओमबहादुर भण्डारी | ६,९८५ |
होम कुमारी कार्की | ६,८२४ |
पूर्णकेशरी श्रेष्ठ | ६,७६४ |
नासा सेक्युरिटी कम्पनी | ६,६६५ |
इलाइट मर्चेन्ट क्यापिटल लिमिटेड लिमिटेड | ६,५४२ |
हिमालय मानन्धर | ६,५०० |
ज्योति सापकोटा | ६,५०० |
रविनकुमार श्रेष्ठ | ६,२७० |
रामदास महर्जन | ६,२५९ |
ब्लू चिप सिक्युरिटिज लिमिटेड | ६,१३४ |
सीमा घिरैया | ६,१०४ |
साउथ एशियन बुल्स प्रालि | ६,०७२ |
आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि | ६,०१६ |
निरज कुमार अग्रवाल | ६,००० |
राधादेवी डंगोल | ५,८८५ |
सुशिला सापकोटा | ५,८२९ |
भास्कर अग्रवाल | ५,७१५ |
विक्रम श्रेष्ठ | ५,७०० |
पदम भट्टराई | ५,५०० |
अर्जेश केसी | ५,४४० |
तिलक थापा | ५,३८८ |
महेन्द्रराज सुवेदी | ५,२९९ |
जयप्रकाश अग्रवाल | ५,०७० |
विनोद महर्जन | ५,०३० |
संस्कृति अग्रवाल | ५,००० |
ज्ञानेन्द्रराज पौडेल | ५,००० |
डिम प्रसाद पौडेल | ५,००० |
कारोबार रोक्का राख्दा महँगो मूल्यमा किनेका लगानीकर्ताको रकम लामो समय होल्ड हुनेछ। तर बैंकको सेयर कारोबार खुला गर्दा फेरि सकारात्मक सर्किट लाग्ने डर नियामकहरुलाई छ। त्यसैले राष्ट्र बैंकले व्यवस्थापनको जिम्मेवारी बैंकलाई नै नदिएसम्म कारोबार खुला गर्न नहुने सेबोनका कर्मचारीको तर्क छ।
‘लगानीकर्ताको हितलाई हेरेर सेबोनले कम्पनीको सेयर कारोबार रोक्ने निर्णय गरेको हो। बैंकको वित्तीय अवस्थामा सुधार आएर नेपाल राष्ट्र बैंकले व्यवस्थापनको जिम्मेवारी हस्तान्तरण नगरेसम्म हामी सेयर कारोबार खुलाउने पक्षमा छैनौं,’ सोबोनका एक उच्च अधिकृतले भने।
बैंकको सेयर रोक्का/फुकुवाको निर्णय सेबोनकै क्षेत्राधिकारभित्र रहेकाले यस विषयमा आबफूले केही गर्न नसक्ने राष्ट्र बैंकको भनाइ छ।
‘राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन नियन्त्रणमा लिएपछि सेबोनलाई जानकारी गराएको हो। सेयर कारोबार रोक्का/फुकुवाको विषयमा निर्णय गर्ने सेबोनले नै हो,’ राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले भने।