काठमाडौं। ‘६ महिनापछि पैसा पाउनेगरी अहिले तपाईंको सेयर १८०० रुपैयाँमा दिनुहुन्छ?’ नेपाल फाइनान्सको सेयर मूल्य दुई सातामै १ हजार १११ रुपैयाँले घटेर १५०० मा आएपछि दीपेन्द्र अग्रवालले एक लगानीकर्तालाई प्रश्न गरे।
ती लगानीकर्ताले अग्रवालले भनेकै आधारमा एक महिनामा कम्पनीको मूल्य ५ हजार रुपैयाँ पुग्छ भनेर प्रति कित्ता २२०० रुपैयाँमा किनेका थिए। तर, अहिले घटेर १५०० रुपैयाँमा आउँदा उल्टै ठूलो रकम गुमाएको भन्दै सामाजिक सञ्जाल क्लब हाउसमा अग्रवालसँग ती लगानीकर्ता निराशा व्यक्त गर्छन्।
‘म सानो इन्भेष्टर हो। मसँग धेरै कित्ता सेयर छैन। एक महिनामा ५ हजार रुपैयाँ पुग्छ भनेर किनेको थिएँ। तर, अहिले उल्टै घट्यो,’ लगानीकर्ता भन्छन्।
त्यसपछि अग्रवालले कम्पनीको जति कित्ता सेयर भएपनि ६ महिनापछि पैसा फिर्ता दिनेगरी भेट्न आफ्नो अफिस आउन भन्छन्।
‘एक कित्ता होस् कि एक लाख कित्ता होस् भोलि बिहान मेरो अफिस आउनुहोला। १२ बजेपछि आए म इन्टरटेन गर्न सक्दिन,’ उनले ती लगानीकर्तालाई जवाफ दिन्छन्।
क्लब हाउसमा दीपेन्द्रले लगानीकर्तालाई अस्वाभाविक रुपमा लोभ देखाउँदै नेपाल फाइनान्सको सेयर किन्न लगाएका थिए। दीपेन्द्रको पछि लागेर नेपाल फाइनान्सको सेयर किनेका लगानीकर्ताले अहिले एक कित्तामै ११ सय रुपैयाँसम्म गुमाइसकेका छन्।
स्रोतका अनुसार दीपेन्द्रले केही कम्पनीको सेयर भाउ अस्वाभाविकरुपमा माथि पुर्याउने योजना पहिला नै ब्रोकर कम्पनीलाई दिन्थे। त्यही आधारमा ब्रोकरले लगानीकर्तालाई सूचना दिन्थे। बजार माथि उठाउन वा कुनै कम्पनीको सेयर बढाउन दीपेन्द्र र यस्तै समूह हाबी थिए। त्यही जालझेलमा लगानीकर्ता परे।
यो फाइनान्सको सेयर लगातार घटेपछि दीपेन्द्रको भनाईका आधारमा लगानी गर्ने सयौं लगानीकर्ताले गुमाएका छन्। सामाजिक संजालमा जथाभावी रुपमा सेयर बजार तलमाथि गर्ने समूहसँग आश्वस्त बन्ने र कम्पनीको वास्तविक अवस्थालाई नजरअन्दाज गर्ने प्रवृतिले उनीहरुको लगानी फसेको हो। नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन)जस्ता संस्थाको कमजोर उपस्थितिले पनि लगानीकर्ता अनाहकमा फस्ने अवस्था आइलागेको हो।
नेपाल फाइनान्सको सेयर लगातार घटिरहँदा पनि उनै दीपेन्द्रले लगानीकर्तालाई लोभ्याउन छाडेका छैनन्। अग्रवालले बजार अहिले २७०० मा रहेको र ६ महिनापछि बजार बढ्दा कम्पनीको सेयर भाउ ५ हजार पुग्ने दाबी गरिरहेका छन्। उनले कम्पनीको सेयर १८०० रुपैयाँका दरले आफैंले लिइदिने र ६ महिनापछि पैसा दिने भनेर अरुलाई कम्पनीको सेयरमा लोभ्याउने प्रयास जारी राखेका छन्।
त्यसपछि उनी घोषणा गर्छन्, ‘जति पैसा नाफा हुन्छ त्यसलाई दीपेन्द्र अग्रवाल फाउन्डेसनमा लगाउनेछु। नाफा हुँदा फान्डेसनको हुनेछ, घाटा भए दीपेन्द्र अग्रवालको।’
नेपाल फाइनान्सको सेयर मूल्य साउन २९ गते २६१४ रुपैयाँ पुगेको थियो। कम्पनीको यो सेयर मूल्य हालसम्मकै उच्च हो। यस दिन ३६ हजार ९४३ कित्ता सेयर ८१ करोड ९९ लाख ४० हजार रुपैयाँको सेयर किनबेच भयो।
तर, मूल्य घट्ने सुरुवात यही विन्दुबाट भयो। त्यसदिन कम्पनीको सेयर मूल्य ९.९३ प्रतिशत अर्थात प्रति कित्ता २४० रुपैयाँले घट्यो।
अघिल्लो दिन साउन २८ गते कम्पनीको सेयर मूल्य ७.८५ प्रतिशतले बढेर २४१८ रुपैयाँ पुगेको थियो। तैपनि अधिकांश लगानीकर्ताले खरिद गरे। ३ लाख ९७ हजार ५३५ कित्ता सेयर ८४ करोड ३६ लाख ९५ हजार रुपैयाँमा किनबेच भयो।
बजार उकालो लाग्दा कम्पनीको सेयर मूल्य साउनमा २० कारोबार दिनमध्ये १४ दिन बढ्यो। साउन १ गते ८९७ रुपैयाँ प्रति कित्ता सेयर मूल्य रहेको कम्पनीको भाउ कारोबारको २० दिनमै तीन गुणा पुग्यो। कम्पनीको सेयर मूल्यमा ८ दिन सकारात्मक सर्किट लाग्यो।
भदौ सुरु भएयता कारोबारको दुई सातामै कम्पनीको सेयर मूल्य १ हजार १११ रुपैयाँले घटेर १५०३ रुपैयाँमा झरेको छ। अर्थात उच्च विन्दुमा सेयर खरिद गर्ने लगानीकर्ताले ठूलो रुपैयाँ यस कम्पनीको सेयरमा गुमाएका छन्।
दीपेन्द्रले फाइनान्सको सेयर मूल्य बढाउन क्लब हाउसमा खरिदबिक्रीका लागि ग्रुप नै परिचालन गरे।
उनकै भनाइ अनुसार केही लगानीकर्ताले लगानी पनि गरे। तर, सेयर मूल्यमा आएको व्यापक गिरावटले उनको भनाइ सुन्ने लगानीकर्ता नै अहिले सबैभन्दा धेरै गुमाउनेमा परेका छन्।
‘दीपन्द्रको विश्वास गरेर नेपाल फाइनान्सको सेयर प्रति कित्ता २३०० रुपैयाँमा ५० कित्ता किनेको थिएँ तर अहिले बेच्नै सकिरहेको छैन,’ बजार उकालो लागेका बेला नेपाल फाइनान्सको सेयर किनेका एक लगानीकर्ताले भने, ‘कम्पनीको सेयर मूल्य ५ हजारसम्म पुग्छ भनेर किनेको थिएँ। उल्टै ८०० रुपैयाँ गुमाए।’
कम्पनीको एक वर्षअघि सेयर मूल्य २७० रुपैयाँसम्म झरेको थियो। एक वर्षमै करिब ९ गुणा अर्थात ८६८ प्रतिशत माथि पुग्यो। सूचीकृत १५ वटा फाइनान्स कम्पनीमध्ये नेपाल फाइनान्सको सेयर मूल्य अहिले पनि उच्च छ। कम्पनीको वित्तीय अवस्थामा सुधार आएर सेयर मूल्यमा व्यापक उलटफेर भएको होइन।
कम्पनीको प्रति सेयर आम्दानी २.४८ रुपैयाँ छ। प्रति सेयर नेटवर्थ १३७.५२ रुपैयाँ रहेको कम्पनीले पोहोर १ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
अरु फाइनान्समा पनि चलखेल
दीपेन्द्रले नेपाल फाइनान्स मात्रै नभएर अरु फाइनान्स कम्पनीकै पनि सेयर मूल्य खरिद बिक्रीका लागि केही लगानीकर्तालाई उक्साए।
फाइनान्स कम्पनीको सेयर मूल्य बढाउन क्लब हाउसमा यही समूह सक्रिय भएर लाग्यो। समूहमा आवद्ध केही लगानीकर्ता कम्पनीको सेयर मूल्य बढाउन र घटाउन सामूहिक रुपमै लागे।
बजार उकालो लाग्दा खराब वित्तीय अवस्था भएकै कम्पनीको सेयर मूल्यमा अस्वाभाविक उछाल आउन थालेपछि सांसद अमरेश कुमार सिंहले प्रतिनिधि सभाको बैठकमै दीपेन्द्रमाथि कारबाहीको माग गरे।
उनले कम्पनीको सेयर मूल्य कृतिम रुपमा बढाइएको बताए। त्यस्तै, संसदीय समितिमा पनि केही कम्पनीको सेयर मूल्यमा अप्रत्यासित उतारचढाव देखिएको भन्दै सांसदहरुले प्रश्न उठाए। तर, सेयर बजारका नियामक सेबोन र नेप्सेले चलखेल गरेर सेयर मूल्य बढाउन सक्रिय समूहबारे खोजी गरेनन्।
फाइनान्सको सेयर मूल्य बढाउन लागेका तिनै दीपेन्द्रले आफूसँग नेपाल फाइनान्सको १० कित्ता बाहेक सेयर नै नभएको दाबी गरेका छन्।
‘क्लब हाउसको सेसनलाई केही व्यक्तिले काटेर हाले। बजारमा बियरिस समूह पनि छ। कम्पनीको सेयर किन्ने बित्तिक्कै बुल र बेचिसकेपछि बियर भन्छन्,’ उनले बिजमाण्डूसँग भने, ‘मसँग नेपाल फाइनान्सको १० कित्ता भन्दा बढी सेयर छैन। म आफ्नो अनुभव सेयर गरिरहेको हुन्छु। किन्नुस् वा बेच्नुस् भनेको छैन।’