
काठमाडौं। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र किचलो चुलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ र २०७८ जेठ ७ गरी दुई पटक संसद् विघटन गरे। दुवै पटक सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्यो।
राजनीतिक अंकगणितका हिसाबले आफू कमजोर बनेको थाहा पाउन साथ ओलीले त्यति बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालमाथि प्रहार केन्द्रित गरे। आलोचकमाथि टिप्पणी गर्न कुनै कसर बाँकी राखेनन्। अमर्यादित भाषा शैली अपनाउन समेत ओली पछि परेनन्।
आफैं सरकार चलाइरहेका ओलीले प्रचण्ड-नेपाललाई काउन्टर दिन आफैंले सडकमा शक्ति प्रदर्शन गराए। प्रधानमन्त्री पद टिकाउन भएभरको शक्ति लगाए। तर, उनको सत्ता टिकेन। अन्ततः २०७८ असार २८ गते सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दियो, ओली सत्ताबाट बाहिरिए।
राजनीतिक समीकरणमा उतारचढाव आएसँगै तीन वर्षपछि २०८१ असार ३१ गते फेरि ओली नै प्रधानमन्त्री बने। सरकारमा पुगेको केही महिनासम्म ओली निकै संयमित देखिए। सार्वजनिक रूपमा तिखो टिप्पणीमा उत्रिएनन्, लामो लामो भाषण गर्ने बानीलाई छरितो बनाए।

त्यति मात्रै होइन उनले आफ्नो पुरानो शैली बदले। अनावश्यक बैठक छलफल गरेनन्, प्रधानमन्त्री निवास बालुवाटारमा भन्दा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक/ छलफलको आयोजना गरे। कर्मचारी प्रशासनलाई चुस्त बनाउन केही प्रयास पनि गरे। सत्ता साझेदार दल कांग्रेस नबिच्कियोस् भन्नेमा सुरुमा ओली सचेत देखिए।
तर, सरकारको नेतृत्व गरेको ९ महिनापछि ओली २०७७/०७८ कै शैलीमा फर्किएका छन्। सरकारी नियुक्तिमा मनपरी गरेको आरोप ओलीमाथि कांग्रेस नेताले लगाएका छन्। सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा विदेश भ्रमणमा रहेकै बेला कांग्रेसका तर्फबाट राज्यमन्त्री रहेका पूर्णबहादुर तामाङलाई ओलीले बर्खास्त गरे। विद्युत् प्राधिकरणका प्रबन्धन निर्देशक कुलमान घिसिङलाई हटाउँदाको कांग्रेसभित्रको आक्रोश ओलीमाथि खनिरहेको छ। राष्ट्र बैंकको गभर्नरमा पनि आफू अनुकूल मान्छे ल्याउन खोजेको भन्दै कांग्रेस रुष्ट छ। सिफारिस समिति सदस्य विजयनाथ भट्टराईले राजीनामा गरेपछि गभर्नर नियुक्ति झनै पेचिलो बनेको छ। जसले एकातिर ओलीको हतोत्साहित मनस्थिति देखाउँछ भने अर्कोतिर कांग्रेससँगको गठबन्धन संकटउन्मुख भएको जनाउ।
आफैं सडकमा, आफैं सत्तामा
बिहीबार मात्रै एमालेले भृकुटीमण्डपमा ‘युथ सेलिब्रेसन’ गरेर शक्ति प्रदर्शन गर्ने प्रयास गरेको छ। ओलीले ‘सरकारको धेरै चिन्ता नगर्न’ भन्दै आफू नेतृत्वको सरकारलाई सकेसम्म जोगाउने नभए प्रतिपक्षको भूमिका निभाउने सन्देश दिएका छन्। चुनावको तयारीमा जुट्न ओलीले निर्देशन नै दिए।
ओली सत्ता सहयात्री कांग्रेस नेताहरूको सरकारविरुद्ध चर्को आक्रोशका कारण अप्ठेरोमा छन्। बिहीबार मात्रै कांग्रेस महामन्त्री गगन थापाले सरकारबाट कांग्रेस बाहिरिन सक्ने संकेत गरेका थिए। दैनिक सडकमा हुने प्रदर्शनका कारण पनि ओली दबाबमा छन्। सत्ता अप्ठेरोमा पर्दा ओलीले विभिन्न नाममा शक्ति प्रदर्शन गर्ने गरेका छन्। जुन ओलीको पुरानै शैली हो।

समकालीन नेतामाथि तिखो टिप्पणी
पहिलेझैं ओलीले समकालीन नेताहरूमाथि तिखो टिप्पणी गर्न थालेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाबारे खासै केही टिप्पणी नगरेको भए पनि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालमाथि रोष व्यक्त गरिरहेका छन्। ‘दिनदिनै सरकार ढल्छ भनेर हिँडिरहेका छन्। सरकारबारे अनेक भ्रम फैलाइएको छ,’ प्रचण्डबारे ओलीले बिहीबार भने।
आफूलाई साथ नदिएपछि ओलीले आफ्ना समकालीन नेताहरूको चर्को आलोचना गर्ने गरेका छन्। जसले ओलीमाथि आइपरेको संकटलाई जनाउँछ।
आफ्नैहरुप्रति अविश्वास
ओलीले आफू निकट नेताहरूप्रति नै अविश्वास गर्न थालेका छन्। उनले आफू नेतृत्वको सरकारको बचाउमा नउत्रिएको भन्दै निकट नेताहरूबारे अविश्वास देखिने गरी अभिव्यक्ति दिइरहेका छन्। ओलीले ‘आफूलाई विश्वास नगरेर हो कि’ भन्दै एमाले नेताहरूलाई आफ्नो बचाउ नगरेकोमा गुनासो गरिरहेका छन्।
ओलीले लगातार आफ्नो बचाउमा उत्रिएका नेता रघुजी पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनाएका छन्। ओलीको सहयोग नपाएपछि विद्या भट्टराईले मन्त्रीबाट राजीनामा दिएकी थिइन।

नेतृत्वमाथि टिप्पणी गर्नेमाथि आक्रोश
एमालेको सक्रिय राजनीतिमा फर्कने तरखरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी छिन्। जसलाई ओलीले मन पराएका छैनन्। उनले आफ्नो विकल्प नखोज्न सार्वजनिक रूपमा चेतावनी नै दिएका छन्। आफू अर्को कार्यकाल पार्टी नेतृत्वका लागि फिट रहेको सन्देश पनि ओलीले दिइरहेका छन्। यसले ओलीको पार्टी र सत्ता दुवैमा आइरहेको संकटलाई प्रस्ट दर्साउँछ। अर्कोतिर भण्डारीले आफू एमालेको नेतृत्वका लागि तयार रहेको सन्देश दिएपछि ओली भण्डारीसँग रुष्ट छन्।
बालुवाटारलाई बनाए पार्टी कार्यालय जस्तै
सत्ता सम्हालेको सुरु-सुरुमा ओलीले अधिकांश कार्यक्रम सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा गरेका थिए। तर, पछिल्लो समय ओलीले सिंहदरबारमा आक्कल-झुक्कल मात्रै छलफल गर्छन्। सरकारी कर्मचारीसँग केही छलफल गर्नुपर्ने अवस्थाबाहेक प्रधानमन्त्री निवास बालुवाटारमै आफ्ना गतिविधि गरिरहेका छन्। ओलीले नेकपाकालमा पनि बालुवाटारमै राति-रातिसम्म बैठक गर्ने गरेका थिए। अहिले पनि ठिक त्यसरी नै बालुवाटारमा बैठक गरिरहेका छन्।

विश्लेषक भन्छन्: गठबन्धन अप्ठेरोमा परिसक्यो
ओली नेतृत्वको सरकार संकटमै परेका गतिविधि त देखिएकै छन्। दुवै पार्टीको आन्तरिक तयारीलाई हेर्दा पनि अब सरकार धेरै दिन टिक्न नसक्ने विश्लेषण हुन थालेको छ। जसको मुख्य कारण अरू नभई स्वयं ओली भएको राजनीतिक विश्लेषक नारायण ढकालले बताए।
‘ओलीले गठबन्धनको कल्चर देखाएनन्। अलि बढी नै जवाफ दिइरहनुभएको छ। उहाँको हाउभाउ हेर्दा मात्रै पनि के भन्न सकिन्छ भने अब गठबन्धन अप्ठेरोमा परिसक्यो। कांग्रेसका शीर्ष नेताहरूले त भनिनै सके सरकारबारे। एमालेभित्र पनि त्यस्तै छ,’ उनले भने।
ढकाल ओलीको शैली अराजनीतिक बन्न थालेको बताउँछन्। ‘उहाँ अली अराजनीतिक देखिन थालेको हो कि जस्तो देखिन्छ। हुन त अब आउने विकल्प पनि त्यति राम्रो देखिन्न,’ उनले भने।