अर्थमन्त्री पौडेलको असफल चिकित्सा : एन्टिबायोटिक चाहिने अर्थतन्त्रमा सिटामोल पनि गरेनन् प्रयोग

सुदर्शन सापकोटा
२०८१ कात्तिक १४ गते १४:०२ | Oct 30, 2024
अर्थमन्त्री पौडेलको असफल चिकित्सा : एन्टिबायोटिक चाहिने अर्थतन्त्रमा सिटामोल पनि गरेनन् प्रयोग

काठमाडौं। रंगीचंगी ढाका टोपी र चौडा मुस्कान- अर्थमन्त्री विष्णु पौडेलको पहिचान बनेको छ। खैरो कोट, रातो टाई र परम्परागत ढाका टोपीमा सजिएका पौडेल जहाँ पुग्छन्, त्यहाँ उनको हाँसो पहिले पुग्छ। 

Tata
GBIME
NLIC

अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा भाग लिन जानुअघि सिंहदरबारस्थित अर्थ मन्त्रालयको भर्‍याङबाट ओर्लँदै उनले केही व्यवसायीहरुसँग त्यही चिरपरिचित मुस्कानसाथ सोधे- अलिक सुधार भएको छ नि अर्थतन्त्रमा होइन?

अर्थतन्त्रको गति नै बढाइ दिने दसैंतिहारजस्ता चाडपर्वमासमेत उपभोक्ता माग सुस्त छ। व्यापारीहरू ग्राहक कुरिरहेका छन्। बैंकहरूमा तरलता त प्रशस्त छ, तर ऋण लिने आँट कसैले गरिरहेको छैन। राजस्व संकलन लक्ष्यभन्दा निकै तल छ। आयात र निर्यात दुवै घटिरहेको छ।

उनको कार्यकक्षमा प्रथम अर्थमन्त्री सुवर्ण शम्शेरदेखि हालसम्मका सबै अर्थमन्त्रीको तस्वीर टाँगिएको छ। उनको तस्बिर अझ हँसिलो छ। तर, त्यो तस्वीरमुनि थुप्रिएका फाइलले समस्याको समाधान कुरिरहेका छन्। 

उनको पहिलो कार्यकालमा, जब अर्थतन्त्र तुलनात्मक रूपमा सहज थियो, यस्तै मुस्कानले काम गर्थ्यो। तर,अहिले? 

‘अर्थमन्त्री पौडेल अहिले पनि त्यही पुरानो शैलीमा हुनुहुन्छ,’ पौडेल यसअघि अर्थमन्त्री हुँदा उनीसँग निकट भएर काम गरेका एक अर्थशास्त्रीले भने, ‘तर अहिलेको चुनौती पहिलेको भन्दा फरक छ। यसलाई सामान्य सिटामोलले हल गर्न सकिँदैन, एन्टिबायोटिक चढाउनु पर्ने छ। त्यसमा उहाँको विशेषज्ञता पुगेको छैन।’

नेपालको अर्थतन्त्र विचित्र विरोधाभासमा छ। विदेशी मुद्रा सञ्चिति बढेको छ। हालसम्मकै उच्च २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ सञ्चिति पुगेको छ। तर, यो वृद्धि आयात घटेर भएको हो, विकास बढेर होइन। बैंकहरूमा पैसा छ, तर लगानी छैन। बजारमा माल छ, तर किन्ने मान्छे छैनन्।

अर्थमन्त्रीले अहिलेका समस्या हल गर्न ठोस कदम चालेकै छैनन्, कर्मकाण्डमा रमाइरहेका छन्। उनले जुन लोकप्रियतावादी छवी बनाएका थिए, अहिलेको चरम संकटमा त्यो मेटिँदै गएको छ।  

‘साता दिनमै समस्या हल हुन्छ भन्ने हिसाबले उत्साहित भएर जसरी उनले चौथो पटक अर्थ मन्त्रालयको जिम्मेवारी लिने निर्णय गरे त्यो नै गलत थियो,’ ती अर्थशास्त्रीले भने, ‘थोरै मात्रै काम गर्न सकियो भने पनि ठूलो देखिन्छ भन्ने विश्वास उहाँसँग थियो। तर, यहाँ स्रोत नै अभाव भएका बेला त्यो ‘थोरै’ पनि गर्नका लागि व्यावहारिक ज्ञान आवश्यक पर्छ। जुन उहाँमा छैन।’

मन्त्री पौडेलले १०० दिनको उपलब्धि भनेर जुन बुँदा सार्वजनिक गरे, त्यसमा नियमित कामबाहेक केही थिएन। उनले अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठनदेखि आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयनसम्मलाई उपलब्धिका रुपमा उल्लेख गरी कार्यप्रगति सार्वजनिक गरेका थिए।

अर्थमन्त्री पौडेलको सचिवालयले उपलब्ध गराएको विवरणमा राजस्व संकलन र पुँजीगत खर्च बढेको, ब्याजदर कम भएको, पूँजी बजार चलायमान भएको, विदेशी मुद्रा सञ्चिति र रेमिटेन्स वृद्धि भएको उल्लेख गरिएको छ।

अर्थमन्त्रीले उपलब्धिहरु गन्दै गर्दा चालु वर्षका तीन महिनामा सरकार लक्ष्य अनुसार राजस्व उठाउन असफल भएको तथ्यांक उनी मातहतकै निकायले सार्वजनिक गरेको छ।

वार्षिक लक्ष्यका आधारमा तीन महिनामा ३ खर्ब ५४ अर्ब राजस्व उठाउनुपर्नेमा सरकार १ खर्ब ६ अर्बले पछि परिसकेको छ। पुँजीगत खर्च बल्ल ९ प्रतिशत पुगेको छ।

निजी क्षेत्रबाट कर्जाको माग हुन नसकेकाले बैंकिङ प्रणालीमा तरलता थुप्रिएको छ। जसका कारण बैंकहरु निरन्तर ब्याजदर घटाउन बाध्य छन्। 

अर्थमन्त्री पौडेलले हरदम लगाइरहने ढाका टोपीका रंगहरू जस्तै विविध छन्- नेपालका अर्थतन्त्रका चुनौती। रंगीचंगी ढाका टोपी र चौडा मुस्कानले मात्र अर्थतन्त्रका जटिल समस्या समाधान हुने छैनन्। अर्थतन्त्र सुधारको झिनो संकेतसमेत देखिएको छैन। अर्थमन्त्री पौडेलको चौथो कार्यकाल निक्कै कठिन बनेको छ। 

सिटामोलले निको नहुने रोगलाई एन्टिबायोटिक चाहिएजस्तै- अर्थतन्त्रको यो विषम परिस्थितिमा मुस्कानभन्दा बढी, निक्कै बढी केही ठूलै समाधान चाहिएको छ।