काठमाडौं। गर्मी सिजनसँगै बजारमा कोल्ड ड्रिंक्सको माग बढ्छ। गर्मी छल्न बोतलका कोल्ड ड्रिंक्स् र आइसक्रिम उपभोक्ताको पहिलो रोजाइ बन्दै आएको हो। अब रोजाइमा परेको पेय पदार्थमा मोहीले ठाउँ पाइरहेको छ।
पछिल्ला वर्षहरूमा बहुराष्ट्रिय कम्पनीका पेय पदार्थसँग प्रतिस्पर्धा गर्दै मोही पनि उपभोक्ताको रोजाइमा पर्न थालेपछि डेरी उद्योगमा फरक खालको चासो छ। यो चासो डेरी उद्यमीले विभिन्न प्याकेजिङमा बजारीकरण गरिरहेको मोहीले देखाएको हो।
बजारमा अहिले उपभोक्ताले कोल्ड ड्रिंक्सको सट्टा मोही रोज्न थाल्दा यसको बजार सम्भावना फराकिलो बनेको छ। मोही खाने चलन पहिलेभन्दा बढ्दै जाँदा यसको बजार लगातार फराकिलो हुने क्रममा रहेको डेरी व्यवसायीहरू बताउँछन्। माग आइरहँदा साना डेरीदेखि ठूला उद्योगसम्मले मोही उत्पादन गरी बिक्री गर्दै आएका छन्। पहिले पोकामा बिक्री हुने मोही अहिले ब्राण्डिङ गरेर बोतलमा बजारमा पठाउन थालिएको छ।
डेरी उद्योगहरूले उत्पादन गरेको ब्राण्डेड मोही सरकारी कार्यालय, सुपरमार्केट, होटल तथा कर्पोरेट क्षेत्रमा पुग्न थालेको छ। बिहे, पूजाआजाजस्ता सामाजिक कार्यक्रममा समेत कोल्ड ड्रिंक्सको सट्टा दही-मोही राख्ने चलन बढ्दै गएको छ।
बजारमा मोहीको माग बढ्न थालेपछि उद्योगीहरू पनि ब्राण्डिङतर्फ आकर्षित भएका छन्। हाल बजारमा खपत हुने ब्राण्डेड मोहीको यकिन तथ्यांक नभए पनि ४५ भन्दा बढी उद्योगले उत्पादन गरेको दैनिक करिब २ लाख २० हजार लिटर मोही खपत भइरहेको अनुमान गरिएको छ।
डेरी उद्योगहरूले मोही प्रवर्द्धनका लागि अभियानसमेत चलाइरहेका छन्। नेपाल डेरी एसोसिएसनले गत वर्षदेखि चैत २८ गते ‘राष्ट्रिय मोही दिवस’ मनाउन थालेको छ।
संघका कार्यालय सचिव कृष्णप्रसाद बास्तोलाले मोही खाने ट्रेन्ड उल्लेखनीय रूपमा बढेको बताए। उनका अनुसार डेरी उद्योग संघमा आबद्ध १० भन्दा बढी उद्योगले ब्राण्डिङ गरेर मोही बजारमा पठाइरहेका छन्।
‘हाल दैनिक १० देखि १५ हजार लिटर मोही बजारमा जाने गरेको छ। ब्राण्डिङ गर्न सकियो भने यसको बजार अझ राम्रो छ,’ उनले भने, ‘सरकारले मापदण्ड जारी गर्न बाँकी छ। मापदण्ड नहुँदा धेरै उद्योगले खुलेर ब्राण्डिङ गर्न सकेका छैनन्।’
उनका अनुसार मोहीको ‘सेल्फ लाइफ’ करिब सात दिनको हुने भएकाले लामो समय भण्डारण गर्न कठिन हुन्छ। स्पष्ट मापदण्ड बनेपछि थप उद्योग मोही ब्राण्डिङमा आउने अपेक्षा गरिएको छ।
बजारमा बढ्दो माग देखेर सुजल डेरीले पनि एक महिनाअघि ‘सफल मोही’ उत्पादन गरी बजारमा पठाउन थालेको छ। अन्य उद्योगहरू पनि ब्राण्डेड मोही बजारमा ल्याउने तयारीमा छन्।
नेपाल डेरी एसोसिएसनका महासचिव तथा पूर्वी नेपाल डेरीका सञ्चालक हेमचन्द्र खनालले मोहीको खपत निरन्तर बढ्दै गएको बताए। ‘पहिले खुला रूपमा बिक्री हुने मोही अहिले ब्राण्डिङ गर्दा थप बजार विस्तार भएको छ,’ उनले भने।

बजार बिस्तारलाई मध्यनजर गर्दै यतिबेला डेरी व्यवसायी सरकारी कार्यालयदेखि निजी र खुल्ला बजारसम्म मोहीको प्रवर्धनमा ध्यान दिइरहेका छन्। यसले कारोबारमा सकारात्मक असर परेको छ।
पहिले खुल्ला रुपमा बेचिने मोही ब्राण्डिङ गर्दा थप बजार बढ्दै गएको अनुभव छ। ब्राण्डिङ गर्दा उपभोक्ताले ५०० एमएल देखि एक लिटरसम्म खरिद गर्न सक्छन्। बोकेर हिड्न सजिलो हुन्छ। पोकामा पाइने मोही बोकेर हिड्न सम्भव हुँदैन। ब्राण्डिङ गरेको मोहीमा लेबलसहित उपभोक्ताले खरिद गर्न सक्ने भएकोले माग बढिरहेको खनालले सुनाए।’
‘मोही ब्राण्डिङ गरेर बजार बढाउन सकिन्छ भन्ने पहिले हाम्रो बजारलाई थाहा भएन,’ उनले भने, ‘अहिले बिक्री भइरहेको देखेपछि धेरै डेरी उद्योगहरुले राम्रो बोटल, लेबल र प्याकिङसहित बजारमा पठाइरहेका छन्।’ नेपाल डेरी एसोसिएसनमा आबद्ध घरेलु मझौला र ठुला उद्योगहरु गरी करिब ३५ वटाले मोही ब्राण्डिङ गरेर बिक्री गरिरहेको उनले बताए।

ती उद्योगहरुबाट ब्राण्डिङ गरेको करिब २ लाख लिटर मोही दैनिक बजारमा जाने गरेको छ। जसबाट दैनिक एक करोड ४० लाख रुपैयाँको कारोबार हुने गरेको महासचिव खनालले बताए। ‘मोहीको व्यापार मौसममा भर पर्छ। गर्मी भयो भने माग बढ्ने हो, चिसो भए बिक्री घट्छ,’ उनले भने।
उनका अनुसार ब्राण्डिङ गरेको मोही खुलाभन्दा केही महँगो छ। बोटल, प्याकेजिङ लगायतले गर्दा प्रति लिटर ७० देखि ८० रुपैयाँ पर्छ।
उपत्यका भित्रको मोही बाहिरको तुलनामा थप महँगो भएको उनले बताए। ‘बाहिरबाट दूध ल्याएर दही-मोही बनाउने भएकाले उपत्यकामा लिटरमा फरक पर्छ,’ उनले भने।
डेरी उद्योगीका अनुसार बजारमा मोहीको भाउ ठाउँ अनुसार फरक-फरक छ। उद्योगीले ब्राण्डिङ गरेको मोहीभन्दा खुल्ला मोही लिटरमा २० रुपैयाँसम्म महँगो पर्ने गरेको छ।

बागमती प्रदेशमा मोही ब्राण्डिङ गर्ने उद्योग धेरै
हाल बागमती प्रदेशमा मोही ब्राण्डिङ गर्ने उद्योग धेरै छन्। काठमाडौं उपत्यका, काभ्रे र हेटौंडा लगायत क्षेत्रमा मात्रै २० भन्दा बढी उद्योग सञ्चालनमा छन्।
यस्तै, कोशी प्रदेशमा ८ देखि ९ वटा, मधेशमा ३ वटा, गण्डकीमा ४ वटा, लुम्बिनीमा ३ वटा र सुदूरपश्चिम क्षेत्रमा करिब ३ वटा उद्योगले मोही ब्राण्डिङ गरिरहेका छन्। मोही ब्राण्डिङ गर्ने उद्योग थपिने क्रममा रहेको एसोसिएसनले जनाएको छ।
नेपाल डेरी एसोसिएसन र नेपाल डेरीमा आबद्ध उद्योगहरु मध्ये करिब ४५ भन्दा बढी उद्योगले मोही ब्राण्डिङ गरिरहेका छन्। मोहीलाई आकर्षक लेबलसहित बजारमा ल्याउने डेरी उद्योगहरु थपिने क्रममा रहेको एसोसिएसनले जनाएको छ।











