लप्सीफेदी सबस्टेसन ३ महिनाभित्र सक्न निर्माण व्यवसायीलाई कामु कार्यकारी निर्देशक श्रेष्ठको निर्देशन



बिजमाण्डू
२०८३ जेठ ३० गते २०:०७ | Jun 13, 2026
लप्सीफेदी सबस्टेसन ३ महिनाभित्र सक्न निर्माण व्यवसायीलाई कामु कार्यकारी निर्देशक श्रेष्ठको निर्देशन

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले लप्सीफेदी सबस्टेसन आगामी ३ महिनाभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।

Tata
GBIME
Nepal Life

आयोजना व्यवस्थापन निर्देशनालयका निर्देशक जुजुरत्न शाक्य, निर्देशक श्रीराम पोखरेलसहितको टोलीसहित लप्सीफेदी ४००/२२०/१३२ केभी सबस्टेसन तथा १३२/११ केभी चाँगुनारायण सबस्टेसनको स्थलगत निरीक्षण भ्रमणका क्रममा उनले यस्तो निर्देशन दिएका हुन्।

लप्सीफेदी सबस्टेसन संचालनसँगै काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणाली थप व्यवस्थित र भरपर्दो हुने भन्दै उनले आवश्यक जनशक्ति, उपकरण तथा स्रोत-साधन परिचालन गरी निर्माण कार्यलाई तीव्रता निर्देशन दिएका हुन्।

‘हालै सार्वजनिक भएको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ले देशभित्र विद्युत् खपत विस्तार, औद्योगिकीकरण, विद्युतीय यातायात र स्वच्छ ऊर्जाको प्रयोग वृद्धि गर्ने लक्ष्य लिएको छ,’ उनले भने, ‘यो सन्दर्भमा यस्ता उच्च क्षमताका सबस्टेसन तथा प्रसारण संरचनाहरूलाई समयमै सम्पन्न गर्नुपर्ने आवश्यकता छ।’

निरीक्षणका क्रममा उनले दुवै सबस्टेसनको निर्माण प्रगति, प्राविधिक अवस्था तथा संचालन तयारीबारे जानकारी लिएका थिए। उनले निरीक्षणका क्रममा सम्बन्धित अधिकारी तथा निर्माण व्यवसायीसँग पनि छलफल गरेका थिए।

लप्सीफेदी सबस्टेसनलाई खिम्ती-बाह्रबिसे-लप्सीफेदी ४०० केभी लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीको प्रमुख हबका रूपमा विकास गर्ने र जसबाट माथिल्लो तामाकोशी तथा भोटेकोशी करिडोरका विद्युतलाई काठमाडौं उपत्यकाका लोड सेन्टरहरूमा प्रभावकारी रूपमा आपूर्ति गर्ने प्राधिकरणको भनाइ छ।

साथै, एमसीए-नेपाल अन्तर्गतको लप्सीफेदी-रातमाटे ४०० केभी लाइनसँग समेत जोडिने भएकाले यो सबस्टेसन राष्ट्रिय तथा क्षेत्रीय प्रसारण सञ्जालको महत्त्वपूर्ण ४०० केभी हबका रूपमा विकसित हुने पनि प्राधिकरणको भनाइ छ। उनले चाँगुनारायण १३२/११ केभी सबस्टेसनको निर्माण कार्यलाई पनि प्राथमिकता दिई कार्य गर्न निर्देशन दिए।