काठमाडौं। सन् २००७ को अक्टोबरमा सनफ्रान्सिस्को आयोजित एक सम्मेलनमा पुगेका सहभागी बास बस्न किफायती मूल्यको होटल खोज्दै भौँतारिन थाले। यो देखेर विश्वविद्यालय पढिरहेका ब्रेन चेस्की र जो गबियालाई आम्दानी गर्ने आइडिया फुर्यो। आफूहरु बसिरहेको अपार्टमेन्टलाई सस्तोमा भाडामा दिने उनीहरुले ‘अफर’ राखे।
म्याट्रेसमै सुत्नुपर्ने र खाजामात्र खुवाउने उनीहरुको अफर यति आकर्षित भयो कि इन्ड्रस्टिज डिजाइनर सोसाइटी अफ अमेरिकाले आयोजना गरेको उक्त सम्मेलनमा भाग लिन आएकाहरुले महँगा होटलको बुकिङ रद्द गरे। अनि उनीहरुको अपार्टमेन्टतिर ओइरिए।
ब्रेन र जो दुई भाइ अपार्टमेन्टको भाडा तिर्न पनि संघर्ष गरिरहेको समयमा यो जुक्तिले काम गरेको देखेपछि चेस्कीका पुराना रुममेट नथन ब्लेचरचक पनि यो समूहमा आबद्ध भए। त्यसपछि सुरु भयो बिजनेसको नयाँ आइडियामा काम। अनि सन् २००८ को अगस्टमा उनीहरुले एअरबीएनबीका रुपमा यो व्यवसायको औपचारिक सुरु गरे।
क्यालिफोर्नियाबाट फुरेको यो आकर्षक बिजनेस आइडिया एउटा समूह र सहरमा सीमित रहेन। अनलाइन नेटवर्कमार्फत संसारका विभिन्न सहरमा छिटो छिटो बिस्तार भयो। अहिले होम सेयरिङ अनलाइन प्लेटफर्म एअरबीएनबीको सूचीमा विश्वका २२० मुलुकमा ८० लाखभन्दा बढी फ्ल्याटहरु छन्। त्यो गणनामा नेपाल पनि पर्छ।
अमेरिकाको डेनभर, कोलोराडोमा बस्ने सिर्जना श्रेष्ठले यस्तै सुविधा काठमाडौंमा पनि भए त क्या गजब हुने थियो भन्ने सोचिन्। केही महिनाअघि काठमाडौं आउदा उनले जे सोचिन्, काठमाडौंमा त्यो पाइयो। बसाइका लागि होटलभन्दा घरकै वातावरणमा बस्न र खान मिल्ने। दुई हप्ता काठमाडौं बस्ने योजना बनाएकी श्रेष्ठले एअरबीएनबीबाटै लाजिम्पाटमा दुई बेडरुम केही मिनेटमै बुक गर्न सफल भइन्।
‘पहिला यस्तो सुविधा विदेशी पर्यटकका लागि मात्रै हो कि जस्तो लाग्थ्यो। अहिले नेपालीका लागि पनि सजिलै उपलब्ध रहेछ,’ श्रेष्ठले भनिन्, ‘दुई हप्ताको बसाइका लागि ३० हजार रुपैयाँमै आफूले चाहेजस्तो ठाउँ पाइयो।’
हेटौंडाका भुवन बानियाँले आफन्त बिरामी परेपछि काठमाडौं आउनुपरेको थियो। अस्पताल आउजाउ गर्न सहज हुने, परिवारलाई पनि सँगै राख्न सकिने ठाउँ खोज्दै गर्दा उनले एअरबीएनबीबारे जानकारी पाए। कलंकीमा दुई बेडरुम, एउटा किचेन र हलसहितको ‘ह्वाइट रुम’ भेटिएपछि उनको समस्या समाधान भयो।

‘सामान्य गेस्टहाउसमा एउटा कोठाकै दुई हजार रुपैयाँसम्म पर्छ। परिवारलाई मिलाएर बस्न गाह्रो हुन्छ, सानो बच्चाका लागि आवश्यक खाना पनि बनाउन पाइँदैन,’ बानियाँले भने, ‘एअरबीएनबीमा आफैंले खाना बनाउन मिल्यो। दुई बेडरुम भएको फ्ल्याट दिनको तीन हजार रुपैयाँमै पाइने रहेछ।’
नुवाकोटका रमेश लामाले पनि फरक उद्देश्यका लागि यस्तो सेवा रोजे। काठमाडौंमा आफन्त धेरै भएकाले छोराको विवाह यतै गर्ने योजना बनाए। उनले पार्टी प्यालेस वा होटलभन्दा लामो समयका लागि प्रयोग गर्न सकिने ठाउँ खोजे। खोज्दैजाँदा गोठाटारमा ‘ह्वाइट रुम’ उपयुक्त लाग्यो।
‘पार्टी प्यालेसमा एक दिनमा सकिने खर्चले महिनादिनसम्म घर नै लिएर विवाहका सबै विधि आरामले पुरा गरियो,’ लामाले भने, ‘आफन्त भेटघाट, लगनका दिन आउन नभ्याएकालाई टीका लगाउनेजस्ता कार्यक्रम पनि सहज रूपमा गर्न पाइयो। ह्वाइट रुम निकै उपयोगी लाग्यो।’
सिर्जना, भुवन र रमेशजस्तै अहिले विदेशबाट नेपाल आउने, नेपालबाट विदेश जाने तयारीमा रहेका, उपचार, अध्ययन, पारिवारिक काम वा घुमफिरका लागि काठमाडौं आउने धेरैले एअरबीएनबी रोज्न थालेका छन्।
एअरबीएनबी मूलतः एउटा अनलाइन प्लेटफर्म हो, जहाँ घरधनीले आफ्नो घर, फ्ल्याट वा कोठा छोटो अवधिका लागि भाडामा उपलब्ध गराउन सक्छन्। यात्रु वा सेवाग्राहीले वेबसाइट वा मोबाइल एपमार्फत आफूलाई उपयुक्त स्थान रोजेर बुकिङ गर्न सक्छन्। होटलजस्तै सेवा भए पनि यहाँ घरजस्तो वातावरण, किचेन र अन्य घरेलु सुविधा उपलब्ध हुने भएकाले विश्वभर यसको लोकप्रियता बढेको छ।
नेपालमा पनि काठमाडौंका गौशाला, दरबार स्क्वायर क्षेत्र, स्वयम्भू, बौद्ध, पाटन दरबार क्षेत्र, नयाँ बसपार्क, गोंगबु लगायत स्थानमा विदेशी पर्यटक लक्षित एअरबीएनबी सूचीकृत फ्ल्याटहरू प्रशस्त भेटिन्छन्। पछिल्लो समय भने विदेशी मात्र होइन, नेपाली ग्राहकलाई लक्षित गर्दै पनि काठमाडौंका चोक–चोक र गल्लीमा रहेका घरदेखि आधुनिक भवनसम्म एअरबीएनबी सेवामा सूचीकृत हुन थालेका छन्।
ह्वाइट रुम आक्रामक रुपमा बिस्तार
एअरबीएनबीको नेपाली संस्करण हो, ह्वाइट रुम। यसले गत साउनदेखि यो अवधारणालाई व्यावसायिक रूपमा अघि बढाएको हो। यसको संस्थापक हुन् शताक्षी मिश्र।
उनका अनुसार परिवारसहित बस्न सहज हुने भएकाले विवाह, व्रतबन्ध, उपचार, विदेश जाने वा विदेशबाट फर्कने व्यक्तिहरूले यो सेवा रुचाउन थालेका छन्।

‘फेमिलीका लागि निकै सहज भएकाले धेरैले मन पराउनुभएको छ,’ मिश्रले भनिन्, ‘अधिकांश कोठा प्रायः अकुपाइड नै हुन्छन्।’
हाल गोठाटार, कलंकी, सीतापाइला, बुढानिलकण्ठलगायत क्षेत्रमा सञ्चालन भइरहेको ह्वाइट रुम केही दिनभित्र अनामनगरमा पनि विस्तार हुँदैछ। मिश्रका अनुसार यो व्यवसाय सुरु गर्ने आइडिया भने आमाको उपचारका लागि भारतको नयाँदिल्ली जाँदा पाएको हो।
‘इन्दिरा गान्धी अस्पताल नजिक छोटो अवधिका लागि भाडामा पाइने फ्ल्याट देखेँ। नेपालमा पनि यस्तै सेवा आवश्यक होला भन्ने लागेर सुरु गरियो,’ उनले भनिन्, ‘पहिलो फ्ल्याटबाटै राम्रो प्रतिक्रिया आउन थालेपछि विस्तार गर्दै गयौं।’
हाल ह्वाइट रुमसँग स्टुडियो रुम, वान बीएचके र टु बीएचके गरी ५५ वटा फ्ल्याट सञ्चालनमा छन्।
काठमाडौंमा किपु अपार्टमेन्ट्स, होमिफाइ अपार्टमेन्ट, खिम अपार्टमेन्ट, दृष्टि अपार्टमेन्टजस्ता कम्पनीहरूले पनि यस्तै सेवा सञ्चालन गरिरहेका छन्। भान्सा, बेडरुम, हल, वासिङ मेसिन, फ्रिजदेखि घरमा आवश्यक अधिकांश सुविधा उपलब्ध हुने भएकाले यस्तो आवासीय मोडल लोकप्रिय बन्दै गएको छ।
होटल तथा गेस्टहाउसमा खाना खाने निश्चित समय र मेनुको सीमितता हुन्छ। तर एअरबीएनबीमा भने पाहुनाले आफ्नो आवश्यकता र समयअनुसार खाना पकाउन तथा खान सक्छन्। यही कारण परिवार, लामो बसाइ वा विशेष प्रयोजनका लागि आउनेहरूका लागि यो विकल्प आकर्षक बन्दै गएको छ।
एअरबीएनबी सञ्चालकहरूका अनुसार काठमाडौंका धेरै घरधनी अहिले व्यक्तिगत भाडावाल वा कार्यालयलाई फ्ल्याट दिनुभन्दा एअरबीएनबी सञ्चालन गर्ने कम्पनीहरूसँग दीर्घकालीन सम्झौता गर्न इच्छुक देखिएका छन्। व्यक्तिगत भाडामा दिँदा भाडा उठाउन समस्या हुने, मर्मतसम्भारको झन्झट हुनेजस्ता कारणले घरधनीहरू दर्तावाल कम्पनीलाई तीनदेखि पाँच वर्षसम्मका लागि भाडामा दिन थालेका छन्।

कतिपय घरधनी भने आफैं होस्ट बनेर आफ्नो घर वा फ्ल्याट एअरबीएनबीमा सूचीकृत गर्ने क्रम पनि बढ्दो छ। एअरबीएनबीमा सूचीकृत हुनु भनेको आफू होस्टका रूपमा दर्ता हुनु हो। यसका लागि एअरबीएनबीको वेबसाइट वा एपमार्फत होस्टमा साइन-इन गरी घरको विवरण, फोटो र सुविधासम्बन्धी जानकारी राखे पुग्छ।
काठमाडौंमा मात्रै करिब १,७०० घर तथा आवासीय इकाइ एअरबीएनबीमा दर्ता रहेको अनुमान छ। वासिङ मेसिन, फ्रिज, किचेन सामग्रीजस्ता आधारभूत सुविधा त हुन्छन् नै, कतिपय स्थानमा रासन व्यवस्थापन वा अन्य सहयोगका लागि सहायकको सुविधा पनि उपलब्ध गराइन्छ।
काठमाडौंपछि पोखरा, धुलिखेल, मनाङलगायत पर्यटकीय सहरमा पनि एअरबीएनबीमा दर्ता हुने घर तथा फ्ल्याटको संख्या बढ्दो छ। पर्यटनसँगै आन्तरिक यात्राको संस्कृति विस्तार हुँदै जाँदा यस्तो सेवाप्रति आकर्षण बढेको व्यवसायीहरू बताउँछन्।
यद्यपि, एअरबीएनबीमा सूचीकृत हुने क्रम बढे पनि यससम्बन्धी स्पष्ट सरकारी नीति तथा नियमन भने अझै पर्याप्त रूपमा विकास हुन सकेको छैन।
‘नेपालमा एअरबीएनबी अवधारणा करिब दुई दशकअघि नै भित्रिएको हो। सेवा सुरक्षित पनि छ,’ मिश्रले भनिन्, ‘तर विशेषगरी हाउजिङ कोलोनीभित्रका घर दर्ता गर्दा केही जटिलता आउँछ। यो नयाँ व्यवसायिक मोडल भएकाले सरकारले स्पष्ट नियम र मापदण्ड बनाइदिए अझ सहज हुने थियो।’
काठमाडौंमा सञ्चालित बिजनेस मोडल भने एयरबीएनबीले लोकप्रिय बनाएको ‘होम-सेयरिङ’ तथा ‘सर्ट-टर्म रेन्टल’ मोडलको स्थानीयकरणका रुपमा देखिएको छ। कतिपय होटल तथा गेस्ट हाउस भने ट्रेन्ड पक्रँदै एआरबिएनबीमा दर्ता हुने क्रम पनि बढेको देखिन्छ।









