
काठमाडौं। सामान्य अवस्थामा भन्दा दसैंमा अधिक खपत हुने जिरा र धनियाँको मूल्य घट्न थालेको छ। व्यापारीहरुका अनुसार जिरा प्रति केजी ६ सय रुपैयाँसम्म आइपुगेको छ। धनियाँ पनि प्रति केजी २०० रुपैयाँ हाराहारीमा पाइन थालेको छ।
खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बजारमा जिरा र धनियाँको भाउ घटेको बताए। ‘हाल बजारमा जिरा र धनियाँको आपूर्तिमा समस्या छैन। दसैंमा खपत बढी हुने भएपनि माग धान्ने मौज्दात छ,’ उनले भने, ‘दसैंमा मूल्य बढ्ला कि भनेर डराउनुपर्दैन। बरु मूल्य घटिरहेको छ।’
नेपालमा खपत हुने जिरामध्ये ९० प्रतिशत छिमेकी मुलुक भारतबाट आउँछ। गत वर्ष भारतमा उत्पादन निक्कै घटेपछि जिराको भाउ अकासिएर नेपाली बजारमा माघ महिनामा किलोको १४०० रुपैयाँसम्म पुगेको थियो। यस्तै उपभोक्ताले प्रति किलो धनियाँ खरिदमा ३५० रुपैयाँसम्म तिर्नुपरेको थियो।
यतिबेला भारतमा नै जिराको मूल्य घट्दै गएकाले नेपालमा भाउ सस्तिएको व्यापारीहरु बताउँछन्। बजारमा ब्राण्ड अनुसार जिरा र धनियाँको मूल्य फरक छ।
सामाखुशीस्थित गोर्खाली किराना स्टोरका सञ्चालक कृष्ण भट्टले जिरा र धनियाको अभाव नरहेको बताए। ‘जिराको मूल्य धेरै घटेको छ। धनियाँ पनि सस्तो भएको छ। तर, गरम मसलाको मूल्य भने बढिरहेको छ,’ भट्टले भने।
कतिपयले भने जिरा र धनियाँको पाउडर किन्ने गरेका छन्। नेपाल खुद्रा व्यापार संघका अनुसार अहिले प्रति किलो पाउडर जिरा ९५० रुपैयाँ र धनियाँ ३०० रुपैयाँ छ।
दसैंमा जिरा र धनियासँगै ल्वाङ, सुकुमेल, दालचिनी र मरिचको पनि माग बढ्छ। बजारमा हाल सुकुमेलको मूल्य प्रति केजी ४ हजार माथि छ। यस्तै प्रति किलो मरिच १६००, ल्वाङ १९०० र दालचिनी ७०० रुपैयाँ छ।