विराटनगर। मुलुककै ठूलो चेन सुपरस्टोर भाटभटेनीको २८ औँ स्टोर पोखराको तालचोकमा सञ्चालनमा आउने भएको छ। भाटभटेनी ग्रुपका अध्यक्ष मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङले सोमबार भवन निर्माणका लागि भूमिपूजन गरेका छन्।
पोखरामा न्युरोडपछि भाटभटेनीको यो दोस्रो स्टोर हुनेछ। अध्यक्ष गुरुङले ढिलोमा आगामी एक वर्षभित्र तालचोकमा सुपरस्टोर सञ्चालनमा आइसक्ने जानकारी दिए। उनका अनुसार आगामी ११ महिनाभित्र १२ रोपनी जमिनमा २ लाख २५ हजार वर्गफिटको ७ तले भवन तयार गरिनेछ। यसमा दुई तला बेसमेन्ट हुनेछन्।
सुपरमार्केटमा सिनेमा मल्टिप्लेक्स, फुडकोर्ट, चाइल्ड प्ले जोन लगायतका सुविधा पनि हुने उनले बताए। तालचोकको सुपरस्टोरले ३५० युवायुवतीलाई रोजगारी दिने गुरुङको भनाइ छ।
गुरुङले भाटभटेनीको पहिलो स्टोर २०४१ जेठ ४ मा काठमाडौंको भाटभटेनीमा सञ्चालनमा ल्याएका थिए। उनको २७ औं स्टोर झापाको दमकमा सञ्चालनमा छ।
यसपछि चितवनको रत्ननगर र काठमाडौँको हात्तीवनमा पनि सुपरस्टोर सञ्चालन गर्न जमिन खरिद भइसकेको उनले उल्लेख गरे।