गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न दुई दर्जन वायुसेवा कम्पनीको आवेदन

वसन्तराज उप्रेती
२०८१ भदौ ३ गते ०६:०८ | Aug 19, 2024
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न दुई दर्जन वायुसेवा कम्पनीको आवेदन


काठमाडौं। सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन कार्ययोजना सार्वजनिक गरेसँगै दुई दर्जन वायुसेवा कम्पनीले उडान गर्न चासो राखेका छन्।

Tata
GBIME

ती कम्पनीले नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्नका लागि नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार समेत गरेका छन्।

पछिल्लो समय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले आउँदो विन्टर सेडुलबाट नियमित उडान सुरु गर्ने योजना पेश गरिसकेको नागरिक उड्‍डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। योसँगै विज एयरले पनि भैरहवाबाट उडान गरिहाल्ने विषयमा पत्रचार गर्दै आएको उनले जानकारी दिए।

‘लामो समयदेखि जजिरा र विज एयरले भैरहवाबाट उडान गर्नका लागि केही सहुलियतको माग गर्दै आएका थिए। सरकारले उक्त माग पूरा गरिदिएको छ,’ भुलले भने, ‘यी बाहेक अरु कम्पनीले पनि पत्राचार गरिरहेका छन्।’

यो विमानस्थलबाटै नियमित उडानका लागि फ्लाइ दुबईका प्रतिनिधिले विमानस्थल अवलोकन गरिसकेको उनले जानकारी दिए। पछिल्लो समय भैरहवाबाट उडान संचालनका लागि थाइल्याण्ड बेस रहेको थाइ एयर एसियाको स्लट नै निश्चित भइसकेको छ।

यसैगरी, पोखराबाट नियमित व्यावसायिक उडानका लागि बङ्गलादेशको एयर अस्त्र, एयर चाइना, चाइना इस्टर्न लगायत विभिन्न चिनियाँ वायुसेवा कम्पनीले पत्राचार सुरु गरेको सूचना अधिकारी भुलले बताए।

कात्तिकबाट भैरहवामा उडान बढ्ने

सरकारले कार्ययोजना सार्वजनिक गरेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा संचालन गर्दै आएका अधिकांश वायुसेवा कम्पनी भैरहवामा आकर्षित भएका छन्। त्यसमा कात्तिकबाट त्रिभुवन विमानस्थल १० घण्टा बन्द हुने भएकाले उडान संख्या बढाउन सहयोग पुग्ने देखिएको छ।

‘यसअघि हामीले टीआइएको ट्याक्सी वे विस्तारका लागि १० घण्टा सेवा संचालन बन्द गर्ने र हाल भइरहेका उडान पोखरा र भैरहवाबाट गर्न वायुसेवालाई निर्देशन दिएका थियौँ,’ उनले भने, ‘तर केही वायुसेवा मात्र तयार भएका थिए। अब सरकारको विमानस्थल संचालन कार्ययोजना आएसँगै अधिकांश वायुसेवा पोखरा र भैरहवाबाट व्यावसायिक उडान गर्न अगाडि सरेका छन्।’

सरकारले यी दुई विमानस्थलबाट उडान संचालन गर्ने वायुसेवालाई ग्राउण्ड ह्याण्डलिङमा ७५ प्रतिशत, १००० रुपैयाँ असुल हुँदै आएको पर्यटक शुल्क पूर्ण मिनाहा, १३ प्रतिशत भ्याट नि:शुल्क, हवाई इन्धनमा प्रति किलोलिटर १०० अमेरिकी डलर मिनाहा लगायत व्यवस्था गरिसकेको छ।

‘यो कार्ययोजनाले कात्तिक-चैतसम्म हुने विमानस्थल ट्याक्सी वे विस्तारले भैरहवालाई सहयोग पुग्नेछ,’ भुलले भने।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा संचालन हुँदा अन्तर्राष्ट्रियतर्फ १०० र आन्तरिक तर्फ २७४ गरी कुल ३७४ उडान अवतरण हुँदै आएको छ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको २७ महिना भइसकेको छ। सुरुवाती चरणमा यहाँ कुवेतको जजिरा एयरवेजले उडान गरेपनि पछिल्लो एक वर्षदेखि नियमित उडान हुन सकेको छैन।