काठमाडौं। ६ वर्ष अगाडि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन र फेडेरेसन अफ एभिएसन एड्मिनीस्ट्रेसन (एफएए) को संपरीक्षणमा भारतको कमजोरी छताछुल्ल भयो।
नागरिक उड्डयन संस्थाको सुरक्षा दर ६३.६४, विमान संचालन सुरक्षा दर ८०.३४, पर्सनल लाइसेन्सिङ एण्ड ट्रेनिङ दर २५.५८, जहाजको एयर वर्दिनेस ९०.२०, एरोड्रोम एण्ड ग्राउण्ड एडदर ७२.३६ प्रतिशत देखिएपछि एफएएले यसलाई कमजोर सूचक मात्र भनेन, भारतलाई उड्डयन सुरक्षा सूचीको वरीयतामा पछाडि राखिदियो।
भारतीय नागरिक उड्डयन प्राधिकरण नियमनमा चुकेको परिणाम एफएएले वरीयता घटाइदियो। वायु सेवा प्रदायक कम्पनीहरुले हवाई जहाज अत्यधिक संख्यामा खरिद गरेर संचालनमा ल्याए। तर, नियामकले राम्रोसँग आफ्नो भूमिका निर्वाह गर्न सकेन। उसले आफ्नो क्षमता बढाएन। यो विषय उड्डयन सुरक्षामा गएर ठोक्कियो।
एफएएले वरीयता घटाइदिएपछि भारतीय नागरिक उड्डयन प्राधिकरणले आफ्नो कमजोरी पहिल्याउने काम गर्यो। इन्जिनियरिङ विभागमा समस्या देखियो। यस्तै पाइलटहरु पनि संस्थामा अडिन नमान्ने र चाँडै हिंड्ने गरेका कारण नियमनमा चुकेको निष्कर्ष निकालेर नयाँ रणनीति अपनायो।
इन्जिनियर र पाइलटलाई संस्थामा होल्ड गर्नका लागि सेवा सुविधा बढायो। आकर्षक सुविधासहित संस्थामा दक्ष इन्जिनियर र पाइलट भित्र्यायो। पुरानालाई अवकाश दियो। सुधारका लागि चालिएको कदमबाट संस्थाको काम कारबाहीमा ठूलो परिवर्तन भयो।
‘उड्डयन सुरक्षाका लागि राम्रा पाइलट र इन्जिनियर चाहिन्छ। उनीहरुलाई ल्याउन तलब १० हजार डलर दिन थालियो,’ नेपालका एक हवाइ विज्ञले भने, ‘त्यसपछि कम्पिटेन्ट जनशक्ति आउन थाले। उनीहरुले कम्पनीको अनुगमन राम्रोसँग गर्न थाले।’
एफएएले नै ४ वर्षपछि गरेको सम्परीक्षणमा नसोचेको नतिजा देखियो।
नागरिक उड्डयन संस्थाको सुरक्षा दर ६३.६४ बाट ७२.७३, विमान संचालन सुरक्षा दर ८०.३४ बाट ९७.४४, पर्सनल लाइसेन्सिङ एण्ड ट्रेनिङ दर २५.५८ बाट ८४.७१, जहाजको एयर वर्दिनेस ९०.२० बाट ९७.०६ प्रतिशत पुगेको पाइयो। यस्तै एरोड्रोम एण्ड ग्राउण्ड एड दर ७२.३६ बाट ९२.६८ प्रतिशत पुग्यो। कानुनी व्यवस्था र अपरेटिङ रेगुलेसन शतप्रतिशत् रहेको पाइयो।
सन् २०२१ अप्रिल २५-२६, अक्टोबर २५-२९ र २०२२ नोभेम्बर ९-१६ मा गरेको अडिटमा हरेक सूचकमा सुधारपछि भारत उड्डयन सुरक्षा सूचीमा ५५ औं स्थानमा उक्लियो। एफएएले ८ मध्ये ६ क्षेत्र अर्थात कानुनी व्यवस्था, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, अपरेसन, एयर वर्दिनेस र एरोडम्सको अडिट गरेको थियो।
अडिट अन्तर्गत दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एयरपोर्ट अथोरिटी अफ इण्डियाको कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्ससँगै स्पाइस जेट, चार्टर्ड अपरेटर इण्डो प्यासिफिक एभिएसनको निरीक्षण गरिएको थियो।
उड्डयन सुरक्षामा सुधार भएको एफएएको घोषणाले एयर इण्डिया, इण्डिगो लगायत वायुसेवालाई विश्वबजारमा आफ्नो बजार हिस्सा बढाउन सहयोग पुगेको छ। राष्ट्रिय ध्वाजावाहक एयर इण्डिया र बजेट वायुसेवा एयर इण्डिगोले अन्तर्राष्ट्रिय उडानका लागि १ हजार थान ठूला जहाजको अर्डर दिइसकेका छन्।
गत डिसेम्बरको तथ्यांक अनुसार भारतमा विभिन्न वायुसेवा कम्पनीले ७७१ जहाजमार्फत आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्। तीमध्ये ३४२ जहाज बजेट वायुसेवा कम्पनी इण्डिगोका हुन्।
भारतले सन् २०४० सम्म ३४ हजार पाइलट र ४५ हजार एरोनटिकल इन्जिनियर आवश्यक पर्ने प्रक्षेपण गरेको छ। हाल भारतमा पाइलट १० हजार छन्।
भारतले उड्डयन जनशक्तिका साथै पूर्वाधार विस्तारलाई पनि उत्तिकै महत्व दिएको छ। उसले अधिकांश विमानस्थलमा धावनमार्ग विस्तार योजना अगाडि बढाइसकेको छ। सन् २०३० सम्म प्रति घण्टा १०० उडान गराउने किसिमले विमानस्थल विस्तारको काम अगाडि बढाएको छ।
भारतमा हाल १४८ विमानस्थल संचालनमा छन्। यो संख्या सन् २०३० सम्म २३० पुर्याउने भारत सरकारको लक्ष्य छ। यसका लागि १५ खर्ब रुपैयाँ छुट्ट्याइएको छ।