
काठमाडौं। नेपालीका साथै भारतीय विद्यार्थीलाई लक्षित गर्दै अलायन्स फ्लाइङ स्कुल सञ्चालनमा आउन लागेको छ।
पोखराको पुरानो विमानस्थलमा आफ्नो बेस राखेर भरतपुर र मेघौली विमानस्थलमा उडान प्रशिक्षण दिने गरी फ्लाइङ स्कुल सञ्चालनमा आउन लागेको हो।
कम्पनीले अनुमतिका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको छ। मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग राय मागेको छ। मन्त्रालयले राय मागेपछि क्यानले अध्ययन थालेको छ।
‘अहिले हामीले नागरिक उड्डयन प्राधिकरणको राय मागेका छौं,’ मन्त्रालयका एक अधिकृतले भने,’प्राधिकरणले फ्लाइट ड्युरेसन टेस्ट गरेर प्रतिवेदन बुझाएपछि इजाजात पत्र दिइनेछ।’ अध्ययन गर्न क्यानलाई करिब दुई साता लाग्ने छ।
कम्पनीका अध्यक्ष वरिष्ठ क्याप्टेन प्रदीप श्रेष्ठ हुन्। उनीसँग उडान क्षेत्रमा तीन दशक लामो अनुभव छ। उनी हाल इथोपियन एयरलाइन्समा बोइङ ७७७ र बोइङ ७८७ को इन्स्ट्रक्टर पाइलटको रुपमा कार्यरत छन्।

यस्तो छ कम्पनीको योजना
कम्पनीका सञ्चालक त्रिलोक पाण्डेले पहिलो चरणमा २० करोड रुपैयाँ लगानी गर्न लागेको जानकारी दिए। उनका अनुसार सुरुमा दुई वटा सिंगल इन्जिन जहाज ल्याउने तयारी छ।
पोखरालाई बेस बनाएर भरतपुर र मेघौलीमा उडान प्रशिक्षणसँगै रिफ्रेसनल तालिम दिने कम्पनीको योजना रहेको पाण्डेले बताए। यसका लागि प्यारासुट सहितको सिंगल इन्जिन जहाज ल्याउने तयारी छ। कम्पनीले युरोपमा उत्पादित जहाजलाई प्राथमिकतामा राखेको छ।
कम्पनीले डायमोण्ड कम्पनीको डीए ५२ सिरिजको ७ जना क्षमताको जहाज ल्याउन लागेको हो। ‘हामीले २ थान जहाज अवलोकन गरेर आइसकेका छौं। मोटामोटी छलफल भइसकेको छ। हामी फ्लाइङ नहुँदा रिफ्रेसनल तालिम दिनेछौं। त्यसैकारण पोखरा छनोट गरेका हौं,’ पाण्डेले भने।
कम्पनीले पाँच वर्षको व्यावसायिक योजना बनाएको छ। एयर एम्बुलेन्स सेवासमेत दिने कम्पनीको योजना छ। जस अनुसार सुरुको २ वर्षमा २ वटा सिंगल इन्जिन जहाज, तेस्रो वर्षमा अर्को एउटा सिंगल इन्जिन जहाज र पाँच वर्षभित्र डबल इन्जिन जहाज ल्याउने योजना छ।

शुल्क ६० लाख
हाल मुलुकबाट वार्षिक करिब १०० विद्यार्थी पाइलट प्रशिक्षणका लागि दक्षिण अफ्रिका, अमेरिका, फिलिपिन्स लगायत देश जाने गरेका छन्।
पाइलट प्रशिक्षणका लागि प्रति विद्यार्थी सवा एक करोड रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ। पाइलट बन्न विद्यार्थी बाहिरिने क्रम देखेर पाण्डेले फ्लाइङ स्कुल सञ्चालनमा ल्याउन लागेका हुन्। कम्पनीले पाइलट बन्न चाहनेसँग ६० लाख रुपैयाँका दरले शुल्क लिनेछ।
बजेटमा पनि फ्लाइङ स्कुललाई प्राथमिकतामा राखिएको छ। नियमित उडान सञ्चालन नभएका विमानस्थललाई फ्लाइङ स्कुलका लागि प्रयोग गर्न दिने घोषणा सरकारले बजेटमार्फत गरेको छ।