नाडा अटो शोबाट नेपाली बजारमा इन्ट्री गर्दै आधा दर्जन ब्रान्ड, कसले के ल्याउदै छन्?

शुक्र गिरी
२०८१ असार १३ गते ०६:०० | Jun 27, 2024
नाडा अटो शोबाट नेपाली बजारमा इन्ट्री गर्दै आधा दर्जन ब्रान्ड, कसले के ल्याउदै छन्?

काठमाडौं। आगामी भदौ ११ देखि १६ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने ‘नाडा अटो शो २०२४’ मा यस पटक केही नयाँ ब्रान्डले नेपाली बजारमा इन्ट्री गर्दै छन्। जसमा लगभग एक दर्जनभन्दा बढी नयाँ ब्रान्डले आफ्ना गाडी राख्न स्टलसमेत बुक गरिसकेका छन्।

Tata
GBIME

हरेक वर्ष दसैंअघि हुने सवारी प्रदर्शनी नाडा अटो शो गाडी बिक्रेताहरुका लागि राम्रो अवसर हो। नयाँ ब्रान्ड र मोडलहरु ल्याएर ग्राहकलाई चिनाउने थलोको रुपमा लिइने यो मेलामा वर्षभरी व्यवसायीले बिक्री गर्ने ६० प्रतिशत गाडी बिक्री हुन्छन्।

यो पटक पनि गत वर्ष जस्तै विद्युतीय गाडीको वर्चस्वको सम्भावना उच्च छ। नाडा अटो शोमा राखिने गाडीहरु धेरैजसो चिनियाँ कम्पनीका विद्युतीय मोडल हुने गरेको छ। नेपालमा भित्रिने गाडीको बजार हिस्सामा पछिल्लो समय चिनियाँ कम्पनीको दबदबा छ। इभी उत्पादनका लागि अहिले चीन विश्वको अग्रणी मुलुक बनेको छ।

नाडा अटो शोमा यसपटक डङफेङको नामी, लिपमोटर, रिडारा, एक्सपेङ, अवतार, जीकर, भोल्टस्, काइवी जस्ता ब्रान्ड देखिने भएका छन्। जसमा प्यासेन्जर सेग्मेन्टमा केही पुराना ब्रान्डसहित २२ वटा ब्रान्डका गाडीहरु नाडाको स्टलमा प्रर्दशनीमा देख्न सकिनेछ। अहिले गाडी बिक्रेता कम्पनीहरुले नाडाका लागि नयाँ गाडी ल्याउन धमाधम एलसी खोल्न थालेका छन्।

जीकर

जीली अटोमोबाइल होल्डिङको इभी ब्रान्ड जीकर गाडी नेपाली बजारमा शारडा ग्रुपले ल्याउन लागेको हो। कम्पनीले यसको लागि नाडामा स्टल समेत बुक गरिसकेको छ। शारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पका रुपमा नाडामा स्टल बुक भएको छ। यो ब्रान्ड नाडा अटो शोको एच १५ नम्बरको स्टलमा देख्न पाइने छ।

यो ब्रान्ड जीली विश्व प्रसिद्ध बहुराष्ट्रिय कम्पनीसँग ज्वाइन्ट भेन्चरमा सवारी उत्पादन गरिरहेको चिनियाँ कम्पनी हो। चिनियाँ इभी बजारमा प्रभावशाली बनेको जीकर जीलीको आफ्नै ब्रान्ड हो। कम्पनीले पाइपलाइनमा धेरै मोडलका गाडीहरु उत्पादन गरेर बजारमा ल्याउने योजना बनाएको छ। तर, यसको हाल उत्पादन गरिएको जीकर एक्स मोडल मात्रै राइट ह्यान्ड ड्राइभमा बनाइएको छ। त्यसैले कम्पनीले यही मोडल नाडा अटो शोमा ल्याउने तयारी गरिरहेको छ।

जीकर राइट ह्यान्ड ड्राइभमा आएका कारण नेपाली बजारमा ल्याउन सहज भएको हो। केही समय अगाडिसम्म यसको राइट ह्यान्ड ड्राइभ नहुँदा नेपाल ल्याउन कम्पनीहरूमा त्यति चासो थिएन।

अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न कम्पनीले गाडीको एक्स मोडलमा राइट ह्यान्ड ड्राइभ दिएर उत्पादन सुरु गरेको हो। गत मार्चमा थाइल्यान्डमा आयोजना भएको बैंकक इन्टरनेशनल मोटर शोमा प्री-अर्डर खुल्ला गरिएपछि यो ब्राण्ड राइट ह्यान्ड ड्राइभमा आउने पक्कापक्की भएको थियो।

यो नयाँ कारको रियर ह्वील ड्राइभ भर्सनमा २०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। कम्पनीले हालै यसको २०२४ मोडललाई अल ह्वील ड्राइभ भर्सनमा समेत उतारेको छ। जसअनुसार अल हवील ड्राइभ अन्तर्गत यसको फ्रन्ट एक्सलमा ११५ किलोवाट क्षमताको अतिरिक्त मोटर राखिएको छ। कम्पनीले नेपाली बजारमा ११५ किलोवाट मोटर पावर भएको भेरियन्ट आउने छ।

कारमा ६६ किलोवाट आवरको सीएटीएल ब्याट्री जडान गरिएको छ। जसलाई फुल चार्ज गर्दा सिंगल मोटर भर्सनले ५६० किलोमिटर र अल ह्वील ड्राइभ भर्सनले ५०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ।

कारमा १४.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ८.८ इन्चको डिजिटल इन्स्ट्युमेन्ट प्यानल र हेड अप डिस्प्ले लगायत फिचर पाउन सकिन्छ। चिनियाँ बजारमा यसको मूल्य २७ हजार ६०० देखि ३० हजार ४०० डलरसम्म निर्धारण गरिएको छ।

अवतार

यो गाडी चौधरी ग्रुप र एमएडब्लु ग्रुपको जोइन्ट भेन्चरमा ल्याउने भए पनि यसको बिक्रीदेखि मार्केटिङ सबै चौधरी ग्रुपले मात्रै हेर्ने भएको छ। यसको मूल्य लगभग १ करोड ५० लाख रुपैयाँसम्म पर्नेछ। कम्पनीका अनुसार अवतार ११ मोडलको गाडी केरुङ आइपुगेको छ। कम्पनीले यसलाई नाडा अटो शोमा राख्ने गरी ल्याएको हो। यो ब्रान्डको गाडी नाडा अटो शोको स्टल नम्बर एच १३ मा देख्न सकिन्छ।

हुवावे, सीएटीएल र चांगनको संयुक्त लगानीमा विकास गरिएको अवतार प्रिमियम इभी ब्रान्ड हो। सन् २०१८ मा स्थापना भएको अवतार टेक्नोलोजी कम्पनीले त्यसको ४ वर्षपछि अर्थात सन् २०२२ मा पहिलो मोडल अवतार ११ ल्याएको थियो। सोही कार ‘राइट ह्यान्ड ड्राइभ’मा समेत आएपछि नेपाली बजारमा भित्रिन लागेको हो।

मिडसाइज एसयूभी सेगमेन्टको यो कार निकै आकर्षक छ। त्यस्तै सेडान सेगमेन्टमा अवतारको दोस्रो कार ‘अवतार १२’ २०२३ मा सार्वजनिक भएको थियो। सन् २०२५ सम्ममा अवतार टेक्नोलोजीले ४ नयाँ मोडल बजारमा ल्याउने जनाएको छ।

यो गाडी ४.८ मिटर लम्बाई र ह्वीलबेस २.९ मिटर लामो छ। यसमा अवतारको प्रिमियमनेस शोकेस एफ सेप्डको आइकोनिक एलईडी हेडलाइट क्लस्टर छ। यो प्रिमियम ईभीमा १५.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, र १०.२५ इन्चकै अर्को प्यासेन्जर डिस्प्ले राखिएको छ।

अवतार टेक्नोलोजी कम्पनी लिमिटेड सन् २०१८ मा स्थापना भएको हो। सुरुमा चाङगन र नियोबीच समान ५०/५० प्रतिशत हिस्सेदारी रहनेगरी संयुक्त कम्पनी बनेको थियो। तर त्यसको दुई वर्षपछि सो कम्पनीबाट नियोले हात झिक्यो। त्यसपछि चाङगनले ४०.९९ प्रतिशत हिस्सा आफूसँग राखेर सीएटीएललगायत विभिन्न सरकारी तथा अन्य कम्पनीलाई सेयर बिक्री गरेको थियो।

लिपमोटर

यो जीप जस्ता गाडी उत्पादन गरिरहेको स्टेलान्टिसको स्वामित्वमा रहेको स्टार्टअप कम्पनी हो। यो कम्पनीमा स्टेलान्टिसले १.५ अर्ब युरो लगानी गरेको छ। कम्पनीले २० प्रतिशत इक्वीटी स्टेक लिने गरी २०२३ मा सम्झौता गरेको थियो। उक्त रकम आर एण्ड डीमा खर्च गर्ने योजनामा छ। यस्तै न्यु इनर्जी भेहिकल उत्पादन गर्न उक्त लगानीलाई विस्तार गर्ने पनि कम्पनीको योजना छ।

यो कम्पनीसँग आफ्नै इन-हाउस आर एण्ड डी र म्यानुफ्याक्चरिङ क्षमता छ। कम्पनीले २०२३ मा ब्याट्रीको लागि डुअल मोडल लेआउट तथा एक्सटेन्डेड रेन्ज सार्वजनिक गरेको थियो। यसले ३ वटा मोडलको मास प्रोडक्सन गरेको छ। कम्पनीले २०२३ मा १ लाख ४४ हजार १५५ इभी बिक्री गरेको छ। 

जसमा यसको टी०३ मोडल नेपाली बजारमा एउटा घराना एमएडब्लु ग्रुपले ल्याइसकेको छ भने अर्को घराना शांग्रिला मोटर्सले पनि ल्याउने पक्का भएको छ। नाडा अटो शोमा शांग्रिला मोटर्सले यसको स्टल बुक गरिसकेको छ। कम्पनीले यसको टी ०३ र सी १० मोडल नाडामा ल्याउने तयारी गरिरहेको छ।

नामी

नामी पनि एउटा चिनियाँ इभी ब्रान्ड हो। यो ब्रान्डको गाडी नेपाली बजारमा एमएडब्लु ग्रुपले भित्र्याएको हो। कम्पनीले यसको मूल्य समेत तोकिसकेको अवस्था छ। जसमा कम्पनीले ल्याउन लागेको नामी बक्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यो ब्रान्डका लागि कम्पनीले नाडा अटो शोको स्टल नम्बर ए ७ बुक गरेको छ। कम्पनीले यही गाडी उक्त स्टलमा राख्ने तयारी गरिरहेको छ।

चिनियाँ सवारी उत्पादक समूह डोङफेङअन्तर्गतको सवब्रान्ड नामी एमएडब्लू वृद्धि अटोकर्पले नेपाल ल्याउने गरि केही समयअघि सम्झौता गरेको थियो। नामी ब्रान्ड डोङफेङ मोटर कर्पोरेसनले २०२० मा स्थापना गरेको हो।

डङफेङ मोटरले उत्पादन गरेको यो ह्याचब्याक कारमा ७० किलोवाट क्षमताको मोटर छ। यो इभी ३.७ मिटर लामो, १.५ मिटर चौडाइ र १.५ मिटर उचाइको छ। यसको ह्वीलबेस २ हजार ४२३ एमएमको छ।

साथै, टु ह्वील ड्राइभ सिस्टम रहेको यो गाडी दुई वटा १५.९७४ किलोवाट आवर र २७.१७ किलोवाट आवर क्षमतामा उपलब्ध छन्। यसमा भएको ब्याट्री फुल चार्ज गर्दा ३३० किलोमिटर दुरी पार गर्न सकिन्छ।

काइवी

यो ब्रान्ड हुन्डाईको गाडी बिक्री गरिरहेको लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई मोबिलिटीले नेपाली बजारमा भित्र्याएको हो। कम्पनीले ल्याएको यो काइवी ब्रान्ड चेरी अटोको सब्सीडरी कम्पनीले उत्पादन गरेको हो। यो कम्पनी २०१४ मा चीनको सिचुवानमा स्थापना गरिएको थियो।

यसले इन्धन इन्जिन सवारी पनि उत्पादन गर्छ। कम्पनीसँग अहिले ५ वटा मोडलका गाडीहरू छन्। जसमा सेडान, एसयूभीहरू छन्। कम्पनीले २०३० सम्म ५ लाख न्यू इनर्जी भेहिकल बिक्री गर्ने लक्ष्य राखेको छ।

कम्पनीले ल्याएको यो गाडी इन्धन इन्जिन रहेको एक्स३ प्रो मोडलको इभी भर्सन हो। यसलाई कम्पनीले फ्लागसिप मोडलका रुपमा बजारमा उतारेको छ। कम्पनीले यही मोडललाई नाडा अटो शोमा प्रर्दशनीमा राख्ने तयारी गरिरहेको छ। यसका लागि अटो शोको एच१६ नम्बरको स्टल बुक गरिएको छ। कम्पनीले यो गाडीको मूल्य ५२ लाख ९६ हजार रुपैयाँ राखेको छ।

यो ब्रान्डको गाडी गोल्छा अर्गनाइजेसनले पनि ल्याउन तयारी गरिरहेको छ। तर समाचार तयार पार्दासम्म यो कम्पनीले नाडामा स्टल भने बुक गरिसकेको छैन।

यसमा मोटर पावर १२० किलोवाट क्षमताको छ। यसको पिक पावर १६३ पीएस र यसको टर्क २८० एनएमको छ। यो गाडी ४.४ मिटर लामो एसयूभी हो। यसको चौडाई १.८ मिटर र उचाई १.६ मिटर रहेको छ। यसको ह्वीलबेस भने २ हजार ६३२ एमएमको छ।

यसमा सेल-टु-प्याक स्ट्रक्चर भएको सीएटीएलको लिथियम आयोन फोसफेट सेल ब्याट्री उपलब्ध छ। यस्तै, आईपी६७ हाइ-लेभल प्रोटेक्सन पनि छ जसले डस्ट र पानीबाट जोगाउँछ। यस्तै, यसमा ५३.६ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक छ। जसले एक पटकको फुल चार्जमा ४०१ किलोमिटर दुरी पार गर्न सक्छ।

रिडारा

यो ब्रान्ड चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले ल्याउन लागेको हो। कम्पनीले यसको लागि नाडा अटो शोको ए९ नम्बरको स्टल बुक गरेको छ। कम्पनीले त्यही अनुसार इभी पिकअप नाडा अटो शोमा राख्ने तयारी गरिरहेको छ।

रिडारा अटोको आफ्नै उत्पादन प्लान्ट छ। चिनियाँ अटो जायन्ट जीलीको सबब्रान्डका रुपमा रिडारा अटो २०२२ मा स्थापना भएको कम्पनी हो। अहिले रिडारा अटोले आरडी ६ प्योर इलेक्ट्रिक मिडसाइज पिकअप उत्पादन गरिरहेको छ। रिडाराका विद्युतीय पिकअप सस्टेनेवल एक्सपेरियन्स आर्किटेक्चर (एसईए) अन्तर्गत उत्पादन हुँदै आएको छ। यही गाडी नाडा अटो शोमा देख्न पाइने भएको छ। कम्पनीले यसका लागि तयारी थालेको छ।

आरडी ६ मोडलको पिकअपमा २०० किलोवाट पिक पावरको सिंगल र डुअल मोटर छ। यो पिकअपले २२७ पीएस पावर जेनेरेट गर्छ। यो पिकअप तीन ब्याट्री विकल्प ६३ किलोवाट आवर एलएफपी, ८६ किलोवाट आवर (एनएमसी) र १०० किलोवाट आवर (एनएमसी) ब्याट्रीमा उपलब्ध छ।

त्यस्तै यो पिकअपले ११ किलोवाटको एसी चार्जर र १२० किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्छ। आरडी ६ पिकअपले एक पटकको फुल चार्जमा ६०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। यो पिकअपको ह्वीलवेस ३.१ मिटर, लम्बाइ ५.२ मिटर, चौडाइ १.९ मिटर र उचाइ १.८ मिटरको छ।

राडार आरडी ६ रियर ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध छ।

एक्सपेङ

यो ब्रान्डको गाडी पनि चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले नाडा अटो शोमा ल्याउन लागेको हो। कम्पनीले यसका लागि नाडा अटो शोको जी१२ नम्बरको स्टल बुक गरेको छ। यही नाडा अटो शोबाट यो नयाँ ब्रान्डलाई नेपालमा इन्ट्री गराउने कम्पनीको तयारी छ।  

यो चिनियाँ प्रिमियम गाडी उत्पादक कम्पनी हो। यो गाडीहरु लक्जरी भएकाले अन्य ब्रान्डभन्दा मूल्य अलि महँगो छ।

एक्सपेङको नाडामा ‘जी६’ मोडलको गाडी आउने छ। कम्पनीले आफ्नो लाइनअपमा रहेका एसयुभी मध्ये सबैभन्दा पहिला जी६ मोडललाई राइट ह्याण्ड ड्राइभ भएकाले नाडामा ल्याउन लागेको हो।

एक्सपेङको जी६ मोडलमा ६६ किलोवाट आवर र ८७.५ किलोवाट आवर गरी दुई वटा ब्याट्री प्याक छ। कम्पनीका अनुसार यसमा भएको ब्याट्रीको फुल चार्ज रेन्ज ५८० देखि ७५५ किलोमिटर दिन्छ। ‘एसइपीए २.० इलेक्ट्रीक प्लेटफर्म’मा बनेको जी-सिक्स ८०० भोल्ट इलेक्ट्रीक आर्किटेक्चरमा बनेको हो। यसले ४८० किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्छ।

यसमा रहेको एक्सएनजीपी इन्टेलीजेन्ट असिस्ट ड्राइभिङ सिस्टममा ३१ वटा फरक सेन्सर, लाइडार, मिलीमिटर वेभ रडार, अल्ट्रासोनीक सेन्सर, क्यामरा, ड्युल ओरिन एक्स माइक्रोचीपको प्रयोग गरिएको छ। टुइन स्पोक ओभल सेपको स्टेरिङ ह्वील, १०.२ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर र १५ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले एक्सपेङ एक्समार्ट ४.० अपरेटिङ सिस्टम र हिटपम्प वेस्डको एयर कन्डिसन सिस्टम छन्।

कम्पनीले जी६ मोडलमा २१८ किलोवाटका सिङ्गल मोटर रियर ह्वील ड्राइभ र ३५८ किलोवाटको ड्यूल मोटर अलह्वील ड्राइभ सिस्टम दिएको छ। यसको अधिकतम टर्क ६६० न्यूटन मिटरसम्म छ।

जेको

चिनियाँ ब्राण्ड चेरी अन्तर्गतको जेको ब्राण्डको नयाँ इलेक्ट्रीक एसयूभी पनि नाडा अटो शो बाट नेपाली बजारमा आउने तयारी गरेको छ। यसका लागि शारडा ग्रुपले ओमोडाको स्टल एफ १ मा राख्ने छ। ओमोडा र जेको दुवै चेरीको सब-ब्राण्ड हुन्।

जेको जे६ मोडल नेपाली बजारमा आउन लागेको हो। जसमा ब्लेड ब्याट्री रहेको छ। जे६ मोडलको लम्बाइ ४.४ मिटर, चौडाइ १.९ मिटर र उचाइ १.७ मिटरको छ। यसमा २ हजार ७१५ एमएम लामो ह्‍वीलबेस छ। यसमा भएको ६९.८ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ५०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।