संस्थानमा लगानीबाट सरकारले पाएन लाभ, लाभांश निराशाजनक, कुन कम्पनीको वित्तीय अवस्था कस्तो?

बिजमाण्डू
२०८१ जेठ १३ गते १७:०९ | May 26, 2024
संस्थानमा लगानीबाट सरकारले पाएन लाभ, लाभांश निराशाजनक, कुन कम्पनीको वित्तीय अवस्था कस्तो?

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आइतबार सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा सार्वजनिक गरे। २०७९/८० को समीक्षा अनुसार अस्तित्वमा रहेका ४४ संस्थानमध्ये २६ वटाले नाफा कमाएका छन् भने १५ वटा घाटामा छन्। तीन वटा संस्थानको कारोबार शून्य छ।

Tata
GBIME

ती संस्थानमा सरकारले ३ खर्ब ७९ अर्ब ७२ करोड १६ लाख रुपैयाँ सेयर लगानी गरेकामा जम्मा १३ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ लाभांश पाएको छ। यो लाभांश ८ कम्पनीबाट पाएको हो। सेयर लगानी ९.१९ प्रतिशतले बढ्दा सरकारले जम्मा ३.६२ प्रतिशत मात्र लाभांश पाएको हो। सेयर लगानीबाहेक संस्थानमा सरकारको २ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ ऋण लगानी छ।

औद्योगिक क्षेत्रतर्फका १० संस्थानमध्ये ७ वटा घाटामा गएका छन्। यो क्षेत्रतर्फ दुग्ध विकास संस्थान, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी, हेटौंडा सिमेन्ट, नेपाल औषधि लिमिटेड, उदयपुर सिमेन्ट, नेपाल ओरिण्ड म्याग्नासाइट र बुटवल धागो कारखाना घाटामा गएका हुन्। अघिल्लो वर्ष नाफामा रहेको उदयपुर सिमेन्ट ३६ करोड २९ लाख रुपैयाँ घाटामा गएको छ।

५ वटा कम्पनी सञ्चालनमै छैनन्। यो क्षेत्रका संस्थानको खुद नोक्सानी १ अर्ब ४८ करोड ५० लाख रुपैयाँ छ।

औद्योगिक क्षेत्रतर्फका संस्थानको सञ्चालन आय २१.८७ प्रतिशतले घटेर ५ अर्ब १ करोड ८२ लाख रुपैयाँमा झरेको छ भने सञ्चित नोक्सानी ८.६९ प्रतिशतले बढेर २० अर्ब ६० करोड ६५ लाख रुपैयाँ पुगेको छ। ती संस्थानमा सरकारको ८ अर्ब ५१ करोड ८७ लाख ऋण लगानी र ६ अर्ब २५ करोड ३५ लाख रुपैयाँ सेयर लगानी छ।

व्यापारिक क्षेत्रका ४ संस्थानमध्ये ३ वटाले नाफा कमाएका छन्। कृषि सामग्री कम्पनी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र नेपाल आयल निगमले नाफा कमाउँदा नेपाल वन निगम लिमिटेड घाटामा छ।

नेपाल आयल निगमले मारेको छलाङले यो क्षेत्रको खुद नाफा बढ्न पुगेको हो। यो क्षेत्रका संस्थान अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३७ अर्ब ५९ करोड ९५ लाख रुपैयाँ घाटामा रहेकामा गत वर्ष ११ अर्ब ८१ करोड १४ लाख खुद नाफाको अवस्थामा पुगेका छन्। सञ्चित नोक्सानी १६ अर्ब ८२ करोडबाट ३ अर्ब ९२ करोडमा झरेको छ।

यो क्षेत्रका संस्थानमा सरकारको ३ अर्ब ५० करोड ७३ लाख ऋण र १२ अर्ब ८८ करोड ८१ लाख रुपैयाँ सेयर लगानी छ।

सेवा क्षेत्रका ९ कम्पनीले २ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। यो क्षेत्रका कम्पनी अघिल्लो आर्थिक वर्ष ५ करोड ३० लाख घाटामा रहेकामा उनीहरुको नाफा एकै वर्षमा ४२८८.६७ प्रतिशतले बढेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले नाफा १०१.७८ प्रतिशतले बढाएका कारण त्यसको सकारात्मक प्रभाव यो क्षेत्रको सूचकमा परेको हो।

यो क्षेत्रका कम्पनीले सञ्चालन आय ४९.७१ प्रतिशतले बढाएर ३७ अर्ब ८७ करोड रुपैयाँ पुर्‍याएका छन्। तैपनि नेपाल वायु सेवा निगम र नेपाल रेल्वे कम्पनी घाटामा छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपाल पारबहन तथा गोदाम कम्पनी, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पूर्वाधार निर्माण कम्पनी, साझा यातायात सहकारी र विशाल बजार कम्पनीले नाफा कमाएका हुन्।

सेवा क्षेत्रतर्फका कम्पनीमा सरकारको ऋण लगानी भने २०.०९ प्रतिशतले बढेर ३६ अर्ब १३ करोड रुपैयाँ तथा सेयर लगानी ४.२८ प्रतिशतले बढेर ७६ अर्ब ५५ करोड ७१ लाख रुपैयाँ पुगेको छ। यति ठूलो लगानी गरेपनि सरकारले लाभांश बापत औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ६० करोड ३३ लाख रुपैयाँ मात्र पाएको छ।

सामाजिक क्षेत्रतर्फका ५ कम्पनीमध्ये जनक शिक्षा सामग्री केन्द्र र गोरखापत्र संस्थानले मात्र नाफा कमाएका छन्। सांस्कृतिक संस्थान, नेपाल टेलिभिजन र राष्ट्रिय आवास कम्पनी घाटामा रहेको समीक्षामा उल्लेख छ। यो क्षेत्रका संस्थानको सञ्चालन आय २०.९५ प्रतिशतले बढेर ३ अर्ब ८५ करोड रुपैयाँ पुगेपनि १२ करोड ५ लाख रुपैयाँ घाटा बेहोरेको देखिएको छ।

यो क्षेत्रका संस्थानमा सरकारको १ अर्ब ९५ करोड ५८ लाख रुपैयाँ ऋण लगानी छ। यस्तै सेयर लगानी ३.४७ प्रतिशतले बढेर ४ अर्ब ४३ करोड ३० लाख रुपैयाँ पुगेको छ।

यस्तै जनपयोगी क्षेत्रतर्फका ५ संस्थानमध्ये नेपाल खानेपानी संस्थानबाहेक नाफामा छन्। यो क्षेत्रका संस्थानले सञ्चालन आय ९.२३ प्रतिशतले बढाएका छन् भने उनीहरुको खुद नाफा १७ अर्ब १० करोड ४० लाख रुपैयाँ छ। यो खुद नाफा भने अघिल्लो वर्षको भन्दा २१.२१ प्रतिशतले कम हो।

यो क्षेत्रका संस्थानले सरकारलाई तिर्न बाँकी ऋण ७.१७ प्रतिशतले बढेर २ खर्ब ५८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। यस्तै सरकारको सेयर लगानी ८.४४ प्रतिशले बढेर १ खर्ब ९८ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। यति ठूलो लगानीमा सरकारले ६ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ लाभांश पाएको छ। यो लाभांश नेपाल दूरुसञ्चार कम्पनीबाट प्राप्त गरेको हो।

वित्तीय क्षेत्रतर्फका ९ संस्थानले १८ अर्ब ९८ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। यो क्षेत्रका कुनै पनि कम्पनी घाटामा छैनन्। उनीहरुले सञ्चालन आय ३१.२७ प्रतिशतले बढाएर ८७ अर्ब १७ करोड रुपैयाँ पुर्‍याएका छन्।

सञ्चालन आय धेरै बढे पनि खुद नाफा भने ४.३४ प्रतिशतले मात्र वृद्धि भएको हो। कर्मचारीको संख्या १४ प्रतिशतले बढेर प्रशासनिक खर्च ३१ प्रतिशतले वृद्धि भएकाले खुद नाफा अपेक्षित रुपमा बढ्न नसकेको हो। वित्तीय क्षेत्रका सरकारी संस्थानले ९ हजार ४२० जनालाई रोजगारी दिएका छन्।

यो क्षेत्रमा कृषि विकास बैंक नेपाल बैंक राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय बीमा संस्थान राष्ट्रिय बीमा कम्पनी निक्षेप तथा कर्जा सुरक्षण कोषनेपाल स्टक एक्सचेञ्ज नागरिक लगानी कोष र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी छन्।

यो क्षेत्रका कम्पनीले सरकारलाई तिर्न बाँकी ऋण८ करोड ९२ लाख रुपैयाँ छ। यस्तै यो क्षेत्रका कम्पनीमा सरकारको सेयर लगानी १८.०७ प्रतिशतले बढेर ५७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

तर, सरकारले लाभांश भने ६ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ मात्र पाएको छ। त्यसमध्ये ३ अर्ब १३ करोड १३ लाख हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, १ अर्ब ६ करोड ५८ लाख कृषि विकास बैंक, १ अर्ब ४ करोड ५२ लाख राष्ट्रिय वाणिज्य बैंक, ५८ करोड ६६ लाख नेपाल स्टक एक्सचेञ्ज र ७३ करोड ४७ लाख रुपैयाँ नेपाल बैंकबाट प्राप्त गरेको हो।

सार्वजनिक संस्थानको आर्थिक वर्ष २०७९/८० को वित्तीय अवस्था (रु लाखमा)

सार्वजनिक संस्थानसञ्चालन आयखुद नाफा/नोक्सान
नेपाल आयल निगम३८२४९२४११७२२९
नेपाल विद्युत प्राधिकरण१००३४५५९४०५५
नेपाल दूरसञ्चार कम्पनी३६२७१४७९२०१
नागरिक लगानी कोष१३३०३३८५७०
निक्षेप तथा कर्जा सुरक्षण कोष३९९९३३८०६३
राष्ट्रिय वाणिज्य बैंक२७७०७८३५९५१
नेपाल बैंक२६५४६९३४३७५
नेपाल नागरिक उड्डयन प्राधिकरण१२४५१९२६३७६
हाइड्रोइलेक्ट्रिटीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी८४७७१३७५२
कृषि विकास बैंक२५३२०५१३२३४
नेपाल स्टक एक्सचेन्ज८४१०८१८६
राष्ट्रिय बीमा कम्पनी५७७८७७२५
जनक शिक्षा सामग्री केन्द्र२६३१७१९३६
राष्ट्रिय प्रशारण ग्रीड कम्पनी१८९१
साझा यातायात सहकारी संस्था२१८२१८१८
विशाल बजार कम्पनी१८०११४७३
विद्युत उत्पादन कम्पनी१३६१
खाद्य व्यवस्था तथा व्यापार कम्पनी१५९६६१२९२
गोरखापत्र संस्थान७४७१६२४
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड१३२५१६०६
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी२५१२४११
कृषि सामग्री कम्पनी५६२९२३३५
नेपाल पूर्वाधार निर्माण कम्पनी३५८२
राष्ट्रिय जीवन बीमा कम्पनी१५
धौवादी फलाम कम्पनी
राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र२२-४३
राष्ट्रिय आवास कम्पनी९२९-१०४
सांस्कृतिक संस्थान१६३-१४८
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी१६१५.६१-२८४.३९
बुटवल धागो उद्योग-३४३
नेपाल औषधि लिमिटेड३५६.८६-१५५४.९२
नेपाल ओरिण्ड म्याग्नासाइट-१६५८
नेपाल रेल्वे कम्पनी६९५-१९९६
हेटौंडा सिमेन्ट५८४१.५-२५४८.७३
नेपाल टेलिभिजन३६३९-३५१२
उदयपुर सिमेन्ट उद्योग६१८१-३६२८
दुग्ध विकास संस्था३६१८७.१३-४८४२.२८
नेपाल खानेपानी संस्थान६७३९-५४६९
नेपाल वायुसेवा निगम२३३६८९-६५२९
नेपाल वन निगम लिमिटेड९०५-११८११४
स्रोत: सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८१