वृद्धभत्ताको उमेर पुनरावलोकनः धान्नै नसक्ने भएपछि अर्थमन्त्री बढाउँदै छन् उमेर

बिजमाण्डू
२०८१ जेठ १३ गते १३:१८ | May 26, 2024
वृद्धभत्ताको उमेर पुनरावलोकनः धान्नै नसक्ने भएपछि अर्थमन्त्री बढाउँदै छन् उमेर

काठमाडौं। नेपालीको औसत आयु बढेर ७१ वर्षमाथि पुगिसकेका बेला सरकारले उल्टो बाटो हिँडेर घटाएको वृद्धभत्ता पाउने उमेर यसपालीको बजेटले पुनरावलोकन गर्ने भएको छ।

Tata
GBIME

माओवादीबाट अर्थमन्त्री भएका जनार्दन शर्माले दुई वर्षअघि वृद्धभत्ता पाउने उमेर २ वर्षले घटाएका थिए। ७० वर्षदेखि पाउनेमा ६८ वर्षबाटै पाउने बनाएका थिए। तत्कालिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको चाहनामा उमेर घटाइएको थियो।

लाभग्राहीको घटाइएको उक्त उमेर माओवादीबाट अर्थमन्त्री भएका अर्का नेता वर्षमान पुनले उल्टाउने भएका छन्। सरकारले यसलाई ७० वर्ष नै कायम गर्ने भएको हो।

अहिले सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या १३ लाख नाघिसकेको छ। ताजा जनगणनाअनुसार, ६५ देखि ७० वर्ष उमेर समूहको संख्या ७ लाख ७१ हजार ६१८ छ। यस आधारमा ६८ देखि ७० वर्ष उमेर समूहभित्र ३ लाख जना छन् भन्ने मान्ने हो भने राज्यकोषलाई दायित्व साढे १२ अर्ब रुपैयाँले बढेको थियो।

अहिले वृद्धभत्ता मासिक ४ हजार रुपैयाँ दिइँदै आएको छ। अहिले संघीय सरकारलाई सामाजिक सुरक्षामा मात्र वार्षिक १ खर्ब ८८ अर्ब ३५ करोड रुपैयाँको दायित्व छ। यससहित सामाजिक सुरक्षामा सरकारले गर्नुपर्ने कुल खर्च २ खर्ब नाघ्ने देखिन्छ।

धान्नै नसक्ने गरी सामाजिक सुरक्षा र त्यसमा पनि वृद्धभत्ता रकम बढेपछि सरकारले पुरानो निर्णय उल्ट्याउन लागेको हो। ६८ बाट ७० मा उमेर पुर्‍याइँदा करिब साढे १२ अर्ब रुपैयाँ खर्च कम हुने छ। 

वृद्धभत्ता पाउने उमेर बढाउनु पर्छ भन्नेमा अहिले सबै राजनीतिक दल एक ठाउँमा छन्। धान्नै नसक्ने भएपछि यसमा पुनरावलोकन गर्नु पर्छ भन्नेमा उनीहरु सहमत भएका हुन्।