नेपाली बजारमा भारतीय स्याउलाई चिनियाँले बनायो कमजोर, यस्तो छ आयातको अवस्था

सरला सुवेदी
२०८१ जेठ १२ गते १५:०४ | May 25, 2024
नेपाली बजारमा भारतीय स्याउलाई चिनियाँले बनायो कमजोर, यस्तो छ आयातको अवस्था

काठमाडौं। नेपाली बजारमा चिनियाँ स्याउले भारतीय स्याउलाई निकै पछि पारेको छ। चिनियाँ फुजी स्याउ उपभोक्ताको रोजाइमा परेपछि भारतीय स्याउको उपस्थिति नेपाली बजारमा घट्न पुगेको छ।

Tata
GBIME

भारतीयभन्दा चिनियाँ स्याउले करिब ६ गुणा स्थान लिएको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्ष वैशाखसम्म चीनबाट ५ करोड ९२ लाख केजी स्याउ आयात भएको छ। यो अवधिमा व्यापारीले भारतबाट भने १ करोड ८ लाख केजी मात्र आयात गरेका छन्। यसबाहेक अन्य मुलुकबाट पनि स्याउ आउने गरेकामा त्यसको परिमाण भने सानो छ।

तथ्यांकले नेपाली उपभोक्ताले भारतीय स्याउ रुचाउन छोडेको र चिनियाँ स्याउमा लोभिएको देखाएको छ। भारतबाट पोहोरको भन्दा आयात घट्दा चीनबाट भने १० महिनामै पोहोरभन्दा बढी स्याउ आएको छ।

गत वर्ष चीनबाट ५ करोड ३८ लाख र भारतबाट २ करोड ३९ लाख केजी स्याउ आयात भएको थियो। भारतीय स्याउको आयात घट्दा चीनतर्फको भने बढेको छ।

आर्थिक वर्ष २०७६/७७ यता भारतबाट ९ करोड ५३ लाख ३० हजार ७०७ र चीनबाट २९ करोड ८९ लाख ६५ हजार २७९ केजी स्याउ आयात भएको तथ्यांक छ।

गुणस्तरका आधारमा भारतीयभन्दा राम्रो रहेकाले चिनियाँ स्याउको आयात बढेको आयातकर्ता ठाकुर पाण्डेले बताए।

‘भारतमा अहिले स्याउ छैन। भारतबाट स्याउको आयात अहिले शून्य छ। क्वालिटीका कारण हामी चिनियाँ स्याउ नै ल्याउँछौं,’ उनले भने। पाण्डेले हाल चीनबाट दैनिक एक कन्टेनर स्याउ आयात भइरहेको जानकारी दिए।

कुलेश्वर फलफूल व्यवसायी संघका अध्यक्ष अमर बानियाँले चीनमा मूल्य सस्तो भएका कारण पनि व्यापारीले फुजी स्याउ ल्याउने गरेको बताए।

‘चीनमा स्याउ उत्पादन धेरै हुने भएकोले व्यवसायीलाई सुलभ मूल्य पर्छ। कोल्ड स्टोर, प्याकेजिङ, भन्सार र ढुवानीका कारण मात्र महङ्गो हुने गरेको हो,’ उनले भने, ‘भारतीयभन्दा गुणस्तर राम्रो भएका कारण पनि हामीले चिनियाँ स्याउलाई प्राथमिकता दिएका हौं।’

नेपालमा चिनियाँ स्याउ ल्याउने आयातकर्ता सीमित छन्। बानियाँ, पाण्डे, शारदा पराजुली, विष्णु श्रेष्ठ, फुनु शेर्पा, अविनाश अधिकारी र सुदीप कार्कीले ठूलो परिमाणमा स्याउ आयात गर्दै आएका छन्।

चीनमा पनि बाह्रै महिना स्याउ फल्दैन। भदौ अन्तिमदेखि सिजन सुरु हुन्छ। स्याउ आयातका लागि व्यवसायीहरु आफैं चीन गएर केही समय उतै बस्छन्। फार्ममै गएर खरिद गरी कोल्ड स्टोरमा राख्छन्। त्यसपछि नेपाली बजारको मागअनुसार प्याकेजिङ गरी स्याउ ल्याउने गरेको आयातकर्ताहरुको भनाइ छ। अहिले भित्र्याइएको स्याउ कोल्ड स्टोरको हो।

केही व्यवसायीले चिनियाँ एजेन्टसँग सिधै खरिद गर्ने गरेका छन्।

बजारमा चिनियाँ स्याउ भारतीयभन्दा प्रति केजी २०० रुपैयाँसम्म महङ्गो छ। हाल बजारमा स्याउको मूल्य प्रति केजी १५० देखि ४०० रुपैयाँसम्म छ। थोक बजारमा फुजी स्याउ प्रति किलो ३०० रुपैयाँमै पाइन्छ। बजारमा स्याउको खपत कम भएकोले मूल्य ३०० रुपैयाँमा आइपुगेको अध्यक्ष बानियाँले जानकारी दिए।

चिनियाँ स्याउ प्रति केजी ४०० रुपैयाँसम्म बिक्री हुँदा भारतीय स्याउ २०० रुपैयाँमा बिक्री गर्न पनि मुस्किल हुने व्यापारीहरुको भनाइ छ।

व्यापारीहरुका अनुसार भारतीय स्याउ लामो समयसम्म राख्न मिल्दैन। गुणस्तर खस्किन्छ। त्यही कारण कम मूल्यमा बेच्नु पर्छ। स्टिकर लगाएर आउने चिनियाँ स्याउमा भने गुणस्तरको समस्या छैन। उपभोक्ताले महँगो मूल्य तिर्नुपरे पनि चिनियाँ फुजी स्याउ नै रोज्ने गरेका छन्।

आयातितभन्दा मार्फा स्याउको गुणस्तर राम्रो हुन्छ। तर स्वदेशी स्याउ ४ महिना मात्र बजारमा आउँछ।

भारतमा अवैध निकासी

त्यसो त चिनियाँ स्याउको आयात बढेको नेपाली उपभोक्ताको रोजाइमा परेर मात्र होइन। नेपालबाट भारतमा अवैधरुपमा निकासी समेत हुने गरेको छ।

व्यापारीहरु नै अवैधरुपमा भारतमा निकासी हुने क्रम बढेकाले चिनियाँ स्याउको आयात बढेको बताउँछन्। अवैधरुपमा कति स्याउ भारतमा निकासी हुने गरेको छ त? व्यापारीहरु परिणाम ठ्याक्कै तोक्न नसकिने तर ठूलै मात्रामा गइरहेको बताउँछन्।