सुनौली नजिक एयरटेलसहितका कम्पनीको फाइबर काटिंदा नेपालको इन्टरनेट प्रभावित

बिजमाण्डू
२०८१ जेठ ११ गते १४:२३ | May 24, 2024
सुनौली नजिक एयरटेलसहितका कम्पनीको फाइबर काटिंदा नेपालको इन्टरनेट प्रभावित
फाइल फोटो

काठमाडौं। भारतीय भूमिमा एयरटेलसहित अन्य इन्टरनेट सेवा प्रदायकको फाइबर काटिंदा वर्ल्डलिंकसहितका इन्टरनेट सेवा प्रदायकको सेवा प्रभावित भएको छ।

Tata
GBIME

शुक्रबार अपराह्नदेखि सेवा प्रभावित भइरहेको हो। सुनौली नाका नजिकको क्षेत्रमा फाइबर काटिएकाले सेवा प्रभावित बनेको छ। एयरटेलले नेपालमा खपत हुने ब्यान्डविथको ठूलो हिस्सा आपूर्ति गर्छ।

‘हाम्रो बोर्डरभन्दा बाहिर भारतीय भूमिमै फाइबर काटिएको छ। एयरटेलसहित अरु प्रोभाइडरकोसमेत फाइबर काटिएको जानकारी आएको छ। के कारणले काटिएको हो हामीलाई जानकारी दिइएको छैन। डेढ घण्टा अघि ३ घण्टा भित्र सेवा सुचारु हुने सूचना पाएका थियौं। अहिले फेरि २ घण्टा लाग्ने (रिकभरी टाइम) जानकारी पाएका छौं,’ एक प्राविधिकले बिजमाण्डूसँग भने।

वर्ल्डलिंकले एक सूचना जारी गर्दै अपस्ट्रिम नेटवर्कमा समस्या आएकाले इन्टरनेट सेवा प्रभावित भइरहेको जानकारी गराएको छ। समस्या समाधानमा सक्रिय भइरहेको भन्दै वर्ल्डलिंकले चाँडै सेवा सुचारु हुने जनाएको छ।

तीन अर्ब रुपैयाँ भुक्तानी नगरेको भन्दै भारतीय कम्पनीले वैशाख २० गते नेपालतर्फ बिक्री गर्ने ब्यान्डविथ काटिदिएको थियो। जसका कारण नेपालका ठूला इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक, भायनेट, सुबिसुलगायत कम्पनीहरुको इन्टरनेट सेवा बन्द भएको थियो। शुक्रबारको समस्या भने फाइबर काटिएकाले आएको बताइएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार देशभर २८ लाख ६४ हजार फाइबर इन्टरनेट ग्राहक छन् भने एडीएसएल/केबल ग्राहक करिब ३४ हजार छन्। त्यसमध्ये वर्ल्डलिंक एक्लैको सर्वाधिक ९ लाख छन्।