जेठ लागेदेखि ऋण लगानी ठप्पजस्तै, बैंकहरु रिकभरीमा केन्द्रित, एयरपोर्टमा भेटिन्छन् सीइओ

बिजमाण्डू
२०८१ जेठ ११ गते ११:५१ | May 24, 2024
जेठ लागेदेखि ऋण लगानी ठप्पजस्तै, बैंकहरु रिकभरीमा केन्द्रित, एयरपोर्टमा भेटिन्छन् सीइओ

काठमाडौं। पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले एक साताअघि बिजमाण्डूले आयोजना गरेको कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसँग चासो राखे- बैंकिङ कस्तो भइरहेको छ त?

Tata
GBIME

पाँच वर्ष नेपाल राष्ट्र बैंकको गभर्नर चलाइसकेका खतिवडाले चियाको चुस्की लिँदै राखेको चासोमा शेरचनले हाँस्दै पछिल्ला दिनको ‘तीतो’ अनुभव सुनाए।

बिजनेस गर्न सकिएको छैन, खराब ऋण बढेर गएको छ। धेरै समय रिकभरीमै जान्छ- शेरचनले जवाफ फर्काए। 

कति कुरा त बैंकर साथीहरुले नै बिगारेका हुन् नि, धेरै स्पिडमा जानु हुन्न भन्दाभन्दै पनि मान्नु भएन। अहिले समस्या बढेर गयो- खतिवडाले छोटो विश्लेषण गरे।

बैंकिङका सम्बन्धमा खतिवडा र शेरचनको जस्तो संवाद अरुतिर पनि हुन्छ। अहिले बैंकहरुको सम्पूर्ण ध्यान ‘रिकभरी’ अर्थात डुबेको ऋण उठाउनमा केन्द्रित छ। 

ऋण डुब्दा खराब कर्जा अनुपात बढेको छ, पुँजी कोषमा दबाब परेको छ। नाफा खुम्चिएको छ। व्यापार बढाउन नसक्ने अवस्था बनेको छ। त्यसैले बैंकहरुले डुबेको ऋण उठाएर पुँजी कोष सुधार गर्दै व्यापार बढाउन खोजिरहेका छन्। 

‘नयाँ ऋण लगानी ऋण ठप्पै त म भन्दिन, अलिअलि गइरहेको छ,’ बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने, ‘तर, विशेष जोड रिकभरीमै छ।’ 

गत वर्षको मध्यबाट बैंकहरुको खराब कर्जा अनुपात निरन्तर बढिरहेको छ। औसतमै साढे तीन प्रतिशत माथि पुगिसकेको छ। कोभिडअघि यो २ प्रतिशत हाराहारी हुन्थ्यो। खराब कर्जा कतिपय बैंकको ५ प्रतिशत नाघेको छ भने आधाभन्दा बढीको ५ प्रतिशत नजिक छ। नोक्सानी व्यवस्थापन बापतको रकम पनि बढेर गएको छ।

जेठ लागेपछि बैंकहरुले पहिले प्रतिबद्धता जनाएका र सानातिना (आवासीय घर र गाडी) बाहेक ऋण दिएका छैनन्। साना तथा मझौला उद्यमको ऋण बन्द गरेको धेरै भइसकेको छ। अतिआवश्यक र तत्काल पैसा आइहाल्नेबाहेक आयातका लागि प्रतितपत्र खोल्न पनि बैंकहरुले कम गरेका छन्।

‘अहिले ऋण दिनुको अर्थ हो १.२५ प्रतिशत प्रोभिजनिङ गर्नु,’ एक बैंकरले भने, ‘त्यसैले नयाँमा सकभर हात नहाल्ने, रिकभरी मात्रै गर्ने नीति हो।’

बैंकहरुले अहिले विशेष मिहेनत गर्नुको पछाडिको कारण हो- यो चालु वर्षको अन्तिम त्रैमास हो। अर्थात अहिले आउने नतिजाका आधारमा वार्षिक प्रतिवेदन कस्तो बन्छ भन्ने तय हुन्छ। व्यवस्थापनको ‘परफर्मेन्स’ मापन हुने यसैमा हो। लाभांशदेखि कर्मचारीको बोनससम्मलाई प्रभाव पार्ने अन्तिम त्रैमासले हो।

अहिले बैंकहरुले ऋण विभागको आकार घटाएर ‘रकभरी’ विभागलाई ठूलो बनाएका छन्। उच्च व्यवस्थापकहरु आफ्नो सिटमा होइन, ऋणीको दैलोमा भेटिन थालेका छन्। 

‘अब कत्ति पनि समय छैन। डेढ महिना अलिकति मिहेनत गर्नै पर्ने देखिन्छ,’ एक बैंकरले रमाइलो सुनाए, ‘अहिले बैंकका सीइओ साथीहरुलाई काठमाडौंमा होइन, मैले त एयरपोर्टमा भेटिरहेको हुन्छु।’ उनका अनुसार, सीइओहरु टिमसहित जिल्ला-जिल्ला धाइरहेका छन्। त्यसैले सिटमा भन्दा रिकभरीका लागि प्लेन चढ्न एयरपोर्टमा भेटिने गरेका हुन्।

बैंकरका अनुसार, पर्याप्त धितो हुँदाहुँदै पनि ऋण डुबेको छ। अब त्यो उठ्न कि त व्यापार चल्नु पर्‍यो कि धितो लिलाम हुनु पर्‍यो। त्यो दुवै अवस्था छैन। तर, धेरथोर पैसा उठिहाल्छ कि भनेर दौडनु परेको छ।

‘जबसम्म बैंकहरुले बिजनेसमा कम, रिकभरीमा ज्यादा ध्यान दिइरहेका हुन्छन् त्यतिबेलासम्म इकोनोमी रिभाइभको बाटोमा जाँदैन। त्यसैले अब अर्थतन्त्र के हुन्छ भन्ने प्रश्नको जवाफ बजेटलगत्तै आउने मौद्रिक नीति अझ भन्दा दसैंको मुखमा मात्र थाहा हुन्छ,’ उनले भने।