अर्थमन्त्री पुनले बैंकरलाई बोलाएर भने- वित्त र मौद्रिक नीतिमा तालमेल मिलाइनेछ

बिजमाण्डू
२०८१ बैशाख २५ गते १५:२० | May 7, 2024
अर्थमन्त्री पुनले बैंकरलाई बोलाएर भने- वित्त र मौद्रिक नीतिमा तालमेल मिलाइनेछ
अर्थमन्त्री वर्षमान पुन र बैंकरबीचको छलफल

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिबीच तालमेल मिलाइने बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले आगामी आर्थिक वर्षको बजेटबारे मंगलबार बैंक तथा वित्तिय क्षेत्रका प्रतिनिधिसँग सुझाव लिने क्रममा बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाइने बताएका हुन्।

उनले तालमेलका लागि नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको बताए। ‘सरकार र नियामक भनेकै राज्य हो। राज्यको उद्देश्य र नीति एउटै हुन्छ’, उनले भने, ‘नीति कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामञ्जस्यता कायम गरिन्छ।’

अर्थतन्त्र चलायमान हुने गरी बजेट ल्याउने उनको भनाइ छ। ‘आर्थिक नीतिभित्र बसेर निजी क्षेत्रलाई प्रवर्धन गर्ने, सहजीकरण गर्ने र मनोबल उठाउने गरी काम गर्ने हो’, उनले भने, ‘त्यसका लागि सरोकारवालाहरुबीचमा छलफल र परामर्श भइरहेको छ।’

उनले सूचना प्रविधि, ऊर्जा, पर्यटन, कृषि, ठूला र मझौला पूर्वाधारलाई प्राथमकिता दिएर बनेट ल्याउने बताए।

‘हाम्रो भू–अवस्थितिअनुसार सूचना प्रविधि क्षेत्रमा फोकस हुँदा त्यसबाट ठूलो संख्यामा रोजगारी सृजना हुने र लगानी आउने सम्भावना बढी हुन्छ भन्ने हामीलाई लागेको छ’, उनले भने, ‘बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई प्रवर्धन गर्ने सोच बनाएका छौं।’

अर्थमन्त्री वर्षमान पुन र बैंकरबीचको छलफल

मन्त्री पुनले निजी क्षेत्रलाई सरकारी निकायबाट निरुत्साहित तुल्याउने काम हुन नदिने पनि बताए। ‘राज्यका निकायले निजी क्षेत्रलाई तर्साउने र निरुत्साहित गर्ने काम गर्दैनन्,’ उनले भने, ‘सरकारले निजी क्षेत्रलाई प्रवर्धन र सहजीकरण गर्ने हो ।’