बार्सिलोना जिरोनासँग पराजित हुँदा रियल मड्रिडलाई ला लिगा उपाधि, अबको नजर च्याम्पियन्स लिगमा

बिजमाण्डू
२०८१ बैशाख २३ गते ०७:४२ | May 5, 2024
बार्सिलोना जिरोनासँग पराजित हुँदा रियल मड्रिडलाई ला लिगा उपाधि, अबको नजर च्याम्पियन्स लिगमा
रियल मड्रिडका भिनिसियस जुनियर। फाइल फोटो रोयटर्स

स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोना जिरोनासँग ४-२ गोलअन्तरले पराजित हुँदा मड्रिड ३६ औँ पटक लालिगा च्याम्पियन बनेको हो।

Tata
GBIME
Nepal Life

खेलको तेस्रो मिनेटमै आन्द्रेस क्रिस्टेनसनको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो। तर, लगत्तै अर्को मिनेटमै जिरोनाका आर्टिम डोभविकले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफको इन्ज्युरी समयमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल थप्दा बार्सिलोनाले फेरि अग्रता बनाएको थियो।

पहिलो हाफमा २-१ ले पछि रहेको गिरोनाका लागि पोर्टुले ६५ र ७४ औँ मिनेटमा गोल थप्दा ६७ औँ मिनेटमा मिगुएल गुटिरेजले गोल थपे। योसँगै ३४ खेलबाट ७४ अंक बनाउँदै जिरोना दोस्रो स्थानमा उक्लिएको छ भने समान खेलबाट ७३ अंक बनाएको बार्सिलोना तेस्रो स्थानमा छ।

३४ खेलबाट ८७ अंक बनाएको रियल मड्रिड भने दोस्रो स्थानको जिरोना भन्दा १३ अंकले अगाडि रहँदा ४ खेल बाँकी छँदै च्याम्पियन बनेको हो।

योसँगै मड्रिडको ध्यान च्याम्पियन्स लिगमा केन्द्रित हुनेछ। च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगको खेलमा मड्रिड जर्मन क्लब बायर्न म्युनिखसँग २-२ गोलको बराबरीमा रोकिएको थियो। मे ९ मा दोस्रो लेगको खेल मड्रिडको घरेलु मैदानमा हुँदैछ।