आइपीएलमा लयमा फर्कँदै बेङ्ग्लोर, गुजरातमाथि ४ विकेटको जित, आज दुई खेल हुँदै

बिजमाण्डू
२०८१ बैशाख २३ गते ०६:३८ | May 5, 2024
आइपीएलमा लयमा फर्कँदै बेङ्ग्लोर, गुजरातमाथि ४ विकेटको जित, आज दुई खेल हुँदै
ब्याटिङमा बेङ्ग्लुरुका खेलाडी। तस्बिर: आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएलमा) खराब सुरुवात गरेको बेङ्ग्लोरले लगातार तीन जित निकाल्दै लय समातेको छ। सुरुवाती ८ खेल खेल्दा एउटामात्र जित निकाल्दै निरीह सुरुवात गरेको बेङ्ग्लोरले पछिल्ला तीन खेलमा जित निकाल्दै अंकतालिकाको सातौँ स्थानमा उक्लिएको हो।

Tata
GBIME
Nepal Life

गएराति सम्पन्न खेलमा बेङ्ग्लोरले गुजरातमाथि ४ विकेटको जित निकाल्यो। बेङ्ग्लोरस्थित चिन्नस्वामी स्टेडियममा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले १९.३ ओभरमा अलआउट हुँदै १४७ रन बनाएको थियो।

गुजरातका लागि ओपनर शुभमन गिल २ रन र ऋद्धिमान साह १ रनमा आउट हुँदा खराब ब्याटिङ सुरुवात गरेको थियो। बेङ्ग्लोरका लागि मोहम्मद शाहरुख खानले ३७ रन बनाउँदा राहुल तेवातियाले ३५ रन, डेभिड मिलरले ३० तथा राशिद खानले १८ रन बनाए।

बलिङतर्फ बेङ्ग्लोरका मोहम्मद सिराज, यश डायल र विजयकुमार व्यासकले समान २ विकेट लिँदा क्यामरुन ग्रिन र कर्ण शर्माले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले १३.४ ओभरमा लक्ष्य भेट्टायो। पहिलो विकेटका लागि विराट कोहली र फाफ डुप्लिसिसले ९२ रनको साझेदारी गर्दा त्यसपछिका चार ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्। डुप्लिसिसले ६४ रन बनाउँदा कोहलीले ४२ रन बनाए। त्यस्तै दिनेश कार्तिक २१ र स्वप्निल सिंह १५ रनमा अभिजित रहे।

बलिङतर्फ जोस लिटलले ४ र नूर अहमदले २ विकेट लिए पनि गुजरातले बेङ्ग्लुरुलाई लक्ष्यसम्म पुग्न रोक्न सकेनन्।

योसँगै ८ अंक जोडेको बेङ्ग्लोर तालिकाको सातौँ स्थानमा उक्लिँदा समान अंक बनाएको गुजरात नवौँ स्थानमा छ। आज आईपीएलमा दुई खेल हुँदैछन्। पहिलो खेलमा पञ्जाव किंग्स र चेन्नइ सुपर किंग्स धर्मशाल स्टेडियममा पौने ४ बजे भिड्ने छन्। त्यस्तै लखनउ सुपर जायन्ट र कोलकाता नाइट राइडर्स पौने ८ बजे लखनउमा भिड्नेछन्।