बजेटबारे माओवादीमा छलफल, राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित हुने

बिजमाण्डू
२०८१ बैशाख २२ गते १८:०९ | May 4, 2024
बजेटबारे माओवादीमा छलफल, राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित हुने बताएका छन्।

Tata
GBIME
Nepal Life

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आज बसेको १० औं पूर्ण बैठकमा उनले विगतका नीति तथा कार्यक्रम र बजेटबाट शिक्षा लिँदै आगामी नीति कार्यक्रम र बजेटलाई अघि बनाइने बताएका हुन्।

‘उत्पीडित, गरिबलाई कसरी उकास्न सक्छौं। सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रित गरेर नीति तथा कार्यक्रम र बजेट ल्याइनेछ,’ प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै माओवादीका मुख्य सचेतक हितराज पाण्डेले भने।

उनले राष्ट्रिय सूचकमा सबैभन्दा पछाडि परेका वर्ग तथा क्षेत्रलाई कसरी राज्यको मूलप्रवाहमा ल्याउन सकिन्छ भन्नेबारेमा पनि सुझाव दिन आग्रह गरेका थिए।

दाहालले अर्थमन्त्रीसहित माओवादीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई दलका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदसँग अन्तरक्रियासहित सुझाव लिन निर्देशन पनि दिएका थिए। मधेस (हुलाकी राजमार्ग आसपासका क्षेत्र), कर्णाली, दलित, उत्पीडित जातिलगायतलाई उकास्ने गरि सुझावलाई केन्द्रित गर्न उनको आग्रह थियो।

यस्तै, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा जोड पुग्ने गरि नीति कार्यक्रम र बजेटमा सुझाव दिन उनले भनेका थिए। विभिन्न क्षेत्रका विज्ञ तथा जनताको बीचमा प्राप्त सुझावलाई पार्टीका माध्यमबाट सरकारसमक्ष पुर्‍याउन निर्देशन दिएका थिए।

बैठकमा सांसदहरुले जनतामा विश्वास पैदा गर्ने नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिएका थिए।

मुख्य सचेतक पाण्डेले यही वैशाख २८ गतेदेखि सुरु हुने संसद्को चौथो अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउने, विधेयकलाई विषयगत समितिबाट पारित गर्न जोड दिने बैठकको निर्णय रहेको जानकारी दिए।

संसद्लाई बिना अवरोध संचालन गर्न सत्ता साझेदार दलसँग पनि छलफल गरिने जानकारी दिँदै उनले प्रमुख प्रतिपक्षी र विपक्षी दलसँगको छलफलबाट निष्कर्षमा पुगिने बताए।