अन्तिम खेलमा नेपाललाई सान्त्वना जित, वेस्ट इण्डिज ‘ए’ ले जित्यो सिरिज

बिजमाण्डू
२०८१ बैशाख २२ गते १५:५० | May 4, 2024
अन्तिम खेलमा नेपाललाई सान्त्वना जित, वेस्ट इण्डिज ‘ए’ ले जित्यो सिरिज
वेस्ट इण्डिज 'ए' विरुद्ध अर्धशतक बनाएका अनिलकुमार साह र आशिफ शेख। तस्बिर: क्यान

काठमाडौं। नेपाली क्रिकेट टोलीले वेस्ट इण्डिज ‘ए’ विरुद्धको सिरिजको अन्तिम खेलमा जित निकालेको छ। आज कीर्तिपुरमा सम्पन्न सिरिजको पाँचौँ खेलमा नेपालले ६ विकेटको सान्त्वना जित निकालेको हो।

Tata
GBIME
Nepal Life

यद्यपि सिरिज भने पहिलो पटक नेपाल आएको पाहुना टोलीले जितेको छ। सिरिजको पहिलो र अन्तिम खेल नेपालले जित्दा दोस्रो, तेस्रो र चौथो खेल जितेको वेस्ट इण्डिजले सिरिज ३-२ ले जितेको हो।

विश्वकपको तयारीका रुपमा लिइएको सिरिजको अन्तिम खेलमा वेस्ट इण्डिज टोलीले टस जितेर ब्याटिङ रोजेको थियो। नेपालले कसिलो बलिङ गर्दा वेस्ट इण्डिज निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रनमा समेटियो।

वेस्ट इण्डिजका लागि एलिक अथानेजले सर्वाधिक अविजित ४२ रन बनाउँदा कप्तान रोस्टन चेजले ३३, जोन्सन चार्ल्सले २४ तथा  म्याथ्यु फोर्डेले २३ रनको योगदान दिए।

वेस्ट इण्डिजविरुद्ध विकेट लिएपछि सोमपाल कामी र अभिनास बोहरा। तस्बिर: क्यान

बलिङतर्फ नेपालका सागर ढकाल र सोमपाल कामीले समान ३ विकेट लिँदा अभिनास बोहराले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल १८.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाउन सफल भयो। नेपालका लागि अनिल साहले सर्वाधिक ५८ रन बनाउँदा आशिफ शेखले ५१ रन बनाए। त्यस्तै आक्रामक ब्याटिङ गरेका कुशल मल्लले १८ बलमा ३ चौका र ३ छक्काको सहायतामा अविजित ३७ रन बनाए।

बलिङतर्फ वेस्ट इण्डिजका ओबेड म्याकोएले ३ विकेट लिँदा म्याथ्यु फोर्डेले १ विकेट लिए।