जलवायु परिवर्तनको असरसँग जुध्न एसियाली विकास बैंकले नेपाललाई सहयोग बढाउने

बिजमाण्डू
२०८१ बैशाख २२ गते १४:५० | May 4, 2024
जलवायु परिवर्तनको असरसँग जुध्न एसियाली विकास बैंकले नेपाललाई सहयोग बढाउने

काठमाडौं। एसियाली विकास बैंक (एडीबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ। एडीबीको ५७औं वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलीसी पुगेका अर्थसचिव मधुकुमार मरासिनीसँगको साइडलाइन वार्तामा एडीबी अध्यक्ष मासात्सुगु आसाकावाले उक्त प्रतिबद्धता जनाएका हुन्।

Tata
GBIME
Nepal Life

सचिव मरासिनीले जलवायु परिवर्तनमा नगण्य योगदान भए पनि नेपाल त्यसबाट उच्च प्रभावित मुलुकको सूचीमा रहेको भन्दै त्यससँग जुध्नका लागि सहयोग बढाउन प्रस्ताव गरेका थिए। जबाफमा अध्यक्ष मासात्सुगुले नेपाललाई जलवायु परिवर्तनका नकारात्मक प्रभावसँग जुध्न सहयोग बढाइने बताए।

‘जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेका समस्याहरुका बारेमा म जानकार छु,’ मासात्सुगुको भनाइ उद्धृत गर्दै भेटमा सहभागी अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले भने, ‘थप सहयोगका लागि एडीबी तत्पर छ।’

भेटका क्रममा सचिव मरासिनीले एडीबीले नेपालको विकासमा पुर्याएको योगदानको सराहना गर्दै विकास वित्तको कमी पुरा गर्न थप सहयोगका लागि आग्रह गरे। अर्थमन्त्री वर्षमान पुनका तर्फबाट अध्यक्ष मासात्सुगुको कार्यकालमा एडिबीले नेपालमा सहयोग बढाउने अपेक्षा गरिएको समेत उनले बताए।

सचिव मरासिनीले अर्थमन्त्री पुनका तर्फबाट अध्यक्ष मासात्सुगुलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिए। जबाफमा उनले एडीबीले नेपाललाई प्राथमिकतामा राखेको जानकारी दिँदै उपयुक्त समयमा नेपाल भ्रमण गर्न इच्छुक रहेको बताए।

यस्तै सचिव मरासिनीले एडीबी उपाध्यक्ष इङमिङ याङसँग पनि भेटेका छन्। त्यस क्रममा नेपालमा निजी क्षेत्रको विकास, निजी लगानी विस्तार, पोर्टफोलियो कार्यान्वयनमा सुधार, पाइपलाइनमा रहेका विकास आयोजना मुख्य गरी जलासययुक्त दूधकोशी जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजना र बजेटरी सहायताका कार्यक्रमहरु समयमै सम्पन्न गर्नेबारे सहमति भएको सहसचिव नेपालले जानकारी दिए।

नेपालका अनुसार सहुलियतपूर्ण स्रोत परिचालन बढाउन कार्यान्वयन क्षमतामा सुधार गर्नुपर्ने तथा जलवायु वित्तमा पहुँच बढाउन दुवै पक्षले सहकार्य गर्ने समझदारी भएको छ। उपाध्यक्ष याङले जारी ‘कन्ट्री साझेदारी प्रेमवर्क’ तयारी विश्व बैंकसँगको सहकार्यमा भइरहेकामा अन्य मुलुकका लागि समेत यो नमुना हुनसक्ने बताइन्।

भेटमा नेपालका तर्फबाट सचिव मरासिनी र सहसचिव नेपाल तथा एडीबीका तर्फबाट उपाध्यक्ष याङसहित कार्यकारी निर्देशक सुपक चइयावान, दक्षिण एसिया हेर्ने महानिर्देशक ताकेयो कोनिसीसहितका पदाधिकारी सहभागी थिए।