सिरिज च्याम्पियन बनिसकेको वेस्ट इण्डिज ‘ए’ र नेपाल भिड्दै, मात्र प्रतिष्ठाको प्रतिस्पर्धा

बिजमाण्डू
२०८१ बैशाख २२ गते १०:१९ | May 4, 2024
सिरिज च्याम्पियन बनिसकेको वेस्ट इण्डिज ‘ए’ र नेपाल भिड्दै, मात्र प्रतिष्ठाको प्रतिस्पर्धा
नेपालविरुद्धको ब्याटिङमा वेस्ट इण्डिज 'ए' का खेलाडी। फाइल तस्बिर: क्यान

काठमाडौं। नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको टी-२० सिरिजको अन्तिम खेल आज हुँदैछ। पहिलो पटक नेपाल भ्रमणमा रहेको पाहुना टोलीले सिरिज जितिसकेको भए पनि शनिबारको खेल प्रतिष्ठाको लडाइका रुपमा हुनेछ।

Tata
GBIME
Nepal Life

अघिल्लो साता सुरु भएको पाँच खेलको सिरिजमा वेस्ट इण्डिज ३-१ ले अघि रहँदै जित आफ्नो पक्षमा पारिसकेको छ। आजको खेल पाहुना टोली जिते ४-१ ले र नेपालले जिते ३-२ ले वेस्ट इण्डिजले नै सिरिज जित्नेछ।

विश्वकपको तयारीका रुपमा लिइएको यो सिरिजकै क्रममा वेस्ट इण्डिज र नेपाल दुवैको विश्वकप खेल्ने टोलीको घोषणा भइसकेको छ। नेपालका रोहित पौडेलको कप्तानीमा सिरिज खेल्ने खेलाडी भित्रैबाट टोली घोषणा हुँदा वेस्ट इण्डिजको टोलीमा हाल नेपालमा खेलिरहेका तीन खेलाडी र आईपीएलमा प्रभावशाली प्रदर्शन गरिरहेका खेलाडी समेट्दै टोली घोषणा भएको छ। नेपालमा प्रभावशाली प्रदर्शन गरेका रोस्टन चेज, जोन्सन चार्ल्स र गुडाकेश मोटिइले विश्वकप खेल्ने वेस्ट इण्डिजको टोलीमा स्थान बनाएका छन्।

यसअघिका चार खेलमै खेलाडी ब्यापक परिवर्तन गरेर खेलेको नेपालले आजको खेलमा भने विश्वकपकै टोलीबाट बलियो प्लेइङ ११ निकाल्ने लक्ष्यमा हुनेछ। सिरिजको अन्तिम खेलमा जित निकालेर नेपाली टोली बलियो मनोबलका साथ वेस्टइण्डिज र अमेरिकामा हुने विश्वकपका लागि निस्कने लक्ष्य हुनेछ।

सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित निकाल्दै सिरिजमा सुखद सुरुवात गरेको थियो। तर, त्यसपछिका तीन खेलमा ब्याक टू ब्याक जित निकाल्दै वेस्ट इण्डिज टोलीले सिरिजमा पुनरागमन गर्दै उपाधि सुरक्षित गरेको थियो।

सिरिजको दोस्रो खेल १० रनले जितेको वेस्ट इण्डिजले तेस्रो खेल ७६ रनले र चौथो खेल २८ रनले जितेको थियो।

खेल मध्यान्ह पौने १२ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्नेछ भने मैदानमा गएर खेल हेर्न आईएमई पेबाट टिकट लिन सकिन्छ। टिकट शुल्क दुई सय रुपैयाँ तोकिएको छ।