कालीगण्डकीको पानीबाट बिजुली निकाल्न गैंडाकोटमा ३८.१६ मेगावाटको आयोजना प्रस्ताव

बिजमाण्डू
२०८१ बैशाख २२ गते ०८:३४ | May 4, 2024
कालीगण्डकीको पानीबाट बिजुली निकाल्न गैंडाकोटमा ३८.१६ मेगावाटको आयोजना प्रस्ताव

काठमाडौं। तनहुँको देवघाट र नवलपुरको गैंडाकोट क्षेत्रमा कालीगण्डकी नदीको पानी उपयोग गर्दै बिजुली उत्पादन गर्न ३८.१६ मेगावाटको कालिका कालीगण्डकी जलविद्युत आयोजना निर्माण गरिने भएको छ।

Tata
GBIME
Nepal Life

विद्युत विकास विभागले शनिबार सार्वजनिक सूचना जारी गर्दै यसबारे सरोकारवालाको राय सुझाव मागेको छ।

आंशिक जलाशयमा आधारित उक्त आयोजना मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्ने भएको हो। वन तथा वातावरण मन्त्रालयबाट गत साउन १९ मा स्वीकृत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र सम्भाव्यता अध्ययन प्रतिवेदन, डिसेम्बर २०२३ अनुसार आयोजना विभागले सरोकारवालाको राय मागिएको जनाएको छ।

प्रस्तावित जलविद्युत आयोजनाको जडित क्षमता ३८.१६ मेगावाट हुने छ भने वार्षिक सरदर २२३.६२९ गिगावाट घण्टा विद्युत उत्पादन हुने छ ।

आयोजनाका सबै संरचना देवघाट गाउँपालिका-१, ४ र ५ र गैंडाकोट नगरपालिका-३ मा निर्माण गरिने छ।  विद्युतगृह कालीगण्डकी नदीको बायाँ किनारमा रहने छ। आयोजनाका लागि आवश्यक पानी फर्काउन नदीमा १०६ मिटर लम्बाइ र १७ मिटर उचाइको ब्यारेज निर्माण गरिने छ। उक्त बाँधको उचाइ २०१ मिटर रहने छ। आयोजनाले दैनिक २ करोड ४१ लाख ६३ हजार ७ सय ८६.८० घनमिटर पानी भण्डारण गरी ४ घण्टा अधिकतम क्षमतामा विद्युत उत्पादन गर्ने छ।

आयोजनाका लागि फर्काइएको पानी ११२ मिटर लम्बाइ, ४०.९५ मिटर चौडाइ र ४०.३७ मिटर उचाइको सतही विद्युतगृहमा पुयाइने छ। विद्युतगृहमा जडित ३ वटा टर्बाइन (प्रत्येक युनिट १२.७२ मेगावाट) मार्फत् ३८.१६ मेगावाट विद्युत उत्पादन गरिने छ। त्यहाँबाट निस्केको पानीलाई ३० मिटर लम्बाइ ८३ मिटर चौडाइ र १३.१७ मिटर उचाइको नहरमार्फत् पुनः कालीगण्डकी नदिमा छाडिने आयोजनाको प्रस्तावमा छ।

विद्युत गृहनजिकै आउटडोर स्वीचयार्ड निर्माण गरिने छ। उत्पादित विद्युत १० किलोमिटर लामो १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत् विद्युत प्राधिकरणको चितवनको न्यू भरतपुर सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिने छ। आयोजना २०८३ जेठसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।