पर्यटक आगमन १३ प्रतिशतले वृद्धि, १.११ लाखमध्ये २७ प्रतिशत भारतीय, कुन देशका कति?

बिजमाण्डू
२०८१ बैशाख २० गते १४:४८ | May 2, 2024
पर्यटक आगमन १३ प्रतिशतले वृद्धि, १.११ लाखमध्ये २७ प्रतिशत भारतीय, कुन देशका कति?

काठमाडौं। नेपालमा विदेशी पर्यटकको संख्या १३ प्रतिशतले बढेको छ। अप्रिल महिनामा १ लाख ११ हजार ३७६ पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन्। यो संख्या पोहोर अप्रिलमा ९८ हजार ७७३ थियो।

Tata
GBIME
Nepal Life

अध्यागमन विभागले बिहिबार सार्वजनिक गरेको तथ्यांक अनुसार पर्यटकको संख्या मार्च महिनाको तुलनामा भने कम हो। मार्चमा १ लाख २८ हजार १६७ पर्यटक आएका थिए।

टर्किस पर्यटकको संख्या सबैभन्दा धेरै १३९ प्रतिशतले बढेको छ। प्रतिशत बढे पनि त्यहाँबाट आउने पर्यटकको संख्या भने धेरै छैन। अप्रिलमा ६४२ टर्किस नागरिक नेपाल आएका छन्।

एक महिनामा सबैभन्दा धेरै ३०,१५८ भारतीय नेपाल भ्रमणमा आएका छन्। यो संख्या पोहोर अप्रिलको तुलनामा ४.१ प्रतिशत कम हो।

नेपाल भित्रिएका पर्यटकमध्ये २७ प्रतिशत भारतीय हुन्।

नेपालमा धेरै पर्यटक आउने देशको सूचीमा भारतपछि अमेरिका दोस्रो नम्बरमा छ। अप्रिलमा ९ हजार ९४७ अमेरिकी नागरिक नेपाल आएका छन्। यो संख्या पोहोर अप्रिलको तुलनामा १८.२ प्रतिशत बढी हो। नेपालमा अप्रिलमा भित्रिएका पर्यटकमध्ये ८.९ प्रतिशत अमेरिकी हुन्।

चिनियाँ पर्यटकको संख्या १०४ प्रतिशतले बढेको छ। पोहोर अप्रिलमा चीनबाट ४ हजार ७७० पर्यटक आएकामा यसपालि ९ हजार ७५० चिनियाँ आएका छन्। यो संख्या मार्चको भन्दा भने कम हो। मार्चमा १२,०९३ चिनियाँ नेपाल आएका थिए।

नेपालमा धेरै पर्यटक भित्रिएका १० मुलुकको सूचीमा भारत, अमेरिका र चीनपछि बेलायत, अस्ट्रेलिया, बंगलादेश, फ्रान्स, जर्मनी, रुस र मलेसिया छन्। अप्रिलमा ५ हजार ३९१ बेलायती भित्रिएको तथ्यांक छ। बेलायती पर्यटकको संख्या पोहोर अप्रिलको तुलनामा ०.३८ प्रतिशतले घटेको हो।

अस्ट्रेलियाबाट ४,११०, बंगलादेशबाट ४,००३, फ्रान्सबाट ३,७५५, जर्मनीबाट ३,२७०, रुसबाट २९७७ र मलेसियाबाट २,३१० पर्यटक आएका छन्।

यस्तै जापानबाट २ हजार ७५ पर्यटक आएका छन्। यो संख्या पोहोर अप्रिलको तुलनामा ५८ प्रतिशत बढी हो।